• १६ पुस २०८१, मङ्गलबार

पर्यटक लोभ्याउने स्तम्भ

blog

भाइबहिनीहरू, मङ्सिरमा शैक्षिक भ्रमणका लागि पूर्वी नेपाल आउने योजना बनाउँदै हुनुहुन्छ भने चिया बगानका लागि इलाम प्रसिद्ध छ । इलाम आउँदा धनकुटा पनि आउनुहोला है ? यहाँ चौबाटोमा फलफूल, तरकारी आदिका सिमेन्टबाट बनाइएका थुप्रै स्तम्भ देख्न पाइने छ । 

काउली बढी उत्पादन हुने ठाउँमा काउलीको, सुन्तला बढी उत्पादन हुने ठाउँमा सुन्तलाको, एभोकाडो बढी उत्पादन हुने ठाउँमा एभोकाडोको स्तम्भ बनाइएका छन् । पर्यटकलाई आकर्षित गर्न पनि यस्ता स्तम्भ बनाउने गरिएको छ ।  

धनकुटाको सहिदभूमि गाउँपालिकाले पिप्लेबजारमा सुन्तलाको स्तम्भ निर्माण गरेको छ । स्वादिलो र रसिलो सुन्तलाका लागि यो ठाउँ निकै चर्चित छ । अहिले पनि यहाँ दुई सय वर्ष पुराना सुन्तलाको बोट देख्न पाइन्छ । धनकुटाकै छथर जोरपाटी गाउँपालिका–६, सिधुवाबजारमा काउलीको स्तम्भ निर्माण गरिएको छ । यस ठाउँमा आइपुग्नेले काउलीको स्तम्भ देखिने गरी मोबाइल फोनबाट सेल्फी खिच्ने गरेका छन् । हात्तीखर्क भन्ने स्थानको नामसँग मिल्ने गरी हात्तीको स्तम्भ निर्माण गरिएको छ ।

धनकुटामा एभोकाडो धेरै फलाइन्छ । त्यसैले धनकुटा नगरपालिकाले पालिका क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरेको छ । नगरपालिका–७ मा एभोकाडोको स्तम्भ निर्माण गरिएको छ । धनकुटा नगरपालिका–३ मा कागतीको स्तम्भ निर्माण गरिएको छ । सो स्थानको नाम कागते हो । 

धनकुटा नगरपालिक–२, भिरगाँउमा गाँजरको स्तम्भ निर्माण गरिएको छ । यो क्षेत्रमा गाँजर खेती बढी हुने गरेको छ । यसै नगरपालिका–१, हिलेमा तोङ्वाको स्तम्भ निर्माण गरिएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका–७, जितपुर बजारमा रुद्राक्षको स्तम्भ निर्माण गरिएको छ । महालक्ष्मीकै वडा नम्बर ८ मा गाई दुहँुदै गरेको स्तम्भ निर्माण गरिएको छ । जितपुरमा रुद्राक्ष निकै उत्पादन हुन्छ भने वडा नं. ७ मा पशुपालनको अवस्था राम्रो छ ।

लिम्बू समुदायको बसोबास बढी भएको चौबिसे गाउँपालिकाको राजारानीमा च्याब्रुङको स्तम्भ राखिएको छ । च्याब्रुङ लिम्बू समुदायको प्रमुख बाजा हो । चौबिसे गाउँपालिका–७, बुधुकमा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । साँगुरीगढीको चाँदी बजारमा चिन्डोको स्तम्भ निर्माण गरिएको छ । साँगुरीगढीकै सदामटारमा बाख्राको स्तम्भ निर्माण गरिएको छ । पर्यटकीय स्थल भेडेटारमा भेडाको स्तम्भ निर्माण गरिएको छ । 

धनकुटासँग जोडिएको जिल्ला तेह्रथुमको वसन्तपुरमा गुराँसको स्तम्भ निर्माण गरिएको छ । गुराँसको राजधानी भनी तिनजुरे मिल्के जलजले क्षेत्रलाई भनिन्छ । त्यहाँ जानका लागि वसन्तपुर प्रवेशद्वार हो । तेह्रथुमकै लसुनेमा लसुनको स्तम्भ निर्माण गरिएको छ । तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा बिरालोको स्तम्भ निर्माण गरिएको छ । लिम्बू भाषामा म्याउ भनेको बिरालो र लुङ भनेको ढुङ्गा हो । सङ्खुवासभाको मुढेमा चिमलको स्तम्भ निर्माण गरिएको छ । यो क्षेत्रमा चिमलको जङ्गल बढी पाइन्छ । करुवाका लागि प्रख्यात मानिएको सङ्खुवासभाको चैनपुरमा करुवाको स्तम्भ निर्माण गरिएको छ ।   

 मुना

Author

कविराज घिमिरे