• २३ पुस २०८१, मङ्गलबार

राजनीतिमा सरलपन

blog

राज्य र प्रशासनसँग सम्बन्धित सामाजिक सिद्धान्त नै राजनीति हो । राजनीति गर्ने मानिसमा उच्च नैतिक चरित्र हुनु पर्छ । विभिन्न प्रकारका ज्ञानले पनि भरिपूर्ण हुन जरुरी हुन्छ । मुलुक र जनतालाई केन्द्रविन्दु बनाएर काम गर्न सक्ने व्यक्ति नै असल राजनीतिकर्मी कहलिन्छ । 

राजनीति सरल बाटोमा हिँड्दैन भन्ने गरिन्छ । राजनीति सरल रेखामा हिँड्यो भने मुलुकको जीवन सहज हुँदै गई जनताको जीवनमा समेत सकारात्मक परिवर्तन आउन थाल्छन् । राजनीति जति बाङ्गो हुँदै जान्छ, मुलुक त्यति नै अस्तव्यस्त हुने व्रmम बढ्छ । राजनीतिकर्मीमा नैतिकता र इमानदारिताले डेरा जमाउँदै गएमा राजनीति सरल हुँदै जान्छ भने राजनीतिकर्मी मुलुक निर्माण र जनसेवाबाट टाढिँदै गएमा राजनीति विकृत बन्दै जान्छ । मुलुकको राजनीतिक वातावरण कस्तो बनाउने भन्ने मूलतः राजनीतिक दलका नेतामा भर पर्छ ।

राजनीति भनेको नीतिहरूको मूलनीति मानिन्छ । कतिपय नीति मानव जीवनलाई आदर्शमय बनाउनैका लागि बनेका हुन्छन् । कतिपय नीति अर्थसम्बन्धी विचारमा मात्रै केन्द्रित रहेका हुन्छन् । धर्मनीति, कूटनीति, परराष्ट्र नीति आदि विभिन्न नीति निर्माण गरिएका छन् । यस्ता नीतिले मानव जीवन या मुलुकको कुनै न कुनै एक क्षेत्रमा मात्रै प्रभाव पारिरहेका हुन्छन् । राजनीतिले भने कुनै क्षेत्र विशेषलाई मात्रै नभई समग्र मानव जीवनका साथै मुलुकको भाग्यमा नै महìवपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

राजनीति राज्यको शासन व्यवस्थासम्बन्धी नीति हो । राजनीति राज्य सञ्चालन प्रणाली हो । जनताका मौलिक अधिकारको रक्षा एवं कदर गर्ने, जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिका बिचमा सन्तुलन कायम गर्ने जस्ता विषय राजनीतिमा पर्छन् । राज्य र प्रशासनसँग सम्बन्धित सामाजिक सिद्धान्त नै राजनीति हो । राजनीति गर्ने मानिसमा उच्च नैतिक चरित्र हुनु पर्छ । विभिन्न प्रकारका ज्ञानले पनि भरिपूर्ण हुन जरुरी हुन्छ । मुलुक र जनतालाई केन्द्रविन्दु बनाएर कार्य गर्न सक्ने व्यक्ति नै राजनीतिकर्मी हुन आवश्यक छ ।

नेपालमा भने राजनीति भनेको पार्टीको झन्डा बोकेर हिँड्ने र पार्टीले दिएको टिकटका आधारमा चुनाव लड्ने, दलको कुनै न कुनै पदमा बस्ने र जनतामाथि शासन गर्ने भाष्य निर्माण हुँदै गएको छ । मुलुकको समग्र उन्नयनको खाका कोर्दै जनताका समस्या समाधान गर्दै जाने उद्देश्य गौण बन्दै गएर जसरी भए पनि सत्तामा रहनु नै राजनीतिको मूल उद्देश्य बन्दै गइरहेको छ । सत्यमा आधारित तथ्यलाई उपस्थापित गरेर विधि र विधानका आधारमा सञ्चालित हुनुलाई कमजोर बनाउँदै होहल्ला मच्चाउँदै चर्चामा रहनु नै राजनीति हो जस्तै देखिएको छ ।

जसले भए नभएका कुराको हल्ला पिटेर तहल्का मच्चाउन सक्यो उसैलाई नै सफल राजनीतिज्ञ ठान्न थालिएको छ । असत्य कुरालाई पनि सय पटक भनेर सत्य साबित गर्न सक्ने नेता नै असल नेताका रूपमा लिन थालिएको छ । भैरव अर्यालको जय भुँडीमा उल्लेख गरिएका नेता जस्तालाई नै नेता मान्ने परिपाटीको विकास भएको छ । आफ्नो नीति, विचार र सिद्धान्तको व्याख्या गर्दै लोकप्रिय हुन खोज्नेहरूको भन्दा अर्काको बद्ख्वाइँ गरेर पानीमाथिको ओभानो हुन खोज्नेहरूको हाइहाइ हुने वातावरण नेपालमा बन्दै गएको छ ।

इतिहास केलाउने हो भने येनकेन प्रकारेण चर्चामा आएका नेताभन्दा सरल र सादा जीवन जिएका नेता अजम्बरी भएका छन् । शक्तिको मादमा प्रभाव जमाउन खोजेका नेता पदावधि सकिएसँगै बिलाएको थुप्रै उदाहरण हाम्रासामु उपस्थित छन् । जसले पदमा रहँदा पनि अभिमान देखाएनन् र पद सकिएपछि पनि कुनै विस्मात् मानेनन्, उनीहरू दीर्घकालसम्म जनताका मनमा रहन सकेका छन् । सदाचारलाई नै जीवन पद्धति बनाउन खोजेका नेता पदमुक्त भएपछि मात्रै नभई देहमुक्त भएपछि पनि जीवित नेताको भन्दा उच्चस्थान प्राप्त गर्न सफल भएका छन् ।

नेपालमा प्रजातन्त्र प्राप्तिपछिकै प्रधानमन्त्रीका बारेमा हेर्ने हो भने पनि सरल मानिएका नेता आज यो दुनियाँमा छैनन् र पनि सर्वसाधारण जनताका स्मरणमा ताजै छन् । अन्तरिमकालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको बालुवाटार प्रवेश गर्दा र छोड्दाको छाता, ट्याङ्का र सुराहीको चर्चा सदैव हुने गरेको छ । नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री भनेर चिनिएका मनमोहन अधिकारीको प्रधानमन्त्रीकालका बारेमा कसैले औँला ठड्याउन सकेको छैन । आफ्नो नाममा सम्पत्तिका नाममा फुटेको कौडी नभएका सुशील कोइरालाको प्रधानमन्त्रीको कार्यकाल सकिएपछि पनि कतै बैङ्क खाता नरहेको चर्चा चलेकै हो र सादगी नेताको परिचय कायम गरेरै गए ।

पछिल्लो समयमा खुब चर्चा बटुल्दै बालेन साह, रवि लामिछाने र हर्क साङ्पाङहरू उदाए । यी तीनमध्येका दुई जना अद्यापि मेयर पदमा कार्यरत छन् तर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न सफल भएका रवि लामिछानेको भने राजनीतिक जीवन भनौँ या सार्वजनिक जीवन के हुने भन्ने धरापमा परेको छ । अदालती प्रव्रिmया सकिएर निर्णय आइसकेपछि मात्रै उहाँको भविष्यका बारेमा केही भन्न सकिने अवस्था छ । बाँकी दुई जनाका बारेमा भने पाँच वर्षको कार्यकाल सकिएपछि मात्रै मूल्याङ्कन गर्न उचित होला ।

लामिछाने गृहमन्त्री भएका बेला दिनदिनै जसो कुनै न कुनै फन्डा बाहिर आउने गर्दथ्यो । अरूका मुखबाट होइन कि गृहमन्त्रीकै मुखबाट कहिले को जेलमा जाकिने त कहिले कसलाई भ्रष्टाचारको मुद्दा लगाइने भन्ने भनाइ आइरहेका हुन्थे । राष्ट्रिय स्वतन्त्र पार्टीका बाहेकका अन्य दलका नेता सबै भ्रष्टाचारी छन् र ती सबै पालैपालो जेलमा जान्छन् भने झैँ लाग्दथ्यो । हल्ला ज्यादै गरिएको थियो तर उहाँका कार्यकालमा कोही कसैले कुनै खाले मुद्दा बेहोर्न परेन बरु पदमुक्त हुनेबित्तिकै आफैँ सात वटा मुद्दा बेहोर्न पुगेका छन् ।

यता वर्तमान गृहमन्त्री रमेश लेखक कतै चर्को स्वरले बोलेको सुनिन्न । मिडियामा गृहमन्त्रीको उपस्थिति हेर्दा गृह मन्त्रालय कुनै काम नगरी सुतेको त छैन भन्ने भान धेरैलाई पर्छ । मैले यसो गर्छु र उसो गर्छु भन्दै हल्ला पिटेको पनि पाइन्न तर सहकारी प्रकरणमा आमसर्वसाधारणको बचत हिनामिना गर्नेहरूलाई धमाधम कारबाहीको दायरामा ल्याइएको छ । सामान्यभन्दा सामान्य मान्छेका बचतमा रजगज गर्दै आएकाहरू सबैलाई एकै पटक कारबाही गर्न नसके पनि प्रव्रिmया अगाडि बढिरहेको छ । कारबाहीको व्रmम हेर्दा कोही पनि सहजै उम्कन सक्ने जस्तो देखिँदैन । उता विद्युतीय चुरोटमा सुन लुकाएर ल्याएको आरोप लागेका माओवादी नेता कृष्णबहादुर महराका छोरालगायतकालाई मुद्दा चलाउने प्रव्रिmया पनि अघि बढेको छ । ठुला मान्छेका विरुद्धमा सरकारले कदम चाल्दैन भन्ने गलत साबित हुँदै गएको छ । माओवादी नेता नै संलग्न भएको नुवाकोटको शेरा दरबारको जग्गा अतिव्रmमण सन्दर्भमा पनि छानबिन गर्ने कामका लागि गृहमन्त्रीबाट निर्देशन गइसकेको छ । अर्थात् पहिलेकाले हल्ला मात्रै गरे तर अहिले काम हुँदैछ तर चर्चा छँदै छैन भन्दा हुन्छ । गृहमन्त्रीका यस्ता कामले वर्तमान सरकारको छवि उजिल्याउने काम गर्दै छ भन्न हिच्किचाउन पर्दैन ।

हवाई सेवाका सन्दर्भमा नियामक निकाय र कार्यान्वयन एकाइ एउटै हुन हुँदैन भन्ने पर्यटन मन्त्रालयमा वर्षौंदेखि चल्दै आएको थियो । दुई वटा अलग अलग निकाय स्थापित गरेर नेपालको हवाई उड्डयन सेवालाई प्रभावकारी र सुरक्षित बनाउनु पर्छ भन्ने आवाज उठिरहेको थियो र पनि कार्यान्वयनमा आउन सकेको थिएन । अहिलेका पर्यटन मन्त्री बद्री पाण्डे मौन जस्तै देखिए पनि काम भने यसै कार्यकालमा हुने लक्षण देखिएको छ । बाहिरबाट हेर्दा सरल देखिए पनि मन्त्री पाण्डेका कार्यकालमा कुनै न कुनै उपलब्धि हासिल हुने अपेक्षा गर्न सकिन्छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलका कामका चर्चा मिडियामा अरूका भन्दा बढी देखिए पनि कामभन्दा हल्ला बढी भएको छैन । अस्पतालमा थन्क्याएर राख्दा राख्दै बिग्रिएका मेसिनको मर्मत नेपालीबाटै गराएर उपयोगमा ल्याउने अभियान नै चलेको छ । स्वास्थ्य बिमादेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क गर्नेसम्मका प्रशंसनीय काम भएका छन् । यी केही उदाहरणका रूपमा प्रस्तुत गरिएको मात्रै हो । सुमना श्रेष्ठले जस्तो हल्ला नगरे पनि शिक्षामन्त्री विद्या भट्टराईको कार्यकालमा असहज वातावरण भए पनि उपलब्धिका केही कुरा प्राप्त होला जस्तै देखिएको छ । कृषि मन्त्रालयका रामनाथ अधिकारी पनि सुधारका लागि प्रयत्नशील नै देखिन्छ । यस्ता अरू मन्त्री पनि छन् ।

सरल देखिए पनि काम हुन सक्छ भन्नका लागि केही उदाहरण प्रस्तुत गरिएको हो । सञ्चार माध्यममा छाएर लोकप्रियता बटुल्ने प्रयासभन्दा नतिजामुखी काम गरेर कमाएको नाम दीर्घकालसम्म जपिन्छ । सत्ता र शक्तिमा रहँदाको वाहवाही क्षणिक हुने हुँदा पदमा रहेकाहरूले सत्ता गुमेपछि पनि सम्मान गर्न लायक काम गरेर देखाउन सक्नु पर्छ । मत जितेर भन्दा जनताको मन जितेर इतिहासमा नाम लेखाउने प्रयत्न राजनीतिकर्मीबाट भएमा देश पनि सुध्रिन्छ र जनता पनि सुखी हुन्छन् ।


Author

प्राडा शान्तिकृष्ण अधिकारी