• २२ पुस २०८१, सोमबार

सबै पालिकामा माओवादीको नयाँ नेतृत्व

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, पुस २० गते । रुकुमपश्चिमका सबै पालिकामा नेकपा (माओवादी केन्द्र) ले पहिलो पटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरेको छ । चौरजहारी र आठबिसकोट नगर कमिटीका पदाधिकारी मतदानमार्फत चयन गरिएको हो भने मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । 

माओवादी केन्द्रले पालिका अधिवेशनका लागि कार्यविधि, २०८१ निर्माण गरी यही पुस १३ गते जिल्लाका छ वटै पालिकामा एकसाथ पालिका अधिवेशन उद्घाटन गरेको थियो । माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाका अनुसार मुसीकोटमा दलबहादुर खड्काको नेतृत्वमा नयाँ नगर कमिटी चयन गरिएको छ । यसको उपाध्यक्षमा दीपक केसी, धनबहादुर खड्का, चम्फा परियार, सचिवमा नारायण केसी, सहसचिवमा चन्द्रबहादुर केसी र कोषाध्यक्षमा कमला बुढा चयन हुनुभएको छ । 

त्यसै गरी सानीभेरीमा धर्मबहादुर पुनको अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको छ । उपाध्यक्षमा इन्दिरा ओली, दीपक बाँठा र वीरसिं विक, सचिवमा बालकृष्ण विक, सहसचिवमा बालकुमार नकाल र कोषाध्यक्षमा चक्र केसी चयन हुनुभएको छ । त्रिवेणी गाउँपालिकामा मोहनकिशोर ओलीको अध्यक्षतामा गाउँ कमिटी सर्वसम्मत चयन भएको छ । यसको उपाध्यक्षमा चन्द्रबहादुर खड्का, राजेन्द्र पुन र रणबहादुर पुन, सचिवमा वीरबहादुर डाँगी, सहसचिव लक्ष्मण विक र कोषाध्यक्षमा निर्मला बुढाथोकी चयन हुनुभएको छ ।   

बाँफीकोट गाउँपालिकामा दक्ष पुनको अध्यक्षतामा नयाँ पालिका कमिटी चयन गरिएको छ । यसको उपाध्यक्षमा सौरभ केसी, मनकला पुन र हरि विक, सचिवमा तुल देवकोटा, सहसचिव जयबहादुर मल्ल र कोषाध्यक्षमा देउसरा केसी चयन हुनुभएको माओवादी केन्द्रले जनाएको छ । आठबिसकोटमा अध्यक्ष, उपाध्यक्ष र सहसचिव पदका लागि निर्वाचन भएको थियो । यहाँ मनिराज बटालाको अध्यक्षतामा नेतृत्व चयन भएको छ । उपाध्यक्षमा खुम्बे कुसारी, सीता शाह र टेकबहादुर थापा विजयी हुनुभएको छ भने सहसचिवमा खुमराज ओली विजयी हुनुभएको छ । सचिवमा दलजित विक र कोषाध्यक्षमा रूपा विक निर्विरोध निर्वाचित हुनुभएको छ ।  

चौरजहारी नगर कमिटीको अध्यक्ष र सचिव पदमा पनि मतदानमार्फत नेतृत्व चयन भएको छ । अध्यक्षमा सुन्दर शर्मा र सचिवमा अर्जुन कुमाल निर्वाचित हुनुभएको छ । नगर कमिटीका अन्य पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा महेश स्वर्णकार, पवित्रा गिरी र लोकेन्द्र परियार, सहसचिवमा समीर केसी र कोषाध्यक्षमा लोकेन्द्र देवकोटा चयन हुनुभएको छ । माओवादी केन्द्रले नगर कमिटी ५५ र गाउँ कमिटी ४५ सदस्यीय हुने जनाएको छ ।