रमेश विश्वकर्मा
गुल्मी, पुस १६ गते। गुल्मीको सदरमुकाम तम्घासमा क्रिकेट प्रतियोगिता सुरु भएको छ। खुकुरी युथ क्लबको आयोजनामा चिदिचौर खेल मैदानमा प्रथम खुकुरी क्रिकेट कप–२०८१ सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले उद्घाटन गर्नुभएको हो।
क्लबको दोस्रो वार्षिकोत्सवको अवसरमा रेसुङ्गा नगरपालिकाको मुख्य प्रायोजकमा आयोजित गुल्मी जिल्ला अन्तर माध्यमिक विद्यालय (कक्षा–१०) क्रिकेट प्रतियोगिता यही पुस २० गतेसम्म हुनेभएको हो। त्यस अवसरमा समन्वय प्रमुख खत्रीले अनुशासनलाई ख्याल गरेर प्रतियोगितामा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो। खेलले विद्यार्थीलाई अनुशान र निडर बनाउन सहयोग पुर्याउने उहाँको भनाइ छ।
त्यस्तै, समन्वय प्रमुख खत्रीले जिल्लास्तरमा हुने विभिन्न खालका प्रतियोगिताले आर्थिक चलायमान हुने बताउनुभयो। प्रतियोगिताले सबैलाई सामाजिक रुपमा जोड्ने भन्दै उहाँले पछिल्लो समय देशमा खेलाडी उत्पादनका लागि लगानी बढिरहेको बताउनुभयो। पाँच दिनसम्म चल्ने प्रतियोगितामा यस जिल्लाका विभिन्न १२ विद्यालयले सहभागिता जनाउने भएका छन्।
प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, उपल्लो तम्घास माध्यमिक विद्यालय, जनसहयोग माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय, म्यालपोखरी माध्यमिक विद्यालय गौंडाकोट, नयाँगाउँ माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय हुँगा, आदर्श विद्या आश्रम, रिडर्स पब्लिक हाइस्कुल, ब्रिलियन्ट युनाइटेड एकेडेमी र लिटिल स्टार पब्लिक स्कुलले भाग लिएका छन्।
उद्घाटनको पहिलो खेल उपल्लो तम्घास माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालय हुँगाबिच भएको छ। खेल आइसिसिको नियम अनुसार हुनेछ। प्रतियोगितामा विजेताले २२ हजार २२२ रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ११ हजार १११ रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव निशान टण्डनले जानकारी दिनुभयो।