• २३ पुस २०८१, मङ्गलबार

शीतलहरले जनजीवन कष्टकर

blog

नवलपरासी समाचारदाता 

कावासोती, पुस २२ गते । केही दिनदेखि तराईमा शीतलहर चल्दा निकै जाडो बढेको छ । यसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर तथा बाक्लो हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित हुँदा यातायात, व्यापारलगायतमा पनि असर परेको छ । 

पुस दोस्रो हप्तादेखि तराईमा चिसो बढ्दै गएपछि ग्रामीण बस्तीको जनजीवन प्रभावित बन्दै गएको छ भने सहरी क्षेत्रमा चहलपहलसमेत घटेको छ । हुस्सुसँगै शीतलहर र चिसो हावा चल्दा घरबाहिर निस्कन समस्या हुने गरेको कावासोती–८ का वीरेन्द्र पराजुलीले बताउनुभयो । चिसो बढ्न थालेसँगै अति विपन्न परिवारमा न्यानो ओढ्ने, ओछ्याउने कपडाको अभाव हुन थालेको छ ।  

केही दिनयता बिहानैदेखि बाक्लो हुस्सु, शीतलहरसँगै चिसो हावा चल्दा साना बालबालिका, वृद्ध, अशक्त र बिरामीलाई बढी समस्या हुने गरेको छ । स्वास्थ्य संस्थामा चिसोका कारण बिरामीको चाप बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

 चिसोबाट ‘कोल्ड डायरिया’, निमोनिया, ज्वरो, रुघाखोकी हुन सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत डिल्लीराम तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “दमका बिरामी चिसोका कारण बढी प्रभावित हुने हुँदा चिसोबाट जोगिन र न्यानो कपडा लगाउनु पर्छ र तातो झोल खानेकुरा खानु पर्छ ।”

उहाँले स्थानीयलाई चिसोमा घरबाहिर ननिस्कन, बालबालिकालाई न्यानो कोठामा राख्न, अक्सिजनयुक्त कोठामा बस्न र हिटर प्रयोग गर्दा सचेत रहन आग्रह गर्नुभएको छ ।