• २२ पुस २०८१, सोमबार

मिडिया सोसाइटी अवार्ड पत्रकार खत्रीलाई प्रदान

blog

पत्रकार कमल खत्रीलाई सम्मान गर्नुहुँदै बेनी नगरप्रमुख सुरत केसी लगायत । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २० गते ।
मिडिया सोसाइटी अर्वाड २०८१ बाट म्याग्दीका क्रियाशील पत्रकार कमल खत्री सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीले हरेक वर्ष प्रदान गर्ने मिडिया अवार्ड यस वर्ष पत्रकार खत्रीलाई प्रदान गरेको हो । 

म्याग्दी मिडिया सोसाइटीको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा खत्रीलाई दस हजार ६ सय पचास रुपियाँ नगद र सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

बेनी नगरपालिका प्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, बेनी नगरपालिका–४, का वडा अध्यक्ष अणबहादुुर खड्का, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले पत्रकार खत्रीलाई सम्मान गर्नुभएको थियो ।

डेढ दशकदेखि म्याग्दीको पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार खत्री रासस, बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिक र म्याग्दी अनलाइनलगायत सञ्चार माध्यममा आबद्ध हुनुहुन्छ । खत्री म्याग्दी मिडिया सोसाइटीको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

प्रत्येक वर्ष एक जना पत्रकारलाई मिडिया अवार्डद्वारा सम्मान गर्न सोसाइटीले दुई लाख पचार हजार रुपियाँको अक्षयकोष स्थापना गरेको सोसाइटीका कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख केसी, प्रमुख प्रशासकीय अधिकृत शर्माले जिल्लाको विकास र समृद्धिका लागि पत्रकारहरूले खेलेको भूमिका महत्त्वपूर्ण भएको चर्चा गर्नुभएको थियो ।

गण्डकी प्रदेश समितिका उपाध्यक्ष पौडेल, वडाध्यक्ष खड्का र महासङ्घ  म्याग्दी अध्यक्ष गौतमले जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरुको दिगो व्यवस्थापन र पत्रकारहरूको क्षमता विकासमा स्थानीय तहहरूले सहयोग गर्नुपर्ने धाराणा राख्नुभएको थियो ।

वि.स. २०७४ मा श्रमजिवी पत्रकारहरूद्वारा सञ्चालित सञ्चार माध्यमहरुको सोसाइटी साझा संस्था हो । सोसाइटीले वि.स. २०७५ देखि प्रत्येक वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।