• १९ पुस २०८१, शुक्रबार

संविधान संशोधनको समयमा एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

blog

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर।

काठमाडौँ, पुस १६ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको स्मरण गर्नुहुँदै महरले उक्त कुरा बताउनुभएको हो।

‘वि.सं. २०३३ पुस १६ गते बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो। त्यतिबेला राष्ट्रको स्वाधिनता र यसको अस्तित्व रक्षाको समय थियो। अहिले समय फेरियो। हामी गणतान्त्रिक मुलुकमा गयौं। बिपीले त्यो बेला नेपाललाई समुन्नत बनाउने कुरा भन्नु भएको थियो, त्यो काम संविधान निर्माण भइसकेपछि पनि अहिलेसम्म पूरा भएन। अहिले संविधान संशोधनको बहस भएको बेला त्यो राष्ट्रिय एकता र मेलमिलापको आधारमा मात्र सम्भव छ’’, कांग्रेस इलामले आयोजना गरेको १०० दिने विशेष अभियान समारोहलाई सम्बोधन गर्दै शिक्षा विभाग प्रमुखसमेत रहनुभएका नेता महरले भन्नुभयो।

बिपी देशको स्वाभिमान जोगाउन राष्ट्रिय एकतासहित स्वदेश फर्किएको उहाँले प्रष्ट पार्नुभयो। बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएको महरले स्मरण गर्नुभयो।

कांग्रेस स्वयंले १०० दिन विशेष अभियान समापन गर्दै गर्दा राष्ट्र निर्माण, जनताका र पार्टी निर्माणका लागि कसैको फरक मत रहँदैन भन्ने प्रत्येक व्यक्तिले कसम खानुपर्ने उहाँले बताउनुभयो।

समयमै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने र त्यसका लागि टोल स्तरदेखिकै नेता कार्यकर्ताको प्रतिबद्धता तथा सक्रियता आवश्यक रहेको महरले बताउनुभयो।