• १९ पुस २०८१, शुक्रबार

सरकार चलाउन मात्रै गठबन्धन होइन : महासचिव पोखरेल

blog

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल आईतबार नेपालगञ्जमा आयोजित अगुवा कार्यकर्ता भेलामा । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, पुस १६ गते । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच नियमित सरकार सञ्चालनका लागि मात्रै गठबन्धन नबनेको बताउनुभएको छ । 

नेकपा (एमाले) नेपालगञ्ज उप–महानगरपालिका कमिटीको आयोजनामा आईतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली लोकतन्त्रमा बलियोमाथि कमजोरले शासन गर्ने गलत अभ्यासलाई नियन्त्रण गर्दै विकास र समृद्धितर्फ देशलाई अघि बढाउन प्रमुख दुई राजनीतिक दलबीच गठबन्धन भएको बताउनुभयो । 

महासचिव पोखरेलले भन्नुभयो, "नेपालमा ३२ सिट भएको राजनीतिक दलले म्याजिक सिटको नाममा सरकारको नेतृत्व गर्नुभनेको जनादेशमाथिको अवमुल्यन थियो, जनतामा देखिएको निरास र हताष मानसिकता बदल्न पनि यो ठाउँमा पुग्नैपर्ने थियो ।" उहाँले देशमा विकास र समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने भन्दै मिसन ८४ अन्तर्गत एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्ति बनाउन आम कार्यकर्तालाई निर्देशन दिनुभयो ।  

मिसन ८४ भनेको एमालेको नेतृत्वमा एकल बहुमतको सरकार बनाउनु भएको उहाँको भनाइ छ । 

महासचिव पोखरेलले बिश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले २।३ कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा नेपालमा हालसम्म पनि एउटा पनि सरकारले पूर्ण कार्यकाल पुरा गर्न नपाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो । अस्थिर जनमत विकास र समृद्धिका लागि समस्या रहेको भन्दै उहाँले एमालेलाई बलियो. राजनीतिक शक्ति बनाउन अहिलेदेखि मिसन ८४ मा केन्द्रीत हुन आग्रह गर्नुभयो ।

नेकपा(एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु शान्ति ढकाल, मो.हारुन, पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष निरक गुरुङ लगायतको सहभागिता थियो ।