छविलाल पाण्डे
बुटवल, पुस १६ गते । बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ हुने भएको छ ।
च्याम्पियनसिपको बुधबार एक समारोहका बिच मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको रामनगर खेल मैदानमा बिहान ११:०० बजे उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
च्याम्पियनसिपको तयारी पूरा भएको मङ्गलबार बुटवलमा आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलनमा बताइएको हो । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६औँ स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो ।
प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिस्पर्धा गर्दैछन् । सहभागी हुने टिममा मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहेको एकेडेमीका अध्यक्ष आचार्यले बताउनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार सात लाख रुपियाँ रहेको छ । यस्तै द्वितीय पुरस्कार तीन लाख ५० हजार, तृतीय पुरस्कार एक लाख ७५ हजार, सान्त्वना पुरस्कार एक लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको छ ।
प्रतियोगिताका लागि बुधबारको खेल निःशुल्क गरिएको छ भने बिहीबारदेखि प्रति व्यक्ति तीन सय रुपियाँ टिकटको व्यवस्था गरिएको छ । अध्यक्ष आचार्यले परिस्थिति अनुसार टिकट शुल्कमा बृद्धि पनि हुन सक्ने बताउनुभयो ।
रामनगर खेल मैदानमा हुने प्रतियोगिता २५ सय दर्शकले हेर्न सक्नेछन् । लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री लिला गिरिले पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नुभयो ।