• १९ पुस २०८१, शुक्रबार

नेतृत्व नियाल्ने दृष्टिदर्पण

blog

नेतृत्वको परिभाषा बहुआयामिक छ । फोबर्स अनलाइनले लेखे अनुसार नेतृत्वलाई आठ सयभन्दा धेरै शैली तथा स्वरूपद्वारा परिभाषित गरिएको छ । नेपालमा पृथ्वीनारायण शाहको जन्म नभएको भए नेपालको एकीकरण परिदृश्य कस्तो र के हुन्थ्यो होला ? गम्भीर प्रश्न आउँछ । छिमेकी मुलुक भारतमा मोहनदास करमचन्द (महात्मा) गान्धीको उदय नभएको भए त्यहाँ शासन गरिरहेको ब्रिटिस साम्राज्यको अन्त्य कसरी हुन्थ्यो होला ? मार्टिन लुथर किङको आविर्भाव अमेरिकामा नहुँदो हो त आजको अमेरिका हुन्थ्यो वा हुन्नथ्यो ? जिज्ञासा रहिरहन्छ । त्यस्तै दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाको जन्म, मलेसियामा महाथिर मोहम्मदको उदय, सिङ्गापुरमा ली क्वान युको पदार्पण, चीनमा माओत्से तुङ र देङ सिआयो पिङको जन्मले ती मुलुकको प्रगतिको चर्चा र परिचर्चा अहिले भइरहेको ढङ्गले हुन सक्थ्यो ? अनेकौँ सवाल जन्मिरहन्छन् । मानवीय समाजको बृहत्तर बहुआयामिक विकास, सन्तुलन, स्थायित्व, शान्तिसहित सतत र अनवरत परिचालनका लागि विभिन्न तह र क्षेत्रमा क्रियाशील अनेकौँ नेतृत्वको योगदानले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।

मानवीय समाजलाई गति र उन्नति प्रदान गर्ने सफल र इमानदार नेतृत्वलाई नियाल्ने यस्ता दर्पण सयौँ ढाँचा र प्रकारका हुन्छन् । मूलतः नेतृत्व सेवाभावले ओतप्रोत हुनु पर्छ । मुलुक र मुलुकवासीप्रति सेवारत रहने गुण तथा चरित्रद्वारा विभूषित व्यक्ति मात्र नायकत्वमा गनिन्छ । यस्तै नेतृत्व दृष्टिकोणयुक्त रहनु पर्छ । भविष्यमा आफूले कस्तो राष्ट्र, कुन प्रकारको संस्था र मानवीय समाज निर्माण गर्न खोजेको हो, त्यसमा नेतृत्व स्पष्ट हुनु नितान्त आवश्यक छ । त्यसै गरी नेतृत्व दयावान् र करुणायुक्त गुणले भरिभराउ तथा ओतप्रोत हुनु पर्छ । स्वभावमा कठोर र निर्दयी व्यक्ति नेता बन्नै सक्दैन र नेतृत्वग्राही हुनै सक्दैन । नायकत्व हेर्ने अर्को दर्पण भनेको उसमा रहने भयरहित मनोभाव पनि हो । विपरीत परिस्थितिसँग डटेर मुकाबला गर्न सक्ने दृढ क्षमतावान् व्यक्ति नै भविष्यमा नायक ठहर्छ । नेतृत्व अनवरत जिज्ञासु र कल्पनाशील रहनु पर्छ । नेतृत्व चियाउने अनेकौँ झ्याल हुन्छन् र यिनै हेर्ने झ्यालहरूद्वारा उनीहरूको मू्ल्याङ्कन र लेखाजोखा हुन्छ  ।

हरेक क्षेत्रमा रूपान्तरणका निमित्त अभिप्रेरित गर्ने, अभिवृद्धिमा सहयोगी हुने र सफलताको दियो बाल्ने गुण नै प्रभावकारी नायकत्व हो । नेतृत्वले जुनसुकै क्षेत्रमा सर्वोच्चता प्राप्त गर्न मापदण्ड निर्धारण गर्छ र सोको हासिलका लागि सम्बद्ध सरोकारवालालाई अभिप्रेरित गर्दछ । नेतृत्वले अभिवृद्धिको बीजारोपणद्वारा आफू बितेर गए पनि कालान्तरसम्म फुलिरहने र फलिरहने परिवेश निर्माण गर्छ । कुनै पनि तह र क्षेत्रको नायकले यात्राको हुकुम जारी गर्दैन तर अरूलाई आफ्नो मार्ग पत्ता लगाउन उत्प्रेरित भने अवश्य गर्छ । नायकत्व भनेको सकारात्मक परिवर्तनको लहर सिर्जना गर्नु र अनन्त सम्भावनाको खोजी गर्नु हो । एउटा वास्तविक लिडरले सपनालाई योजनामा बदल्छ र यस्ता योजनालाई प्राप्तिमा परिणत गरिदिन्छ । नेतृत्वले आशङ्काको परिवेशमा पनि विश्वास दिलाएर आफ्ना अनुगामीलाई उत्प्रेरित गरिरहेको हुन्छ । परिवेशको मू्ल्याङ्कन कसरी हुन्छ भन्ने महान् नेताले सम्भावना देख्छ तर अरूले अवरोध र विपरीत धार मात्र प्रस्तुत गर्दछन् । नेतृत्वले आफ्ना शिष्यका लागि आफ्नै सफलताको कथा रच्नका निमित्त साधनको जोहो गर्छ । आफ्ना कति अनुगामीले सफलता हासिल गरे, त्यसैका आधारमा नेतृत्वको ल्याकत र तागतको मापन हुन्छ । आफैँ उभिन नसक्नेका लागि शिखरित भएर रहनु नेतृत्व प्रदान गर्नु हो । महान् नेताले प्रेरणाको पदचिह्न छोड्दै अरूलाई आफ्नै गोरेटो निर्माण गर्नमा बाटो देखाइरहेको हुन्छ । नेतृत्व भनेको आफू मात्र चिनिनु र परिचित हुनु होइन, यो त अरूलाई चम्किन तुल्याउने बाटोमा ज्योति प्रज्वलन गर्नु हो । एउटा महान् नेताले असफलतालाई सिकाइमा परिणत गर्छ र चुनौतीलाई अवसरमा रूपान्तरण गर्दछ । अनेकौँ विशाल सन्देहको जालोमा पनि विश्वास दिलाउन अभिप्रेरित गर्न सक्ने अर्थमा समेत नेतृत्वलाई लिन सकिन्छ ।

अरूलाई सेवा प्रदान गर्दै उनीहरूको वृत्तिविकासमा हाँक प्रदान गर्नु पनि वास्तविक नेतृत्वको असल चरित्र हो । एउटा महान् नेताले भविष्यका पदमार्ग स्पष्ट गर्दै सो बाटोमा अरूलाई वीरतापूर्वक हिँड्न सशक्तीकरण गर्छ । साहस र कर्मलाई एकाकार गर्दै संसारलाई के सम्भावना छ भनेर प्रदर्शन गर्नु पनि नेतृत्वको सद्‌गुणभित्र पर्दछ । आफ्ना अनुगामीमा महान् सम्भावना छ भनेर उनीहरूलाई अभिप्रेरित गर्नु नेतृत्वको अनेकौँ उद्देश्यमध्ये एउटा प्रमुख उद्देश्य रहन्छ । नियन्त्रणद्वारा होइन, एउटा टिममा रहेको सबल ऊर्जाको प्रकटीकरण गर्नु नेतृत्वको प्रभावकारी कला हो । वास्तविक नेतृत्वले पछुवाको अपेक्षा र खोजी गर्दैन, भविष्यका नेतृत्व निर्माण गर्दछ । एउटा सफल नेतृत्वले सर्वसाधारणलाई असाधारण प्राप्तिकर्ताको तहमा लैजान्छ । एउटा महान् नेताले अत्यन्त निराशाजनक परिवेशमा पनि सफलता खोज्न र पाउन अरूका लागि प्रकाश प्रस्फुटन गर्दछ । सम्भावनाको सिर्जना र असम्भवबाट प्राप्तिका लागि आफ्ना समर्थकलाई सशक्तीकरण गर्नु नेतृत्वको प्रमुख ध्येय रहन्छ ।

सच्चा नेतृत्वले आदेशमार्फत होइन, आफ्नो स्पष्ट दृष्टिकोणद्वारा कार्यसम्पादन गरेर अरूलाई प्रेरित गर्दछ । आफ्नै महानताको प्रस्फुटन गर्दै आफ्ना समर्थकको सम्भावनातर्फ उनीहरूलाई पथप्रदर्शन गर्नु असल नेतृत्वको कला हो । अरूका लागि पथ निर्माण गर्न साहसी हुनु र त्यस्तो पथमा जीवन्त रहने तुल्याउने बौद्धिक हुनु पनि नेतृत्व गुण नै हो । नायकत्व भनेको रूपान्तरणलाई अभिप्रेरित गर्नु हो, सकारात्मक अभिवृद्धिलाई टेवा प्रदान गर्नु हो र नेतृत्व जहाँ रहन्छ, त्यहाँ सफलतालाई ज्वलन्त तुल्याउनु हो । वास्तविक नेतृत्वको सिर्जना सुविधाजनक परिवेशमा हुन्न, बेथिति र अप्ठ्यारोमा हुन्छ, जसले सहनशीलताको मार्ग भएर आफ्नो दिशा निर्धारण गर्छ । अरूको आफैँमा निहित शक्तिको खोजीका लागि उनीहरूलाई सशक्तीकरण गर्ने कुरामा सफल नेतृत्वको तागत प्रयोग भइरहेको हुन्छ । 

आशङ्काको समयमा आत्मविश्वास र अनिश्चितको घडीमा आशा प्रदान गर्नु नेतृत्वको चरित्र हो । ठुलो सपना देख्न, कडा परिश्रमी बन्न र अझ बढी प्रगति गर्न नेतृत्वले अविराम अभिप्रेरित गरिरहनु पर्छ । जब कसैले आफ्नो गन्तव्यलाई नियन्त्रणमा राखी कहिलै परित्याग गर्दैन तब सफलता आरम्भ हुन्छ । यस्तो सामथ्र्य एउटा सही अगुवामा रहन्छ । नायकत्व भनेको यस्तो सबल दृष्टिकोण निर्माण गर्नु हो ताकि अरूले अनवरत अविराम यस्तो दृष्टिकोणको अनुगामी रहन सकून् । सबल नेतृत्वलाई के थाहा हुन्छ भने सफलता कहिलै एकपक्षीय हुन्न, यस्तो सफलता अरूका निमित्त उनीहरू सँगसँगै निर्माण भएको हुन्छ ।

सफलता त्यसको पछि लाग्छ, जसले बृहत्तर सपना देख्छ, कठिन परिश्रम गर्छ र कहिल्यै परित्यक्त गर्दैन । यो चरित्र र गुण एउटा असल नेतामा हुन्छ । नेतृत्वले नै भयलाई एकाग्रतामा र आशङ्कालाई दृढ विश्वासमा रूपान्तरण गर्दछ । नेतृत्वको जिम्मेवारी सपना देखेर योजना मात्र तर्जुमा गर्ने होइन, जनसमुदायलाई पनि अभिप्रेरित गर्दै सफलताको सिर्जना गर्न सक्ने तुल्याउनु पनि हो । आफ्ना समर्थकमा रहेको सीमितता पार गर्ने गरी उनीहरूलाई अभिप्रेरित गर्ने नेतृत्वको असल चरित्र र व्यवहारले नै नायकत्वलाई उच्चकोटिमा राखेको हुन्छ । नायकत्व भनेको कुनै प्रणाली होइन, यो अविच्छिन्न रहने गरी प्रभाव सिर्जना गर्ने विषय हो । नेतृत्व भनेको दृष्टिकोणद्वारा अगुवाइ गर्नु हो, उच्च मनोकाङ्क्षासाथ सङ्घर्ष गर्नु हो र साथसाथै भावी पुस्तालाई अभिप्रेरित गर्ने गरी एउटा विरासत सुम्पिएर जानु पनि हो ।

एउटा सही नेताले आफ्ना समर्थकले पुग्नै नसकिने असम्भव ठानेको सफलताको शिखरमा पुर्‍याउनका लागि उनीहरूलाई अभिप्रेरित गरिरहेको हुन्छ । सच्चा नेताले सम्भावना र अवसरको सिर्जना गर्छ, यस्तो यस्तो अवसर आउला कि भनेर कुरेर कहिल्यै पर्खिन्न । एउटा सच्चा नेता कहिल्यै शक्ति पुजारी र शक्ति आसक्तिको भोको हुन्न बरू उसले जजसको नेतृत्व गरेर हिँडेको हुन्छ, उनीहरूमा कार्य आसक्ति र लगावको दीप प्रज्वलन गरेर अनवरत अगाडि बढिरहेको हुन्छ । नायकत्वको नायकीपन उसको प्रतिफलमा झल्किन्छ । यस्ता प्रतिफल समूहको लक्ष्यतिर निर्देशित, समूहको समन्वयमा सञ्चालित र सामूहिक प्रतिबद्धताद्वारा ओतप्रोत हुन्छन् । नेतृत्वले अनवरत पथप्रदर्शन गरी मेन्टरसिप गरिरहेको हुन्छ, अनुकूल अवसरको सिर्जनाद्वारा प्रायोजकको भूमिका प्रदान गरिरहेको हुन्छ र कलाकौशल तथा सिप हस्तान्तरणद्वारा समर्थकलाई दक्षता र सिपले भरिपूर्ण बनाइरहेको हुन्छ ।

प्रभावकारी नेतृत्व व्यवस्थापकीय भूमिका, व्यक्तिगत गुण र स्वभाव, पदीय सोपान वा पदीय विशेषाधिकारका आयाममा मात्र सीमित रहन्न । बरू राम्रो नायकले विषयविज्ञको सामथ्र्य, विश्वास र विश्वसनीयता, आधिकारिकता एवं समूह निर्माणको पक्ष अङ्गीकार गर्दै नेतृत्व प्रदान गरिरहेको हुन्छ । कुनै पनि प्रकारको विपरीत प्रभाव, नकारात्मक धाराका अनेकौँ दबाब र जीवनले भोगेको धेरै अभावबाट कत्ति पनि विचलित नबनी साझा लक्ष्यको प्रभावकारी र दक्षतापूर्वक प्राप्तिका लागि समर्थकलाई अनवरत प्रेरणा, सकारात्मक प्रभाव र विशाल विरासतको अभिभारा सुम्पिएर जाने नेतृत्व नै आजको युगको महान् र गौरवशाली नेतृत्व हो ।

समाजका प्रत्येक तह र तप्कामा नेतृत्वको महत्वपूर्ण भूमिका हुन्छ । निजी क्षेत्र होस् वा सार्वजनिक, राजनीतिक वा सामाजिक, प्रशासनिक वा गैरप्रशासनिक सबै क्षेत्रमा नेतृत्वको अहम् भूमिका हुन्छ । हाम्रो सन्दर्भमा विषय उठान गरी समकालीन विश्व परिवेशमा तुलनात्मक रूपमा हेर्दा हाम्रो समाज व्यवस्थित, विकसित र आधुनिक बन्न नसकेको, विकासका आयामले लक्ष्य अनुसार गति र प्रगति लिन नसकेको, समाजमा द्वन्द्वको अत्यन्त न्यूनीकरण हुन पुगी समाजमा स्थायित्व कायम हुन नसकेको, सुशासनयुक्त, सेवाभावले ओतप्रोत रहँदै जिम्मेवारी र उत्तरदायित्वका साथ सार्वजनिक सेवाको प्रभावकारी र दक्षतापूर्वक डेलिभरी हुन नसकेको परिप्रेक्ष्यमा मूल्याङ्कन गर्दा कतै हाम्रा तत् तत् क्षेत्रमा क्रियाशील रहेका नेतृत्वको त प्रमुख भूमिका छैन ? एउटा गम्भीर जिज्ञासा स्वाभाविक रूपमा उठ्छ । परिपक्व, स्थायी, विकसित, आधुनिक र सभ्य समाज बसेको नेपाल निर्माणका खातिर सबै तह र क्षेत्रका नेतृत्वको उल्लेखनीय कार्य र भूमिका हुन्छ तथा अत्यन्त ठुलो जिम्मेवारी रहन्छ । नेतृत्व विकासका प्रभावकारी आयामको खोजी र विकास गरी सबल नेतृत्व स्थापित गर्ने अवसर सिर्जना गर्नै पर्छ । मानवीय समाजको सतत र व्यवस्थित सञ्चालनका लागि मियोका रूपमा रहने नेतृत्वको उपस्थिति अनिवार्य रहन्छ ।

Author

यज्ञनाथ दाहाल