काठमाडौं, पुस १७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीको बैठक डाकेर जोखिम फैलन नदिइ प्रभावकारी सेवा दिन निर्देशन दिनुभएको छ।
मन्त्री पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिन निर्देशन दिनुभएको हो ।
मन्त्री पौडेलले मन्त्रालयले नागरिकलाई जोखिममा पर्न नदिन आवश्यक सबै सतर्कता अपनाइरहेको बताउनुहुँदै विमानस्थलका स्वास्थ्य अधिकारीसहित उड्डयन, अध्यागमन, सुरक्षा अधिकारी तथा एयरलायन्स कर्मचारीलाई जिम्मेवारीपूर्वक साथ दिन आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले विमानस्थलमा एयरलायन्स, नागरिक उड्डयन अधिकारी, अद्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीसहित अधिकारीहरूलाई नागरिकमाझ थप जोखिम फैलन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तपाईंहरूलाई कुनै पनि काम कुरामा आवश्यक सहयोग उपलब्ध गराउन हामी तयार छौं । केही समस्या परे भन्नुहोला ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एमपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ ।
नेपालमा पुस लागेदेखि साउदी अरेबियाबाट आएका दुई नागरिकमा एमपक्स सङ्क्रमण देखिएको थियो । जसमध्ये एक उपचारपछि घर फर्किसक्नु भएको छ भने एक जनाको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्री पौडेलले नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल अनि सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।
मन्त्रालयले विमानस्थलबाट बाहिरिएका शंकास्पद बिरामीको सम्पर्क ट्रेसिङका अलावा फर्कनेहरूलाई एमपक्सबारे सचेतना विमानस्थलमा रहेको हेल्थ डेस्कबाट फैलाइरहेको छ । बिरामीको टेकुस्थित सरुवा नियन्त्रण अस्पतालमा उपचार भइरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।