हुम्ला समाचारदाता
हुम्ला, पुस १७ गते । भुओ पर्वमा माइती आएका यहाँका महिलाले फुर्का नाचेर रमाइलो गरेका छन् । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–६ को बराई गाउँका भक्तराज ऐडीले सधैँ झैँ यस पटक पनि माइत घरमा भुओ मनाउन आएका छोरीचेली मिलेर फुर्का नाच नाचेको बताउनुभयो । माइतीलाई खुसी पार्न छोरीचेली परम्परागत पहिरन र गरगहनामा सजिएर फुर्का नाच्ने उहाँ बताउनुहुन्छ । परम्परागत पोसाक दौरामा लामबद्ध भई सजिएर महिलाहरू नाच्ने गर्छन् । दुई पक्षबिच प्रतिस्पर्धासमेत हुने उहाँ बताउनुहुन्छ । नाच सकिएपछि सगुनपातले उहाँहरूको स्वागत पनि गरिन्छ । माइतीले गच्छे अनुसार दक्षिणा पनि दिने गरिन्छ । एक हप्तासम्म चल्ने भुओ पर्वमा आफन्त तथा माइतीका घर घरमा निम्ता बोलाएर मिठा मिठा स्थानीय परिकार पनि खुवाउने गरिन्छ ।