• २३ पुस २०८१, मङ्गलबार

संविधानलाई जीवन्त राख्न संशोधन आवश्यक छ : महामन्त्री थापा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापा। तस्बिरः रमेश पौडेल

रमेश पौडेल

पोखरा, पुस २० गते। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई गतिशील, प्रभावकारी र जीवन्त राख्नका लागि संशोधन आवश्यक भएको बताउनुभएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेश, प्रदेश तथा स्थानीय विभागद्वारा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि विषयक अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले गणतन्त्र, सङ्घीयता र समावेशीलाई नचलाई आवश्यकता अनुसार संविधान संशोधन हुने उल्लेख गर्नुभयो।

महामन्त्री थापाले यसका लागि कांग्रेस र एमाले पार्टीबिच संयन्त्र बनिसकेको बताउँदै माओवादीलगायतका अन्य पार्टीबिच पनि सहमति गरी यस प्रक्रियालाई मूर्त रूप दिनुपर्नेमा जोड दिनुभयो।  उहाँले भन्नुभयो, “वर्तमान संविधानमा देखिएको निर्वाचन प्रणालीका केही अव्यवहारिक पक्षलाई संशोधन गर्नुपर्दछ। सङ्घदेखि प्रदेशसम्मका मन्त्रालयको सङ्ख्या धेरै भएकाले सरकारको आकार ठुलो हुँदा समस्या देखिएको छ। यसमा पनि पुनर्विचार आवश्यक छ।” 

निर्वाचन प्रणालीकै कारण सबैभन्दा ठुलो दलले सरकार बनाउन नपाउँदा गठबन्धन गर्नुपर्ने बाध्यताले मुलुकलाई सही दिशातिर लैजान कठिन भएको बताउनुभयो। गठबन्धनका कारण पार्टीले गुट बनाउँदा सरकार झनै अस्थिर हुने गरेको तितो अनुभव उहाँले सुनाउनुभयो। महामन्त्री थापाले सुशासनका बारेमा बोल्दै सरकारमा रहँदासम्म एक अर्का पार्टीका नेता मह जोडीजस्तै देखिने र छुटेपछि धारे हात लगाउने प्रवृत्तिको अन्त्य गर्न अहिलेसम्म ललिता निवास, गिरीबन्धु, वाइड बडी, सहकारी लगायतका चालीसभन्दा बढी काण्डको स्वतन्त्र छानबिन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भ्रष्टाचारलाई शून्यतामा झार्नका लागि पनि स्थिर सरकारको आवश्यता पर्नेमा जोड दिनुभयो।


महामन्त्री थापाले पार्टीको कुनै पनि पदमा रहेको व्यक्तिले गरेको अपराधलाई पार्टीले जिम्मेवारी लिन नमिल्ने भन्दै त्यस्ता व्यक्ति थप सजायको भागिदार हुने बताउनुभयो। उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गर्दै २०८४ सालको निर्वाचनमा घोषणापत्र नभई उपलब्धिपत्र लिएर जानुपर्नेमा जोड दिनुभयो। राजनीतिक पार्टीले एकअर्कालाई गाली गर्ने, विश्वास नगर्ने र राम्रो कामको प्रशंसा गर्न नसक्दा युवा राजनीतिबाट बिमुख हुन थालेको बताउनुभयो। उहाँले सूचना प्रविधिको क्षेत्रमा हजारौँ युवा आकर्षित भइरहेको वर्तमान अवस्थामा कानुनमा संशोधन गरेर भए पनि युवा लक्षित कार्यक्रममा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो।  

महामन्त्री थापाले नेपाली कांग्रेसको काँधमा देशको ठुलो जिम्मेवारी रहेकाले पार्टीका सबै तह र तप्कामा रहेका नेता तथा कार्यकर्ताले एक भएर जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीको १५ औँ महाधिवेशन समयमै सम्पन्न हुने बारेमा कार्यकर्तालाई विश्वस्त पार्दै चैत मसान्तसम्म क्रियाशील सदस्यले सदस्यता नवीकरण गर्न सुझाव दिनुभयो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीको नेतृत्व गर्नेले सम्पादन गरेका काम जनतासमक्ष पुग्न नसकेको बताउनुभयो। उहाँले जनतासँग नेतृत्वको सञ्चार आवश्यक रहने भन्दै जनअपेक्षाअनुसार अझ सशक्त भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कांग्रेसले लिएको खुला अर्थ नीतिले मुलुक चलायमान भएको बताउनुभयो। सोही सन्दर्भमा उहाँले सीमित साधन र स्रोतका कारण प्रदेश सरकारलाई काम गर्न कठिन भएको उल्लेख गर्नुभयो।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले ३३ प्रतिशत भोट ल्याउँदा कांग्रेस दोस्रो भए पनि अहिले आएर २६ प्रतिशत भोट ल्याएर पहिलो भएको छ।  त्यसैगरी गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दलबिचमा हुने गरेका आरोप प्रत्यारोपको अन्त्य हुनुपर्ने बताउनुभयो। उहाँले पार्टीबिच विश्वासको वातावरण भए राजनीतिको शाख जोगिने धारणा व्यक्त गर्नुभयो। 


नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसको सङ्गठनलाई बलियो बनाउन स्थानीय जनप्रतिनिधिले घोषणापत्रअनुसार काम गरी परिणाम दिनुपर्नेमा बताउनुभयो। नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गण्डकी प्रदेशमा पार्टीको संगठनात्मक संरचना राम्रो भएकाले प्रदेश र स्थानीय तहमा पनि नतिजा राम्रो आएको बताउनुभयो।  

स्थानीय विभाग प्रमुख पूर्णबहादुर दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डेले कांग्रेस र स्थानीय तहका बारेमा बोल्नुभएको थियो भने डा. रघुराज काफ्ले र हिमराज लामिछानेले स्थानीय तहको विकास र समृद्धिका बारेमा कार्यपत्र प्रस्तुत गराउनुभएको थिलयो।