• ८ वैशाख २०८२, सोमबार

ब्युटी फेयरको उपाधि रानालाई

blog

उपाधि विजेता ममता रानालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिँदै ।

छविलाल पाण्डे 

बुटवल, पुस १५ गते । बुटवलमा भइरहेको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको ब्युटी फेयर २०८१ को उपाधि इरुम ब्युटीपार्लरकी ममता रानाले हात पार्नुभएको छ । उत्कृष्ट १२ मेकअप आर्टिस्ट बिच भएको ग्रान्ड फिनालेमा इरुमकी रानाले उपाधिसँगै २० हजार पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो । 

प्रतियोगितामा फस्र्ट रनरअप सेजल ब्युटी होमकी सेजल प्रधान र सेकेन्ड रनरअप सफल लुमी ब्युटी होमकी दिपु शाहीले प्राप्त गर्नुभयो । उहाँहरूलाई क्रमशः १० हजार र ५ हजार रुपियाँ नगद पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको प्रतियोगिताकी संयोजक तथा मेला कार्यसम्पादन समितिकी सदस्य रेनु श्रेष्ठले बताउनुभयो । 

प्रतियोगितामा मेकअप आर्टिस्टहरू श्रेया केसी, फेसन डिजाइनर अनुपा श्रेष्ठ र सामाजिक अभियन्ता कल्पना शिवाकोटी जुरी मेम्बरको भूमिका रहनुभएको थियो । 

तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको ब्युटी फेयर २०८१ मा निःशुल्क परामर्श, महिला उद्यमीलाई प्रवद्र्धन, हस्तकलाका सामग्रीहरू बिक्री लगायतका स्टलहरू राखिएको ब्युटी फेयर संयोजक श्रेष्ठले जानकारी गराउनुभयो । 

बुटवल उद्योग वाणिज्य सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेलामा काठमाडौं उपत्यका बाहिर पहिलो पटक ब्युटी फेयर गरिएको हो । 

महिला उद्यमशीलताको विकासका लागि गरिएको ब्युटी फेयरमा सौन्दर्य कलामा लागेका महिलाहरूका उद्यम तथा अन्य महिला उद्यमीहरूलाई समेत जोडेर १६ वटा स्टल राखिएको छ । त्यस्तै स्किन केयर, हेयर केयर र सौन्दर्यसँग सम्बन्धित विषयमा सेवासँगै विषयविज्ञद्वारा परामर्श, छाला, कपाल तथा नङ श्रीङ्गार तथा सजावटमा प्रयोग गरिने राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू बिक्रीका लागि राखिएको छ ।