लेखनाथ समाचारदाता
लेखनाथ, पुस २१ गते । साहित्यकार हरिदेवी कोइरालाको बाल कविता सञ्चयन ‘चरीको घर’ र रीता न्यौपाने पहारीको निबन्ध सञ्चयन ‘बेरीतका रीतहरू’ बजारमा आएका छन् । नेपाल स्रष्ट्रा समाजले पोखरामा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तलगायतले कृतिहरू सार्वजनिक गर्नुभएको हो ।
कोइरालाको दसौँ कृति ‘चरीको घर’ मा १५ बालकविता छन् । आफ्ना गीतहरू पढेर बालबालिका समाज र संस्कृतिप्रति परिचित बनून् र समाज र संस्कृतिप्रति सम्मान जागृत होस् भन्ने अपेक्षा गरेको कवि कोइरालाले बताउनुभयो । शिक्षणबाट सेवानिवृत्त कोइरालाले बालबालिकासँग बिताएको समयका अनुभूति पुस्तकका रहेको सुनाउनुभयो । “मेरो जीवनको ऊर्जाशील समय बालबालिकासँग बित्यो । उनीहरूका मनोभावना, अनुभूति, मनोविज्ञान कवितामा उतार्ने कोसिस गरेकी छु,” उहाँले भन्नुभयो । छ सयभन्दा बढी गीत बजारमा ल्याइसक्नुभएकी लोकप्रिय गायिका कोइरालाको यो दोस्रो बालकृति हो ।
निबन्धकार पहारीको ‘बेरीतका रीतहरू’ हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा २० निबन्ध सङ्गृहीत छन् । निबन्धकार पहारीले जीवन भोगाइ र देखिएका विविध पक्षलाई निबन्धको रूप दिएको उल्लेख गर्नुभयो ।
कार्यव्रmममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले पोखरामा बालसाहित्य र निबन्धको क्षेत्रमा नयाँ नयाँ सर्जक देखिनु सन्तोषको कुरा भएको उल्लेख गर्नुभयो । सो अवसरमा साहित्यकार रीता न्यौपाने पहारीको अध्यक्षतामा नेपाल स्रष्ट्रा समाज गण्डकी प्रदेश समितिसमेत घोषणा गरिएको छ । कार्यव्रmम स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा भएको थियो ।