जुम्ला समाचारदाता
जुम्ला, पुस १७ गते । जुम्लामा रहेको दियालो बचत सहकारी संस्थाले करोडौँ रकम बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ता सडकमा उत्रिएर आन्दोलित भएका छन् । बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै आन्दोलित भएका हुन् ।
बचत रकम फिर्ता गराइदिन भन्दै सरोकारवाला निकाय धाइरहेका छन् । सहकारीले बचत रकमको दुई गुणा रकम उपलब्ध गराउने प्रलोभन दिएको थियो । बचतकर्ता ठिले ग्याम्जो लामाले आफ्नो बुवा पासाङ छिरिङ लामाले जम्मा गरेको चार लाख पाँच हजार ९९१ रुपियाँ बचत लामो समयदेखि फिर्ता नपाएको बताउनुभयो ।
उहाँले कार्यालयमा आउन थालेको एक महिना भएको उल्लेख गर्दै रकम सहकारीले फिर्ता नदिएको जानकारी दिनुभयो । उहाँ जस्तै धेरै बचतकर्ताको रकम सहकारीले फिर्ता दिन सकेको छैन । बचत रकम फिर्ता माग गर्दै बचतकर्ता सहकारीको कार्यालयमा धर्ना दिइरहेका छन् । बचतकर्ताले साग, सिमी, तरकारी, ओखर बेचेर कमाएको रकम बढी पैसा पाउने आसले बचत गरेको भन्दै अहिले सहकारीले बचत रकम फिर्ता नगर्दा बिचल्लीमा परेको बताएका छन् । बचत रकम फिर्ताको माग गर्दै उनीहरू कहिले सहकारीमा धर्ना त कहिले विरोध ¥याली प्रदर्शन गरिरहेका छन् ।
चन्दननाथ गाउँपालिका–६ मा मुख्य कार्यालय स्थापना भएको दियालो बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको १९ करोड ५० लाखमध्ये १८ करोड फिर्ता गर्न बाँकी रहेको व्यवस्थापक दीपक शाहले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थामा एक करोड ५० लाख सेयर लगानी छ भने संस्थाको ऋण लगानी ३४ करोड गरेको छ । उहाँले ढिलोचाँडो सबैको बचत रकम फिर्ता गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारीले बितेको डेढ वर्षको अवधिमा संस्थाले तीन करोड ऋण लगानी मात्रै उठाउन सकेको छ ।