• २१ पुस २०८१, आइतबार

सूर्यदर्शनका प्रतिवादीको बहस जारी

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १९ गते। पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको बयान सकिएपछि बुधबारबाट बहस सुरु भएको हो।

शुक्रबार प्रतिवादीहरुको बहस सुरु भएकोमा सूर्यदर्शन सहकारी ठगी अभियोगमा हिरासतमा रहनुभएका पूर्व प्रहरी नायब महानिरीक्षक एवम् गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी बन्जाडेका कानुन व्यवसायीले बहस गर्नुभयो। न्यायाधीश नीतिज राईको इजालसमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व खतिवडाले बहस गर्नुभएको छ।

बन्जाडेकै तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा र रमण श्रेष्ठले समेत बहस गर्दै हुनुुहुन्छ। अदालतका स्रेस्तेदार राजन खनालले शुक्रबार प्रतिवादीको बयान सुरु भएको जानकारी दिँदै सोमबार, मङ्गलबारतिर मात्रै बहस सकिने अनुमान गर्नुभयो। 

“आज छविलाल जोशीको तर्फबाट दुई जना र लीला पछाईको तर्फबाट एक जनाले बहस गर्नुभएको छ,” स्रेस्तेदार खनालले भन्नुभयो, “उहाँहरुको बयान सकिएको छैन, जारी छ। आइतबारबाट फेरि निरन्तर हुन्छ। सोमबार, मङ्गलबारतिर मात्रै सकिएला।” 

प्रतिवादीको बहस सकिएपछि जवाफी बहस हुनेछ। जवाफ बहसपछि प्रतिवादीलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय हुनेछ। 

यो प्रकरणमा जाहेरवालाको तर्फबाट छ जना कानुन व्यवसायीले बहस गर्नुभएको थियो। जाहेरवालाका थप कानुन व्यवसायीलाई जवाफी बहसका बेला बोल्न भन्दै न्यायाधीश राईले प्रतिवादीतर्फका कानुन व्यवसायीलाई समय दिनुभएको थियो। प्रतिवादी रवि लामिछानेको तर्फबाट बहस गर्न १५ जना कानुन व्यवसायीले वकालतनामा लिनुभएको छ। 

शुक्रबार जोशीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले जोशीले सूर्यदर्शन सहकारीबाट पैसा नलिएको दाबी गर्नुभएको थियो। रविसहित विपक्षी बनाइएका ४४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ।

शुक्रबार प्रतिवादी जिबी एन्ड कम्पनीजकी कर्मचारी लिला पछाईंको तर्फबाट अधिवक्ता गणेशबहादुर भट्टराईले बहस गर्नुभएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी ठगी आरोपमा २०८० असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। पुस २ गते उनीहरूविरूद्ध पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको थप अभियोग लगाइएको छ।  

पुरक र थप गरी सूर्यदर्शन सहकारी अपचलनमा ६६ जना प्रतिवादी छन्। उनीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ। जिल्ला सहकारी वकिलको कार्यालयले पुस ७ गते पूरक अभियोग दर्ता गरेको थियो।