ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २२ गते । बजेट अभाव हुँदा बेनी नगरपालिका वडा नम्बर ६ को निर्माणाधीन वडा कार्यालय भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माण थालेको सात वर्ष बितिसक्दा पनि पूर्णता पाउन नसक्दा सेवा प्रवाह प्रभावित भएको छ ।
बेनी नगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ देखि अर्थुङ्गेमा वडा कार्यालय भवन निर्माण थालेको थियो । दुई तला रहेको भवनमा सभा हल सहित ७ वटा कोठा रहेका छन् । बजेट अभावका कारण ७ वर्ष अघि थालिएको वडा कार्यालय भवनले पूर्णता पाउन नसकेको वडाध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो ।
बजेट अभाव हुँदा भवन निर्माणले पूर्णता पाउन सकेको छैन वडाध्यक्ष बानियाँले भन्नुभयो, ‘‘भवन बनेको छ । फिनिसिङको काम बाँकी छ । शौचालयमा पानी जडान गर्न ,रेलिङ,सभा हल,झ्यालको ग्रिल,पर्खाल निर्माण,लाइटिङ र फर्निचरको व्यवस्थापन लगायतका कामहरू बाँकी छन् ।’’ भवनले पूर्णता पाउन नसक्दा सेवा प्रवाहमा समस्या भएको उहाँको भनाई छ ।
भवन निर्माण गर्न आर्थिक वर्ष २०७५-०७६ मा २० लाख,२०७६-०७७ मा २० लाख र २०७७-०७८ मा ३० लाख रुपियाँ गरी अहिले सम्म सम्म ७० लाख रुपियाँ खर्च भइसकेको र अव ३० लाख रुपियाँ बजेट भए भवन निर्माण सम्पन्न हुने वडाध्यक्ष बानियाँले बताउनुभयो ।
भवन निर्माण सम्पन्न गर्नका लागि बेनी नगरपालिका सँग बजेट माग गरे पनि सुनुवाइ नभएको उहाँले दुखेसो पोख्नुभयो । नगरबाट वडाका लागि प्राप्त भएको बजेट वडावासीहरूको सानातिना मागहरू सम्बोधन गर्न पनि अपुग हुन्छ उहाँले भन्नुभयो, ‘‘भवन निर्माण सम्पन्न गर्नका आवश्यक बजेट नगरबाट नै विनियोजन हुनुपर्दछ । पछिल्लो वर्ष नगरबाट बजेट विनियोजन नहुँदा भवन निर्माण सम्पन्न गर्न समस्या भएको छ ।’’