स्याङ्जा समाचारदाता
स्याङ्जा, पुस २० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिपयुक्त शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । प्रदेशको गौरवको योजनाका रूपमा रहेको गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको प्रशासनिक भवनको फेदीखोला गाउँपालिका–१, ग्रुधाममा शुक्रबार शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डेले सिप नजानेका विद्यार्थीको कुनै अर्थ नरहेको बताउनुभयो । प्रतिष्ठानबाट दक्ष सिपयुक्त जनशक्ति तयार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकाससम्बन्धी सम्झौताको जोड्दै मुख्यमन्त्री पाण्डेले यसले कोरिया र नेपालका जनताबिचको सम्बन्ध प्रगाढ बढाउने बताउनुभयो । उहाँले नेपाल र कोरिया दुई देशको सहयोगमा पहलबाट परियोजना सुरु भएको बताउनुभयो । दुई देशका सङ्घीय सरकारबिच अन्तिम सम्झौता हुन बाँकी रहे पनि काम भने नरोकिने र केही दिनमा सम्झौतासमेत हुने उहाँको भनाइ थियो । दक्ष जनशक्ति अभावमा विदेशबाट आउने भन्दा
रेमिट्यान्सभन्दा बढी रकम विदेश लगेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्दै अब आवश्यकता अनुसारको जनशक्ति उत्पादन हुने दाबी गर्नुभयो ।
प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङ, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटालगायतले मन्तव्य राख्नुभएको थियो । शिलान्यास भएको प्रशासनिक भवन तीन करोड ५५ लाख १९ हजार रुपियाँमा निर्माण हुने छ । आरुसी कन्स्ट्रक्सन पोखराले निर्माण गर्ने भवन तीन तलामा हुने र दुई वर्षमा निर्माण सकिने छ । यहाँ रहेको शिवालय आधारभूत विद्यालय स्थानान्तरण गरेर प्राविधिक शिक्षालय निर्माण अगाडि बढाइएको हो । सरकारको स्थायित्व नहुँदा योजना कटौती हुने डर रहे पनि निर्माण थालेसँगै प्रदेश, जिल्ला तथा स्थानीय हर्षितसमेत भएका छन् ।
कोइका र गण्डकीबिच सम्झौता
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकाससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौतामा कोरियाली सरकारमार्फत कोइकाले यो परियोजनाका लागि नौ मिलियन अमेरिकी डलर खर्च गर्ने छ ।
परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ भने यो परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्त रूपमा कार्यान्वयन गर्ने छ । परियोजनाको मुख्य उद्देश्य २१ औँ शताब्दीको घरेलु तथा अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्षम जनशक्ति उत्पादन गर्नु हो भने परियोजनाले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम नीति र १५ औँ राष्ट्रिय योजनासँग समन्वय गर्दै निर्माण क्षेत्रको आवश्यकता पूरा गर्न र रोजगारको अवसर बढाउन सहयोग पुर्याउने छ ।
कोइकाले चार हजार ६३० वर्गमिटरको प्राविधिक शिक्षालय भवन निर्माण गर्ने योजना बनाएको छ भने यसमा कक्षाकोठा, कार्यशाला, छात्रावास, आवश्यक उपकरण, फर्निचर र शैक्षिक सामग्री हुने छन् । कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानीय आवश्यकता अनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्ने छ ।