• २४ पुस २०८१, बुधबार

बेनीमा सडक स्तरोन्नति सुरु

blog

सडक स्तरोन्नतिको काम सुरु गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस २२ गते । जिल्लाको बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका ग्रामीण बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी नगर क्षेत्रमा पर्ने तीन स्थानमा बेनी नगरपालिकाले सडक स्तरोन्नति थालेको छ । 

जीर्ण सडक, पहिरो र साघुरो घुम्तीका कारण आवतजावतमा समस्या भएपछि बेनी नगरपालिकाले सडक स्तरोन्नति गरी सहज बनाउन योजना अघि सारेको हो ।  चालु आर्थिक वर्षमा सङ्घीय सरकारको समपूरक अनुदान एक करोड पचास लाख र बेनी नगरको एक करोड पचास लाख गरी तीन करोड रुपियाँ लागतमा सडक स्तरोन्नति थालिएको हो । 

सडक निर्माण योजना ६ महिना भित्रमा सम्पन्न गर्नेगरी यही पुस १९ गते दुई करोड ९ लाख रुपियाँमा विकेश दुप्चेश्वर सुभम जेवीसँग ठेक्का सम्झौता गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । ठेक्का सम्झौता लगत्तै निर्माण कम्पनी कार्यस्थलमा परिचालन भई सडक निर्माण थालेको उहाँले बताउनुभयो । 

योजना अन्तर्गत बेनी–पाखापानी सडकको प्रवेश बिन्दु बेनी सामुदायिक माविदेखि माथिको सडक,महारानी थान माथि रहेको रातोपहिरो,आँपरुख स्थित घुम्ती र बेनी नगरपालिका वडा नम्बर १० स्थित पात्लेखेतमा सडक स्तरोन्नति गरिने नगरप्रमुख सुरत केसीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘बेनीदेखि अर्थुङ्गे हुँदै पाखापानी जोड्ने सडक अन्तर्गत सबैभन्दा अप्ठ्यारो स्थानमा सडक स्तरोन्नतिसहित सडक ढलान,नाली निर्माण,ग्याबिन झाली लगाउने,प्लम वाल निर्माण,घुम्ती सुधार र मेशनरी पर्खाल निर्माण गरी सडकलाई सहज बनाइनेछ ।’’ सडक स्तरोन्नतिपछि नगरवासीलाई आवतजावतमा सहज हुने उहाँले आशा व्यक्त गर्नुभयो । 

ठेक्का सम्झौता लगत्तै निर्माण कम्पनी कार्यस्थलमा परिचालन भएर सडक निर्माणको काम अगाडि बढाएको छ । दैनिक रुपमा ३० देखि चालिस जना सम्म मजदुर र उपकरण परिचालन गरी काम थालिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ठेक्काको म्याद असार मसान्तसम्म भएपनि पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर चैतभित्रमा काम सम्पन्न गर्ने योजना छ ।’’

तत्कालीन जिल्ला विकास समितिले २०५६ सालमा यो सडकको ट्रयाक खोलेको थियो । ट्रयाक खुलेको २५ वर्ष पछि अहिले यो सडक सङ्घीय सरकार,स्थानीय तह र प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नतिसहित सडक कालोपत्र र सडक ढलान गर्ने योजना अघि बढेको छ ।   

जिल्लाको सदरमुकाम बेनीसँग ग्रामीण बस्तीहरुलाई सडक यातायातसँग जोड्ने बेनी–अर्थुङ्गे–घतान–तोरीपानी–पाखापानी सडकअन्तर्गत वडा नम्बर ९ को किराखोरदेखि गलेश्वर मावि तोरीपानीसम्मको चार किलोमिटर सडक गण्डकी प्रदेश सरकारबाट गत वर्षदेखि सडक स्तरोन्नतिसहित कालोपत्रको योजना अघि बढाइएको छ । 

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटलाई पूर्वाधार विकास कार्यालय म्याग्दीले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन गरेको छ । सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रा.लिसँग भ्याटबाहेक १० करोड १६ लाख एक  हजार ३६४ रुपियाँमा दुई वर्षभित्रमा योजना सम्पन्न गर्न  २०८१ जेठ २०  गते ठेक्का सम्झौता थियो । 

यो योजनाका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा जम्मा दुई करोड रुपियाँ बजेट विनियोजन गरेकाले ठेकेदारलाई काम गरेअनुसारको रकम भुक्तानी गर्न समस्या भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताउनुभयो ।