काठमाडौँ, पुस २२ गते । नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिदबिक्री गर्नुपूर्व अनिवार्य रूपमा स्वीकृति लिन दूरसञ्चार सेवाप्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले अनुमतिपत्र सेवाप्रदायकले चुक्तापुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था भएकाले त्यसको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ ले सेयर खरिदबिक्री पूर्व अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै सेयर संरचनामा पनि कुनै परिवर्तन गर्नुपर्ने प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
पछिल्लो समय दूरसञ्चार सेवाप्रदायकको सेयर खरिदबिक्री तथा संरचना परिवर्तन हुँदा राज्यले प्राप्त गर्नुपर्ने कर छलीलगायतका प्रवृत्ति देखिन थालेका छन् । त्यस्तै सेयर स्वामित्वमा परिवर्तन हुँदा पनि त्यसको पूर्वजानकारी नियामकलाई उपलब्ध नगराउने प्रवृत्ति सेवाप्रदायकमा देखिन थालेको छ । स्वीकृति नलिई सेयर खरिदबिक्री तथा संरचना परिवर्तन गरेको पाइएमा कारबाही गर्ने पनि जनाएको छ ।