• २२ पुस २०८१, सोमबार

साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्व राष्ट्रपति भण्डारी

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः केशब गुरुङ

काठमाडौँ, पुस १९ गते। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य समाजको दर्पण मात्र नभ राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक भएको बताउनुभएको छ।

शुक्रबार काठमाडौँमा नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरु’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो। 

उहाँले साहित्यले समाजमा रुपान्तरण र परिवर्तन ल्याउने बताउनुभयो। उहाँले साहित्य कलात्मक, सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभ विचारको संवाहक भएको बताउनुभयो। 

उहाँले सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिकर्मीबाट सिर्जना गरिएका साहित्यले सामाजिक पसिरवर्तनकै अभियानलाई बल पुर्‍याउने बताउनुभयो। 

समाजमा भएका अराजकता, विकृति, विसङ्गतिलाई रोक्न र सही नीति, सिद्धान्त, दर्शनको आधारमा मुलुकलाई समृद्ध बनाउन प्रगतिशील कला साहित्य र सङ्गीतको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘साहित्य समाजको दर्पण हो। त्यति मात्रै होइन, राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्त्वपूर्ण कुरा हो। साहित्य कलात्मक, सुन्दर आदर्श अभिव्यक्ति मात्र नभएर विचारको संवाहक हो। सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिकर्मीबाट गरिने साहित्य सिर्जनाले पनि अन्ततः सामाजिक परिवर्तनकै अभियानलाई नै थप बल पुर्‍याउँछ। समाजमा भएका अराजकता, उच्छृङ्खलता जस्ता विकृति, विसङ्गतिहरुलाई रोक्न र सही नीति, सिद्धान्त, दर्शनको आधारमा मुलुकलाई समृद्ध बनाउन प्रगतिशील कला साहित्य र सङ्गीतको महत्वपूर्ण भूमिका रहन्छ।’

पूर्व राष्ट्रपति भण्डारीले सर्जकले आफ्नो सिर्जनामार्फत देश र जनताको सेवामा थप टेवा पुर्‍याउने बताउनुभयो।