• २१ पुस २०८१, आइतबार

जिल्लामै छैन शववाहन र शवगृह

blog

जिल्ला अस्पताल सल्लेमा जीर्ण अवस्थामा रहेको पोस्टमार्टम भवन । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता  

रुकुमपश्चिम, पुस १९ गते । रुकुमपश्चिममा शववाहन र शव राख्ने भवनको अभाव रहेको छ । एउटा पनि शववाहन नहुँदा बिरामी बोक्ने एम्बुलेन्स र यात्रु बोक्ने जिपमै शव बोक्नुपर्ने बाध्यता रहेको छ । 

विभिन्न घटना तथा कारणले मृत्यु भएका व्यक्तिको शव घटनास्थलबाट अस्पताल तथा अस्पतालबाट घरसम्म लैजान समस्या हुने गरेको छ । शव बोक्न एम्बुलेन्स वा जिप प्रयोग 

भएपछि त्यसमा बिरामी चढ्न नमान्ने, डराउने अवस्था रहेको छ । 

संयुक्त एम्बुलेन्सचालक सङ्घका जिल्ला अध्यक्ष कृष्णकुमार ददेलले शववाहन नभएपछि एम्बुलेन्स प्रयोग गर्न बाध्यता रहेको बताउनुभयो । शव बोकेको थाहा पाएपछि एम्बुलेन्सलाई बिरामी ओसारपसारका लागि कमै प्रयोग गर्ने अवस्था रहेको छ । अध्यक्ष ददेलले भन्नुभयो, “कहिलेकाहीँ जिपमा शव बोक्ने गरिए पनि अधिकांश रूपमा एम्बुलेन्स नै प्रयोग हुन्छन्, यसले गर्दा धेरै जसो मान्छे एम्बुलेन्समा बिरामी राख्न डराउने गरेका छन् ।” जिल्लामै शववाहन नभएकाले मानवीय संवेदना र सेवाभावका कारण पनि शव बोक्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमका प्रमुख डा. महेश चौलागाईंका अनुसार जिल्लाभर एउटा पनि शववाहन नभए पनि तत्काल व्यवस्था गर्न समस्या छ । जिल्ला अस्पतालमा आवश्यक बजेट व्यवस्थापन गरेर वा स्थानीय तहले आवश्यक समन्वय गरेर शववाहन सञ्चालन गर्न अत्यावश्यक रहेको उहाँको भनाइ छ । डा. चौलागाईंका अनुसार जिल्लामा केही दिन शव राख्नका लागि शवगृहसमेत छैन । विसं २०४५ मा जिल्ला अस्पताल निर्माण हुँदा बनाइएको साँघुरो पोस्टमार्टम घर रहेको छ । हालसम्म त्यही छाप्रो नै शवगृहका रूपमा प्रयोग भइरहको छ । 

जीर्ण अवस्थामा रहेको उक्त घर सल्लेगाउँनजिक रहेकाले थप समस्या देखिएको छ । डा. चौलागाईंले कचक्क परेको कोठामा दुई/तीन वटासम्म शव राख्नुपर्ने अवस्था भएमा दुर्गन्ध फैलिने भएकाले स्थानीयको व्यापक गुनासो आउने गरेको बताउनुभयो । एउटा मात्र शव राख्न मिल्ने उक्त घरमा दुर्घटना वा अन्य कारण आएका एकभन्दा बढी शवको पोस्टमार्टम गर्न र राख्नसमेत स्थान अभाव हुने गरेको छ । 

नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिमका अध्यक्ष रमा गौतमले जिल्लामा अझैसम्म एउटा पनि शववाहन र उपयुक्त शवगृह नहुनु दुःखद भएको बताउनुभयो । सरोकारवाला निकायले सेवाभावलाई बिर्संदा यस्ता मानवीय संवेदनाका सवाल ओझेलमा परेको उहाँको भनाइ छ । 

जिल्लाबाहिर तथा अस्पतालबाट आफन्तको शव घरसम्म ल्याउन शववाहन नपाउनु, एम्बुलेन्स तथा जिपलाई हारगुहार गरेर महँगो भाडा तिरेर रिजर्भ गर्नु दुर्भाग्य रहेको सभापति गौतमले उल्लेख गर्नुभयो । पूर्वाधार निर्माणसँगै मानवीय सेवाका क्षेत्रमा पनि राज्य तथा अन्य सरोकारवाला निकायको लगानी हुन आवश्यक रहेको उहाँको भनाइ छ ।