• २४ पुस २०८१, बुधबार

बाँदरका दुःखले ल्यायो मौरी क्रान्ति

blog

बाँदरपीडित किसान वासुदेव भट्ट मह बेच्दै । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, पुस २२ गते  । बाँदरपीडित दशरथ चन्द नगरपालिकाको उरागाउँका किसान सिजनमै २२ क्विन्टल मह उत्पादन गर्न सफल भएका छन् । मौरीबाट यति धेरै फाइदा होेला भन्ने उनीहरूलाई लागेको थिएन । यो वर्ष उरागाउँका किसानले २६ लाख ४० हजार रुपियाँको मह बिक्री गरेका छन् । बैतडीको मह प्रतिकिलो एक हजार दुई सयदेखि तीन सय रुपियाँमा बिक्री हुने गरेको छ ।

बाँदरका दुःखले खेतीपाती छाडी मौरीपालनमा लागेका दशरथ चन्द नगरपालिका–५, उरागाउँका अगुवा किसान वासुदेव भट्टले भन्नुभयो, “बाँदरले दुःख नदिएको भए गाउँमा यसरी सामूहिक मौरीपालन नै हुने थिएन । प्रकृतिले मानिसलाई जीवन निर्वाहका लागि अनेकौँ विकल्प दिने रहेछ । हामीले ढिलो तर राम्रो कुरा थाहा पायौैँ ।”     

यो त्यही गाउँ हो जहाँ, बाँदरका दुःखले पाँच सय किसान गुलेली र बन्दुक बोकेर २०७४ को स्थानीय तहको निर्वाचनका बेला सडकमा ओर्लिका थिए । चुनावी एजेन्डा नै बाँदर धपाउने थियो । उम्मेदवार मत माग्न गाउँ पसेर दुई/चार दिन खेतबारीका बाँदर धपाउन पनि सघाए । निर्वाचन जितेपछि दशरथ चन्द नगरपालिकाका जनप्रतिनिधिले १० लाखको पटाका जस्तो बन्दुक किनेर मतदातालाई बाँडे । यद्यपि गाउँबाट बाँदर भागेनन् ।    

निर्वाचनका बेला बाँदर धपाउने योजना लिएर गाउँ आएका उम्मेदवारलाई मात्र भोट दिएका पल्ला चौँडालीस्थित उरागाउँका किसानको धारणा अहिले भने बदलिएको छ । अब त मौरीपालनसम्बन्धी कार्यव्रmम ल्याउने उम्मेदवाराई भोट दिन थालेका छन् ।  अगुवा किसान वासुदेव भट्टले पछिल्लो समय मौरीपालनबाट एक करोड रुपियाँभन्दा बढी आम्दानी गरेर तराईमा ५० लाखको घर बनाएको बताउनुभयो । यो मात्र नभएर रोजगारीका लागि जापान गएका छोरालाई घर फर्काएको उहाँले बताउनुभयो । गाउँमा चिउरी प्रशस्तै फल्ने भएकाले त्यसको फूलबाट मौरीले सुगन्धित मह बनाउने गरेको छ । भट्टकै अगुवाइमा अहिले उरागाउँ कृषि सहकारी गठन गरेर गाउँका ५५७ जना किसान मौरीपालनमा लागेका छन् । खेतमा चिउरीका बोट र आँगनमा मौरीका घार छन् । अधिकांश किसानले उन्नत जातका बाख्रासमेत पालेर जीवन निर्वाहको नयाँ बाटो अपनाएका छन् ।  

“अब त बाँदरको पछि दगुर्ने फुर्सद नै छैन,” मौरीपालन गर्दै आएका किसान कृष्ण लुहारले भन्नुभयो, “मौरीको घार व्यवस्थापनमै समय बित्ने गरेको छ ।” यस सिजनमा उहाँले डेढ लाखको मह बेचेको बताउनुभयो । खेतीपाती छाडेपछि यहाँका किसानले मौरीसँगै बाख्रापालन, घाँसखेती गरेर गाउँमै मनग्गे आम्दानी गर्न थालेको अर्का किसान मोहनराम नकर्मीले बताउनुभयो । असोजदेखि मङ्सिरसम्म फुल्ने चिउरीको महको माग बजारमा अत्यधिक हुने गरेको छ । बैतडीको महबारे नेपाल विज्ञान, प्रविधि तथा प्रज्ञा–प्रतिष्ठान (नास्ट) का वैज्ञानिकसम्मले स्थलगत अनुगमन गरिसकेका छन् । 

बैतडीको मह भारतीय योग गुरु रामदेवका लागिसमेत धार्मिक अगुवाले कोसेलीका रूपमा लैजाने गरेका छन् । बैतडीको महको स्वाद चाख्ने जोसुकै मानिस नियमित ग्राहक बन्ने गरेको अगुवा किसान वासुदेव भट्टले अनुभव सुनाउनुभयो ।  

नास्टका वैज्ञानिकले गत वर्ष एक क्विन्टल मह किनेर लगेको र यस वर्ष पनि ५० किलो महको माग आएको बताउनुभयो । गाउँको परिचय नै मह उत्पादन बनेपछि पछिल्लो समय स्थानीय तह र प्रदेश सरकारले मौरीपालनका लागि कार्यव्रmम सञ्चालन गर्न सहयोग गरेको किसानले बताएका छन् । 

दशरथचन्द नगरपालिकाले उरागाउँका किसानलाई २५ लाख रुपियाँ बराबरको मौरीका घार र गोला वितरण गरेपछि मौरीपालन गर्दै आएका किसान थप उत्साहित बनेका छन् ।