• २४ पुस २०८१, बुधबार

महायज्ञबाट दुई करोड दान संकलन

blog

महायज्ञस्थलमा उपस्थित भक्तजनहरु । तस्बिरः इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), पुस २२ गते । शहिद बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि भइरहेको महायज्ञमा दुई करोडभन्दा बढी रुपियाँको दान संकलन भएको छ । रामपुर नगरपालिका –७ किसानबारीस्थित क्याम्पस परिसरमा जारी महायज्ञमा आइतबारसम्ममा दुई करोड दुई लाख ६ हजार तीनसय २९ रुपियाँ ७७ पैसा दान संकलन भएको हो ।

क्याम्पसको संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढाबाट आउने विद्यार्थीको लागि छात्राबास निर्माणमा आर्थिक सहयोग जुटाउन गत पुस १६ देखि सुरु भएको यज्ञमा दैनिक भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । आइतबार ६३ लाख पाँच हजार ५१९ रुपियाँ दान संकलन भएको आर्थिक संकलन उपसमितिका संयोजक सुकदेव पोखरेलले बताउनुभयो । उहाँका अनुसार धनधान्याञ्चल श्रीमद् भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा आइतबार हाल सम्मकै धेरै दान संकलन भएको जानकारी दिनुभयो ।

उट्घाटनको दिन रामपुर नगरपालिकाबाट घोषणा भएको ५१ लाख ५१ हजार ५५१ सहित ५३ लाख ६८ हजार ४०३ रुपियाँ दान संकलन भएको थियो । कथा प्रवचनको पहिलो दिन जग्गासहित १६ लाख नौ हजार ४८१ रुपियाँ, दोस्रो दिन चार लाख ७६ हजार ७९१ रुपियाँ २२ पैसा  र तेस्रो दिन लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले घोषणा गर्नुभएको २० लाख सहित ३१ लाख ९८ हजार १३५ रुपियाँ ५५ पैसा, चौथो दिन शनिबार ३२ लाख ४८ हजार रुपियाँ दान संकलन भएको थियो । 

कालीगण्डकी वेशी क्षेत्रका जनतासँगै शुभेच्छुक तथा सरोकारवाला सबैको साथले सहयोग महायज्ञ लक्ष्यनजिक पुगिसकेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यज्ञ सुरु गर्नुअघि तीनदेखि पाँच करोडसम्म दान संकलन हुने अपेक्षा गरेका थियौं । भक्तजनहरुको उत्साहजनक साथ र सहयोगले यज्ञ अवधीभरमा लक्ष्यअनुसार दान संकलन हुनेमा विश्वस्त छौं ।”

महायज्ञमा जग्गा, रकमसँगै धान तथा चामल समेत दान गर्नेक्रम चलिरहेको छ । यज्ञमा अहिलेसम्म आठसय १९ मुरी सात पाथी धान संकलन भइसकेको धान संकलन उपसमितिका संयोजक ऋषिराम रेग्मीले जानकारीदिनुभयो । आइतबार एकै दिन दुईसय ११ मुरी ११ पाथी धान संकलन भएको थियो । यज्ञका लागि विभिन्न धान संकलन केन्द्रबाट धान दान आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो । 

महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा प्रवचन भइरहेको छ । मंगलबारसम्म हुने महायज्ञमा तुला दान, लाखबत्ती प्रज्वलन, ज्योतिष परामर्श लगायत विभिन्न काम भइरहेको छ ।