रमेश विश्वकर्मा
गुल्मी, पुस १७ गते । विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सुचिकृत नभएका सञ्चारमाध्यमलाई विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको समन्वयमा विज्ञापन बोर्ड र स्थानीयस्तरमा सञ्चालित सञ्चारमाध्यमबिच बुधबार तम्घासमा भएको अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।
स्थानीयस्तरका सञ्चारमाध्यमहरु आर्थिक समस्या र संकटबाट गुज्रिएको हुँदा आर्थिक संकटको समाधान गर्ने केही दायित्व विज्ञापन बोर्डसंग जोडिएको बताउनुभयो । सञ्चारमाध्यमले पाउनुपर्ने विज्ञापनको संकट देखिएको हुँदा विज्ञापन बजारमा चुहावट भइरहेको कार्यकारी अध्यक्ष हुमागाईंले बताउनुभयो । बजारमा भएको विज्ञापन चुहावटलाई रोक्न सम्पूर्ण सञ्चारमाध्यमहरु सङ्गठित एकताबद्ध हुन आग्रह गर्नुभयो ।
जिल्लामा सञ्चालन भइरहेका सञ्चारमाध्यमहरुको जिल्ला हुलाक कार्यालयलाई अनुगमनका लागि निर्देशन गरिएको भन्दै उहाँले विज्ञापन बोर्डबाट प्राप्त हुने बिज्ञापन उपलब्ध गराउँदै आएको बताउनुभयो । ‘पछिल्लो पटक स्थानीय तहलाई बोर्डले नमुना कानुन समेत पठाएका छौं ।’ उहाँले भन्नुभयो, ‘स्थानीय तहलाई सञ्चारमाध्यम अनुगमनका लागि संयुक्त अनुगमन समिति बनाउन दबाब सिर्जना गर्नुपर्छ ।’ सञ्चारमाध्यमहरु संख्यात्मक रुपमा वृद्धि भए पनि गुणात्मक वृद्धि हुन नसकेको कार्यकारी अध्यक्ष हुमागाईंको भनाइ छ ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ गुल्मी शाखाका पूर्व अध्यक्ष जनार्दन घिमिरेले यहाँ सञ्चालनमा रहेका सञ्चार माध्यमको अवस्था बारेमा जानकारी गराउनुभयो । नेपाल पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष अनिल खत्रीले पहिलो पटक जिल्लामा नेपाल सरकार विज्ञापन बोर्डसँग जोडिएर मोफसल बाहिरका सञ्चार माध्यमहरुको अवस्थाका विषयमा अन्तरक्रिया गरिएको बताउनुभयो । विज्ञापनमा स्थानीय सञ्चारमाध्यहरुको सहज पहुँचका लागि आवश्यक सहयोग र समन्वयका लागि विज्ञापन बोर्डलाई आग्रह गर्नुभयो ।