• १७ पुस २०८१, बुधबार

तोरी खेतीतर्फ आकर्षित किसान

blog

कैलालीको भर्रीसहित विभिन्न गाउँमा गरिएको तोरी खेती । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, पुस १४ गते ।
कैलालीका किसान तोरी खेतीतिर आकर्षित भएका छन् । गहुँ, मसुरो जस्ता हिउँदे बालीलाई छाडा चौपायाले बढी नोक्सान गर्ने गरेका कारण किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुका अनुसार छाडा चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गर्दछन् ।

छाडा चौपायाबाट आजित भएपछि किसानको ध्यान तोरी खेतीतिर गएको कैलारी गाउँपालिका–३ लालपुरका कृषक गुरीलाल चौधरीले बताउनुभयो । उहाँले किसानले गहुँ, मसुरो खेती घटाएर तोरी खेती बढाएको उल्लेख गर्नुभयो ।

कैलालीमा छाडा पशुचौपायाकाे समस्या विकराल छ । चौपायाले गहुँ, मसुरो जस्ता हिउँदे बाली अत्यधिक नोक्सान गर्ने गरेकाले किसानको ध्यान तोरी खेतीमा गएको छ । तोरी खेती र थोरथोरै रहेको गहुँ जोगाउनका लागि उनीहरु रातभरि खेतमा गस्ती गर्नुका साथै जाग्राम बस्ने गरेका छन् । चौपाया धपाउनका लागि उनीहरु झुप्रो बनाएर खेतमै बस्ने गरेका छन् ।


कैलारी गाउँपालिकामा यसवर्ष अत्यधिक खेतमा किसानले तोरी खेती गरेको कृषि शाखा प्रमुख मैँया चौधरीले बताउनुभयो । “वडा नम्बर ४ त तोरी ब्लक जस्तै देखिन्छ”, उहाँले भन्नुभयो, “तर पालिकाको अनुदान छैन । किसान आफैंले तोरी खेती बढाएका हुन ।” छाडा चौपायाबाट पीडित किसानले तोरी खेती बढी गर्न थालेको उहाँको भनाइ छ ।

गहुँ छोडेर किसान तोरी खेतीमा आकर्षित भएपछि कैलारीको विभिन्न गाउँका खेत अहिले पहेँलपुर बनेको छ । खेतैभरि तोरी फुलेको दृश्य लोभलाग्दो देखिने गरेको छ ।