नेपाल जस्तो विकासोन्मुख मुलुकको विकास र समृद्धिका लागि लगानी सम्मेलन अत्यन्त महत्वपूर्ण हुन्छ । पर्याप्त प्राकृतिक स्रोत र सम्भावना भए पनि ती स्रोतहरूको सही सदुपयोग गर्न लगानी अपरिहार्य हुन्छ । मुलुक सङ्घीयतामा जानुअघिदेखि नै सरकारले लगानी सम्मेलन गरिरहेको थियो । सङ्घीयता लागु भएपछि सङ्घीय सरकार र प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गरिरहेका छन् । सम्मेलनमार्फत लगानीको प्रतिबद्धता उच्च भए पनि वास्तविक लगानी न्यून मात्रामा भित्रिने गरेको छ । न्यून लगानी भित्रिनुका कारणको खोजी गरी समस्याको समाधान गरेर उत्पादन र बजारीकरणलाई बलियो बनाउने नीति राज्यले अवलम्बन गर्नु आवश्यक देखिन्छ । लगानी कुनै पनि राष्ट्रको आर्थिक विकास र समृद्धिको प्रमुख साधनमध्ये एक हो । विशेष गरी आन्तरिक पुँजीको अभाव भएको मुलुकमा पुँजी निर्माणमा वैदेशिक लगानीको भूमिका महत्वपूर्ण मानिन्छ । लगानीले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक ढाँचामा विविधता ल्याएर समृद्धि हासिल गर्न मद्दत पुर्याउँछ । नेपालमा वैदेशिक लगानीको स्थिति अनुकूल बनाउन हालसम्म गरिएका प्रयासहरू सकारात्मक भए पनि विभिन्न समस्या र चुनौतीहरू पनि छन् जसले लगानीको प्रवाहलाई प्रभावित गरिरहेको छ ।
वैदेशिक लगानीका लागि राजनीतिक स्थिरता र सुशासन पहिलो आधार हो । आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन राज्यले राजनीतिक स्थिरता, सुशासन र भ्रष्टाचारमुक्त वातावरणको निर्माण गर्न विशेष ध्यान दिनु पर्छ । वैदेशिक लगानीकर्ताले लगानी गर्दा सुरक्षा, स्थिरता र कानुनी निश्चितता खोज्छन् । नेपालमा बारम्बार हुने राजनीतिक अस्थिरताले वैदेशिक लगानीकर्तालाई अनिश्चित बनाउने गर्छ । त्यसैले स्थिर राजनीतिक वातावरण निर्माण गर्न, ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्न र प्रशासनिक प्रक्रियामा सुधार ल्याउन विशेष ध्यान दिनु पर्छ । झन्झटिलो कानुनी प्रक्रिया र कर्मचारीतन्त्रको मनोवृत्तिमा व्यापक परिवर्तन गर्दै लगानीका लागि सहज वातावरण निर्माण गर्नु जरुरी देखिन्छ । लगानीकर्ताको विश्वास जित्न र लगानी बढाउन भ्रष्टाचार, ढिलासुस्ती र अनावश्यक प्रशासनिक कठिनाइको अन्त्य गर्दै एकद्वार प्रणालीबाट लगानी प्रक्रियालाई सहज र सरल बनाउनु पर्छ ।
वैदेशिक लगानी भित्र्याउने अर्को महत्वपूर्ण आधार भनेको भौतिक पूर्वाधारको विकास भएकाले यातायात, सञ्चार, ऊर्जालगायत अन्य आधारभूत औद्योगिक पूर्वाधार विकासमा जोड दिनु पर्छ । विशेष गरी रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र कृषि, ऊर्जा, पर्यटन, औद्योगीकरण, सूचना प्रविधिलगायतका क्षेत्रमा न्यूनतम पूर्वाधारको विकास गरी लगानी आकर्षणका लागि रणनीतिक योजना तयार गर्न सक्नु पर्छ । नेपालमा ऊर्जा उत्पादनका लागि जलस्रोतको प्रचुर सम्भावना छ भने पर्यटन उद्योग पनि देशको प्रमुख आर्थिक क्षेत्र हुने बलियो आधार छ । त्यस्तै कृषिमा पनि आधुनिक प्रविधि भित्र्याएर व्यावसायिक रूपमा उत्पादन बढाउने सम्भावना त्यत्तिकै प्रबल छ ।
प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नेपालले अन्य मुलुकसँग प्रतिस्पर्धी क्षमताको विकास गर्न जरुरी छ । प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रको वर्गीकरण गरी सन्तुलित विकासका लागि कुन क्षेत्रमा लगानीलाई प्राथमिकता दिने भन्ने स्पष्ट खाका तयार गरी लगानीलाई सही क्षेत्रमा केन्द्रित गरिनु आवश्यक छ । वैदेशिक लगानी आकर्षित गर्न राज्यले वैदेशिक लगानीको स्थिति, वैदेशिक लगानीलाई प्रभाव पार्ने अन्तर विषय, हालसम्म गरिएका प्रयास, त्यसका उपलब्धिबारे अध्ययन अनुसन्धान गरी थप सुधार गरेर वैदेशिक लगानी भित्र्याउने रणनीति बनाउनु पर्छ । तिनै तहका सरकारले स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्न नीतिगत सुनिश्चितता र सुरक्षाको प्रत्याभूति दिन सक्नु पर्छ ।
नीतिगत अस्थिरताले लगानीलाई बेफाइदा पुर्याउने भएको हुँदा राज्यले स्थिर लगानी नीति अगाडि ल्याई वैदेशिक लगानी आकर्षित गर्न संस्थागत तथा नीतिगत सुधार र स्थायित्वको विश्वास लगानीकर्तालाई दिलाउन सक्नु पर्छ । साथै विश्वव्यापी मूल्य शृङ्खलामा जोडिन र निर्यातलाई महत्व दिने उद्देश्यले वैदेशिक लगानीलाई उच्च प्राथममिकतामा राखेर नीतिगतलगायतका समस्या समाधान गर्दै ठुलो मात्रामा विदेशी पुँजी भित्र्याउने रणनीतिक योजनासहित अगाडि बढ्नु पर्छ । प्रशासनिक ढिलासुस्तीलाई सहज रूपमा व्यवस्थित बनाउँदै आयात निर्यातमा लागत घटाएर व्यापार व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सक्नु पर्छ । साथै कच्चा पदार्थ र अर्धतयारी वस्तुको भन्सार दर घटाएर लागत कम गर्ने नीतिलाई पनि निरन्तरता दिन सक्नु पर्छ ।
प्रत्यक्ष वैदेशिक लगानीको माध्यमबाट आर्थिक विकास र समृद्धिमा गुणात्मक फड्को मार्न सफल मुलुकबाट पाठ सिक्दै वैदेशिक लगानी भित्र्याउने नीति तथा अनुकूल वातावरण बनाउन सबै राजनीतिक दलले एक्यबद्धता जनाउनु पर्छ । मुलुकमा राजनीतिक संरचनामा आएको परिवर्तन अनुसार नै आर्थिक संरचनालाई परिमार्जन गरी सहज लगानी मैत्री वातावरण बनाउने नीति लिनु पर्छ । वैदेशिक लगानीको लागि सहज र सरल कर प्रणाली, स्थिर विनिमय दर तथा लगानीमैत्री वित्तीय नीतिहरू अत्यन्त महत्वपूर्ण हुने भएकाले विशेष आर्थिक क्षेत्रको व्यवस्थापन, विनिमय दरको स्थिरता र लचिलोपनको नीति, न्यून कर तथा भन्सार दर नीति, लगानीकर्तालाई प्रदान गरिने सहुलियतका प्याकेज बढाउँदै लगानी आकर्षित गर्न सक्नु पर्छ ।
साथै अन्तर्राष्ट्रिय व्यापार सम्झौता र आर्थिक कूटनीतिक सम्बन्धको विकास गर्दै वैदेशिक लगानीको प्रवाहलाई प्रभावित गर्न सक्नु पर्छ । नेपालले वैदेशिक लगानीलाई प्राथमिकतामा राखेर आफ्ना नीतिहरू विकास गर्दै आएको भए पनि यस क्षेत्रमा धेरै सुधार गर्न आवश्यक देखिन्छ । हाम्रो नीतिगत, अवधारणागत, संरचनागत पक्ष, हाम्रो व्यवहार र दृष्टिकोणमा सुधार गर्नुपर्ने देखिन्छ । वैदेशिक लगानी सहजसँग नभित्रिनुका कारणको खोजी गर्दै यस क्षेत्रका समग्र समस्या पहिचान गरी लगानीमैत्री वातावरण बनाउने रणनीति राज्यले लिन सक्नु पर्छ । बजारको आकार र पहुँच पनि लगानी आकर्षित गर्ने महत्वपूर्ण आधार भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच प्रदान गर्ने बजार व्यवस्थापन नीति अख्तियार गर्नु अनिवार्य देखिन्छ ।
आर्थिक विकासलाई दु्रत गतिमा अगाडि बढाउन वैदेशिक लगानीका साथै स्वदेशी र प्रवासी नेपालीलाई समेट्न सक्नु पर्छ । प्रत्यक्ष वैदेशिक लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्दै गैरआवासीय नेपालीलाई औद्योगिक विकासमा संलग्न गराउने प्रयास गर्नु पर्छ । विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई स्वदेश भित्र्याएर औद्योगिक विकास गर्ने रणनीति लिएको खण्डमा मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन सकिन्छ । त्यसका लागि गैरआवासीय नेपालीलाई प्रोत्साहित गर्ने विशेष नीति तथा कार्यक्रम ल्याउन सक्नु पर्छ । लगानी गर्दा जसले पनि नाफा कमाउने उद्देश्य राख्छ र कमाएको रकम विदेशीले विदेशमा लैजान्छ भन्ने कुरामा स्पष्ट भएर वैदेशिक लगानी भित्र्याउनु पर्छ । वैदेशिक लगानीले पुँजी र रोजगारी दुवै बढाउनुको साथै आर्थिक विकास र समृद्धिमा फड्को मार्न ठुलो टेवा पुर्याउने भएकाले लगानीमैत्री वातावरण निर्माणमा विशेष जोड दिनु अपरिहार्य छ ।
औद्योगीकरणको अभियानमा दक्ष श्रम शक्तिले उत्पादन लागत कम गर्ने भएकाले आवश्यक दक्ष श्रम शक्ति राज्यले उपलब्ध गराउने भरपर्दो आधार तयार गर्न सक्नु पर्छ, त्यसले विदेशी लगानीकर्ता आकर्षित हुने वातावरण बन्छ । विश्वमा नै मानव स्रोतसाधनको अभाव भइरहेको अवस्थामा नेपाल उर्वर भूमि छ तर मानवीय स्रोतलाई स्वदेशमा नै रोजगारी व्यवस्थापन गर्न सक्नु पर्छ । त्यसका लागि प्रत्यक्ष वैदेशिक लगानीमा जोड दिँदै औद्योगीकरणको अभियानलाई तीव्र गतिमा अगाडि बढाउनुको विकल्प देखिँदैन । वैदेशिक रोजगारमा बिदेसिएका नागरिकलाई स्वदेशमा नै आकर्षित गर्न उनीहरूका साना तथा ठुला लगानीका व्यवसायलाई राज्यले सहकार्य गरेर प्रोत्साहित गर्नु पर्छ ।