विसं २०८० पुस २७ गते बिहान ६ बजे पुतलीसडकस्थित पद्मोदय मावि प्राङ्गणबाट म, मेरा कक्षाका साथी र पाँच जना शिक्षकसहित शैक्षिक भ्रमणका लागि चितवनको सौराहातर्फ जाँदै थियौँ । चितवन धेरै कुराले प्रख्यात ठाउँ हो । त्यहाँको जैविक विविधताले मानिसलाई आकर्षित गर्ने गरेको छ । विज्ञानका विद्यार्थी भएर पनि होला हाम्रो सम्बन्ध जीवजन्तुसँग घनिष्ट हुन्छ । त्यसैले जैविक विविधताको अध्ययनका लागि भनेरै चितवनलाई रोज्यौँ ।
काठमाडौँबाट चितवनसम्मको दुरी १७० किलोमिटर छ । यात्राका क्रममा देखिएका हरेक दृश्यले हामी सबैको मनलाई रमणीय बनाइ रहेको थियो । नदी किनाराको राजमार्ग हुँदै अघि बढिरहेका थियौँ । करिब छ घन्टाको बस यात्रापछि हामी चितवन पुग्यौँ । चार दिनका लागि त्यहाँ गएका थियौँ । हामी चितवनको सौराहास्थित एउटा रिसोर्टमा पुग्यौँ ।
केही बेर थकाइ मारेपछि हामीले खाजा खायौँ र सौराहा बजार घुम्न निस्कियौँ । सडकका छेउछाउमा रहेको खेतबारीमा पहेँला तोरीका फूल र सँगै कल कल बगिरहेको नदीले मनलाई मुग्ध बनाएको थियो ।
एक्लै अर्को नयाँ ठाउँमा निस्किएको मेरो पहिलो अनुभव थियो । केही डर पनि थियो र उत्सुक पनि थिएँ । सौराहाका विभिन्न स्थान घुम्यौँ । सौराहाको चौबाटोमा थुपै्र सामूहिक अनि एकल फोटो खिच्यौँ । त्यहाँबाट नदी किनारामा घाम ताप्न आएका गोही देखिन्थे । घाम अस्ताउन लागेको थियो । अस्ताउँदै गरेको घामले जति नै चम्किलो र चर्को भए पनि कुनै न कुनै क्षण अस्ताउनु पर्दो रहेछ भने कुराको सन्देश दिएको थियो । राति १० बजेसम्म आगो ताप्दै गीत गाउँदै रमाइलो गर्यौँ ।
अर्को दिन बिहान सबेरै खाजा खाएर जिप सफारी गर्दै चितवन राष्ट्रिय निकुञ्ज हुँदै, बिसहजारी ताल र घडियाल गोही प्रजनन केन्द्र भ्रमणतर्फ लाग्यौँ । निकुञ्जभित्र गिरिराज, किङफिसर चरालगायत थुपै्र पशुपन्छी देख्ने मौका पाइयो । बाघ र गैँडा हेर्न ठुलो इच्छा थियो तर देख्नै पाइएन । बिसहजारी ताल र घडियाल गोही प्रजनन केन्द्रको भ्रमणपछि रिसोर्ट फर्कियौँ । खाना खायौँ र फेरि क्यानोइङका लागि निस्कियौँ । क्यानोइङ गर्र्दै वरपर थुप्रै गोही देख्यौँ । उत्सुकताका साथ अलि अलि डर मान्दै यात्रा गर्यौँ । क्यानोइङ सकिएपछि हात्ती प्रजनन तथा तालिम केन्द्रको भ्रमण गर्न गयौँ । साना छावाले ढोइलाई सताउँदै गरेको दृश्यले मलाई मेरी आमाको सम्झना दिलाइरहेको थियो ।
थारू समुदायको संस्कार र संस्कृतिसँग परिचित गराउन पुरुष तथा महिला नृत्य टोलीले साँझ पख सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने चलन रहेछ । त्यस्ता नृत्यले मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय मौलिक संस्कृतिसँग परिचय हुने अवसर पनि प्रदान गर्ने रहेछ ।
तेस्रो दिन ‘वर्ड वाचिङ’ का लागि निस्कियौँ । थुप्रै चरा देख्यौँ । मयूरका ताँती देख्न पायौँ । त्यो निकै मनोरम दृश्य थियो । चराका अनेक थरीका आवाजले मनै लोभ्यायो । साथीहरू मिलेर विभिन्न खेल पनि खेल्यौँ । त्यसै दिन वन्यजन्तु सङ्ग्रहालय भ्रमण गर्न गयौँ । चितवनको भौगोलिक विविधता र परिवेशका बारेमा शिक्षकले जानकारी दिनुभयो । गैँडाका बच्चा देख्ने मौका पनि पायौँ । हामी चढेको जिपलाई गैँडाले लखेट्यो । त्यसपछि गाउँलेहरूले गैँडालाई लखेटे । धन्न हामी बच्न सफल भयौँ । रमाइलो पनि लाग्यो, डर पनि उत्तिकै लाग्यो ।
चितवन बसाइको अन्तिम रातमा थियौँ । त्यस रात विशेष परिकारको व्यवस्था थियो । खानपिनपछि केही बेर नाचगान गर्यौँ । शिक्षकहरूलाई पनि नचायौँ । हामी सबै मिलेर खुसीसाथ रमाउँदै खुब नाच्यौँ । तेस्रो दिनको यो रात शैक्षिक भ्रमणको अविस्मरणीय क्षण बन्न पुग्यो ।
चौथो दिन सबेरै उठेर खाजा खायौँ । रिसोर्टका कर्मचारीलाई धन्यवाद दिँदै बिदा भयौँ । रिसोर्टका सञ्चालक असल स्वभावका हुनुहुन्थ्यो । रिसोर्टका कर्मचारीले गरेको सत्कार सधैँ सम्झनामा रही रहन्छ । मिठा सम्झनालाई मनको सन्दुकमा राखेर हामी अगाडि बढ्यौँ । पुनः कुनै सन्दर्भमा चितवन पुग्ने वाचा गर्दै काठमाडौँतर्फ प्रस्थान गर्यौँ ।