• २१ पुस २०८१, आइतबार

'उत्तरदायी र व्यवसायिक पत्रकारिता आवश्यक'

blog

दिवाकर पोख्रेल

देउखुरी, पुस १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सबलीकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाइ संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल दाङबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासङ्घमा नवनिर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद् सदस्य एवम् प्रदेश परिषद् सदस्यलाई बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमलाई बलियो बनाउन र संरक्षणगर्न सञ्चार ऐनलाई संशोधन गरेर सुधार गरिने बताउनुभएको हो ।

"सञ्चार ऐनलाई संशोधन गरेर भए पनि मिडिया क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सरकारको योजना छ । यो काम अघि बढेको छ," उहाँले भन्नुभयो, "प्रदेश सभाको हिउँदे अधिवेशनबाट ऐनलाई संशोधन गरेर मिडिया क्षेत्रको कामलाई प्रभावकारी बनाउने योजना छ ।"

उत्तरदायी र व्यावसायिक पत्रकारितालाई जोड दिँदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय देखिएका विकृती, विसङ्गति अन्त्यका लागि स्वयं पत्रकारिता क्षेत्र सजग र चनाखो हुनुपर्ने धारणा राख्नुभयो ।

"मर्यादित र व्यावसायिक पत्रकारिता आजको आवश्यकता हो । तर, केही विकृति, विसङ्गति भित्रिएका छन् । त्यसलाई निर्मूल पार्न जरुरी छ," उहाँले भन्नुभयो, "प्रदेश सरकार पत्रकारहरुको हकहित सुनिश्चित गर्न दृढ र प्रतिबद्ध छ ।" 

आमसञ्चार माध्यमको विकासको लागि प्रदेश सरकारले साझा नीति अवलम्बन गरेको, सबै क्षेत्रको सन्तुलित विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । "सबै मिडियाको सुरक्षाको लागि सरकारले ध्यान दिएको छ । विज्ञापनहरुलाई एकीकृत रुपमा वितरण गर्नेगरी नीतिगत सुधार गर्ने योजनामा छौं," उहाँले भन्नुभयो, "प्रदेशभित्रका सबै सञ्चार माध्यम र पत्रकारहरुलाई साझा रुपमा सम्बाेधन गर्ने प्रदेशको नीति  छ ।"

हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्नेगरी क्रियाशील हुन आह्वान गर्नुभयो । प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेकपा एमाले दाङ प्रचार विभाग प्रमुख सङ्गीत बस्याल लगायतले उत्तरदायित्व सहितको स्वतन्त्र पत्रकारितालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीतिगत सुधार गरेर जान आवश्यक रहेकोमा जोड दिनुभएको थियो । 

कार्यक्रमको सहजीकरण चौतारी दाङका सचिव किरण गौतमले गर्नुभएको थियो ।