• २३ पुस २०८१, मङ्गलबार

कुहिरो लक्षित अभियानमा ट्राफिक प्रहरी

blog

जानु पाण्डे 

कपिलवस्तु, पुस २१ गते । कुहिरोको कारणले हुने दुर्घटनाको सम्भावित जोखिम कम गर्न कपिलवस्तु ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । राजमार्गमा चल्ने सवारीसाधन र यात्रुको सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले अभियानको रूपमा विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

जाडो मौसममा विभिन्न स्थानमा बाक्लो हुस्सु लाग्ने र यसका कारण सवारी दुर्घटना हुने सम्भावना उच्च हुने गर्छ । यस्तो अवस्थामा दुर्घटना हुँदा धेरै क्षति हुने सम्भावना भएकोले जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरी सक्रिय बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पङ्कज चुदाँलीले बताउनुभयो ।

ट्राफिक प्रहरीले घना हुस्सु हुने क्षेत्रको सवारी चालकलाई जानकारी दिने गरेको छ । सवारी चालकहरूलाई सावधानी अपनाउन निर्देशन दिने, र गति सीमा अनुगमन गर्ने कामलाई प्राथमिकतामा राखेको छ । इन्डिकेटर समेत नदेखिने गरी अत्यधिक लोड लिएर आउने भुस, पराल बोक्ने ट्रकलाई नियन्त्रणलाई बढी भएको सामाग्री अर्कोमा पल्टी गर्ने गरेको कार्यालयका प्रहरी नायव निरीक्षक चूडामणि पोख्रेलले बताउनुभयो ।

यसैगरी न्यून प्रकाशमा देख्नको लागी साइकल अटो रिक्सा, ट्याक्टरको टालीमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, बिहान र साँझ चेकजाँच गर्ने, सवारी चालक, स्कुले विद्यार्थी र यात्रीका लागि जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत चालकहरूलाई सुरक्षित यात्रा कसरी गर्ने, हुस्सुका बेला दुर्घटनाबाट कसरी बच्ने भन्नेबारे जानकारी दिइएको छ । 

हुस्सु लाग्ने समयलाई ध्यानमा राख्दै सम्वेदनशील स्थानहरूमा ट्राफिक प्रहरी खटाइएको कार्यालयले जनाएको छ ।