सहकारी र कृषि एकअर्काका परिपूरक पनि हुन् र यिनी अन्तरसम्बन्धित पनि छन् । सहकारी संस्थानको स्वरूप किसानको बिचमा रहेको व्यावसायिक सङ्गठन हो । जसको स्वामित्व र नियन्त्रण किसानले (ग्राहक) स्वयम्ले गर्छन् । सङ्गठनको सञ्चालन सदस्यकै आवश्यकता र इच्छा प्रिपूर्तिका लागि गरिएको हुन्छ । सहकारी एउटा कानुनी संरचना पनि हो, जसको स्वामित्व तथा नियन्त्रण त्यसका सदस्यको समान अधिकार रहेको हुन्छ । सिद्धान्ततः यसले स्वेच्छिक तथा खुला सदस्यता, सदस्यको प्रजातान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्त र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीबिच सहकार्य हो भने यसले आफ्ना मूल्यमान्यता पनि कायम राखेको छ, जस्तैः स्वसहयोग, स्वउत्तरदायी, प्रजातन्त्र, समानता, समता, ऐक्यबद्धता, अरूको हेरविचार, सामाजिक उत्तरदायित्व, खुलापन, इमानदारी आदि हुन् । राष्ट्र सङ्घका पूर्वमहासचिव वान की मुनले सहकारीप्रति आफ्नो दृष्टिकोण यसरी अभिव्यक्त गर्नुभएको छ, “आर्थिक सम्भाव्यता र सामाजिक उत्तरदायित्व दुवै एकै पटक प्राप्त गर्न सकिन्छ भन्ने अन्तर्राष्ट्रिय समुदायलाई बुझाउने काम सहकारीले गरेको छ ।” उहाँको यो भनाइले पनि सहकारी आर्थिक, सामाजिक, सांस्कृतिक उत्थान र रूपान्तरणका लागि सहकार्य गर्दा आफ्नो समुदायको हित र उत्थान सहकारी संस्थाको माध्यमबाट हुन सक्छ भन्ने विषयमा ढुक्क रहन सकिन्छ । समान हैसियत भएका मानिस समान समस्या र चुनौतीको सामना गर्दै सहकारी आन्दोलनका मार्फत सफल भएको सहकारी आन्दोलन इतिहासले देखाएको छ ।
सहकारीको जन्म गाउँमा छरिएर रहेका किसानलाई माध्यम बनाएर २१ डिसेम्बर १८४४ मा बेलायतमा मेन्चेस्टर सहर र रोचडोल गाउँमा किसानको बिचमा स्थापित गर्ने र सहकारी नाम ‘रोचडेल इक्विटेबल पाएनिचर’ को नामबाट स्थापित भएको थियो । नेपालमा सहकारीको औपचारिक रूप राणाकालदेखि नै पाइन्छ । हाम्रो समाजका केही वर्ग र सम्प्रदाय विशेषले गुठी, धर्म भकारी, माङ्काखाल, पर्म र ढुकुटी जस्ता संस्था एकअर्कालाई सहयोग गर्ने मुख्यतः किसान समुदायबिच सञ्चालित थिए । अहिले पनि नेपाली समाजमा कुनै न कुनै नामबाट यस्ता संस्था सक्रिय भएको पाइन्छ । २०१० सालमा योजना तथा विकास मन्त्रालय अन्तर्गत सहकारी विभागको स्थापना भएको थियो । सहकारीको उद्देश्य समाजमा छरिएर रहेको पुँजी, सिप, दक्षता, क्षमता, साहसलाई एकीकृत गरी किसानको हित र समाजको हितमा परिचालन गर्ने थियो । चीनको गणतन्त्रपछि त्यहाँको सहकारीको माध्यमबाट कृषिले फड्को मारेको उदाहरण छ । केही प्रतिनिधिमूलक उदाहरण हेरौँ– २००७ देखि विश्वले बेहोरिरहेको आर्थिक तथा वित्तीय सङ्कटले पनि सहकारी क्षेत्रलाई प्रतिकूल असर पार्नुको साटो सहकारी विधिबाट सञ्चालित उद्योग व्यवसायको सूचकाङ्क उत्साहप्रद रहनुले पनि यस क्षेत्रको महत्वको पुष्टि भएको छ ।
१९ औँ शताब्दीको औद्योगिक क्रान्तिले सिर्जना गरेको श्रम क्षेत्रका समस्या १९ औँ शताब्दीको मध्यतिर कृषिमा आएको मन्दी र युरोपका ग्रामीण तथा सहरका गरिबी जनताको पीडा, १९३० को महान आर्थिक मन्दी र हालैका वर्षमा विश्वले सामना गरिरहेको वित्तीय तथा आर्थिक सङ्कटमा सहकारी विधिबाट व्यवसाय बढी प्रभावकारी दिगो र जनमैत्री भएको छ । सहकारीको अर्थ सह र कार्य मिलेर बनाइएको हो, यसमा सह शब्दको अर्थसँगै र कार्य शब्द काम हुन्छ । अङ्ग्रेजीमा ‘कोअपरेटिभ’ भनिन्छ । यसले के देखाउँछ भने एकआपसमा मिलेर काम गर्नु हो । आर्थिक एवं सामाजिक रूपमा समान आवश्यकता भएका व्यक्ति एकआपसमा सङ्गठित भएर सामूहिक रूपमा वस्तु तथा सेवाको व्यवसाय गर्न सहकारिताको माध्यम अवलम्बन गरेको पाइन्छ । नेपालमा २० हजारभन्दा बढी सहकारी छन् तर केही मात्रामा उत्पादनसित जोडिएका छन् । बाँकी रकम सङ्कलन गर्ने र ब्याजमा वितरण गर्ने विकृतिको रूपमा पनि देखा परेका छन् । यिनको नियन्त्रण आवश्यक छ ।
सहकारी र उत्पादन
सहकारी नेपाली भूमिमा अभ्यास सामाजिक परम्परामा सीमित रहन गई लामो समयसम्म व्यावसायिक विधिको रूपमा प्रयोग हुन सकेन । हाम्रो जस्तो कृषि प्रधान देश भए पनि (घरेलु उद्योग समेत) उत्पादनका साधन असाध्यै सानो टुक्रामा बाँडिएको र प्रत्येक किसान र श्रमिकले उही काम दोहो¥याएर गर्नुपर्ने भएकाले हाम्रो श्रम र साधनको उचित उपयोग हुन सकिरहेको छैन । हामी आर्थिक हिसाबले असाध्यै गरिब र पिछडिएका छौँ । त्यसैले उत्पादनशक्तिको विकासका निम्ति सबैले एक्लाएक्लै उत्पादन गर्नुभन्दा आपसमा मिलेर उत्पादन गर्नु बढी फाइदाजनक र उपयोगी हुने हुँदा सहकारीको थालनी गरिएको हो । मानिसहरू बिचमा छरिएर रहेको पुँजी, श्रम, सिप, क्षमता र बुद्धिलाई आपसी सहयोगबाट सम्बन्ध बनाएर प्राकृतिक उत्पादन प्रणालीलाई व्यवस्थापन गर्ने उद्देश्य हो । तैपनि सामान्य अर्थमा बुझ्ने सहकारी भनेको पुँजीवाद र समाजवादबिचको सङ्क्रमणकालीन श्रम, श्रम सम्बन्ध वा उत्पादन सम्बन्ध हो । त्यसैले सहकारी भन्ने बित्तिकै समाजवादी प्रणाली ठान्नु गलत हुन्छ ।
अहिलेको समाजमा आआफ्ना अलग अलग स्वामित्व कायम राखेर श्रमको आदानप्रदान गरी सामूहिक श्रम गरिन्छ । बढी भएको श्रमको ज्याला तिरिन्छ, तर उत्पादनको प्रतिफल भने जसको साधन वा पुँजी जति लगानी छ, त्यहीँ अनुसार हस्तान्तरण गरिन्छ । त्यसैले यो सारतः समाजवाद उन्मुख पुँजीवाद नै हो र उत्पादकत्व शक्तिको यथेष्ठ मात्रामा विकास नभएसम्म सहकारिताको यो रूप नै अपनाउनु पर्ने छ । भोलि विकासको क्रममा व्यक्तिगत स्वामित्वलाई पनि सामूहिकीकरण गर्नुपर्ने हुन्छ र त्यो समाजवादतिर सङ्क्रमणको अझै उच्चारण हुने छ ।
सहकारीका प्रकार
सहकारीका विविध प्रकारका हुन सक्छन् तर मुख्यतः तीन प्रकारका सहकारी हाम्रो सन्दर्भमा आवश्यक देखिन्छ । तिनीहरू हुन् उत्पादन, सहकारी, उपभोक्ता, वित्तीय सहकारी (बचत तथा ऋण परिचालन) अन्य सहकारी पेसाका रूपमा जातिको रूपमा भए पनि यसैका हाँगाबिँगा हुन् । प्रथमतः उत्पादन सहकारी भनेको कृषि र गैरकृषि (अथवा उद्योगबाट उत्पादन) हुन सक्छ । प्रारम्भिक रूपमा उत्पादन सहकारीका रूपहरू ‘आपसी सहयोग समूह’ का ‘श्रम विनिमय टोली’ (अथवा पर्दादल) आदि हुन् सक्छन् । किनभने वास्तविक अर्थको सहकारी प्रणालीको स्वामित्व आआफ्नै कायम भए पनि उत्पादनका साधन जमिन, पुँजी, श्रम, औजार आदि एकै ठाउँ जोडेर सामूहिक काम प्रयोग गरिन्छ । यसले अलि उच्च स्तरको व्यवस्थापन र चेतनाको माग हुँदा सुरुको चरणमा खेतीपाती, पशुपालन, साना उद्योग आदि सञ्चालन गर्न एकअर्कालाई सहयोग गर्ने ‘सहयोग समूह’ नै हो । यसरी श्रम साधन र पुँजीलाई आदानप्रदान गरेर उत्पादन गर्न सकिन्छ । जस्तै सिकर्मी, डकर्मी, फलफूल, तरकारी खेती गर्ने समूह, सिलाइ, कटाइ गर्ने महिला समूह आदि पर्छन् । पहिलो, एक्लाएक्लै श्रम गर्नुभन्दा मिलेर श्रम गर्दा क्षमता बढ्ने, श्रमको बचत हुने, कुनै विपत्ति पर्दा काम नरोकिने आदिलाई सहकारीमा बुझ्न र रूपान्तरण गर्न सकिन्छ ।
दोस्रो, टोल बस्तीमा आवश्यकपर्ने वस्तु (नुन, तेल, चिनी, दाल, मसाला) सुलभ आपूर्ति गर्ने स्थानीय रूपमा उत्पादित वस्तु खाद्यान्न फलफूल तरकारी उचित मूल्यमा विक्री गर्ने बिचौलियाको अन्त्य गर्ने पद्धतिलाई उपभोक्ता सहकारी भन्न सकिन्छ । तेस्रो सहकारीका सदस्यबाट बचत रूपमा सङ्कलन भएको रकम किसानलाई आवश्यक कर्जाको व्यवस्थापन गर्ने, स्थानीय पुँजीलाई बचत तथा ऋणबाट परिचालन गर्ने र साना घरेलु तथा मझौला उद्योगमा लगानी गर्ने, आफ्नो इलाकालाई आत्मनिर्भर बनाउने नै (ऋण तथा बचत) वित्तीय सहकारी भन्न सकिन्छ । यिनी तीन वटै सहकारी उत्पादन गर्ने, उपभोक्तामा वितरण गर्ने, उत्पादन गर्नका लागि ऋण उपलब्ध गराउने हुँदा एकअर्कासित उत्पादन प्रणालीसित सम्बन्धित छ ।
सहकारी न्यून आय हुने गरिब जनताको बिचमा आपसी मित्रता घनिष्टता र सौहाद्रता कायम गर्दै सामाजिक आर्थिक सुरक्षाको प्रत्याभूति गर्छ । आफ्ना सदस्यलाई सुलभ मूल्यमा गुणस्तरीय वस्तुहरूको उपलब्धि गराउन मद्दत गर्नु, आफ्नो वस्तुको बजार स्थापना गर्नु, बिचौलियाबाट हुने शोषणको अन्त्य गरी न्यायपूर्ण र समतामूलक तथा स्वावलम्बी समाजको निर्माण गर्न यसले सहयोग गर्छ ।
नेपालमा सहकारीको सिद्धान्त र व्यवहारबिचको दुरीले सहकारीको भूमिका पर्याप्त मिलेको छैन । स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने उत्पादन र उत्पादकत्वको वृद्धि, रोजगारी सिर्जना, उत्पादन वस्तुको बजार व्यवस्थापन अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमार्फत रूपान्तरण, उत्पादनमा लगानी र प्रविधिको पहुँच वृद्धि गर्न सहकारीको संस्थागत विकास, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन पनि शुद्धीकरणको नीति अवलम्बन गर्न जरुरी छ । हामीले क्षेत्रगत रूपमा उत्पादनमुखी सहकारीको वर्गीकरण गरी व्यापक व्यवसायी बनाएर सहकारीको पुँजीको आधारमा संस्थागत गर्नु पर्छ । सहकारीको डिजिटल रिकर्ड राख्ने र कारोबार व्याख्या गरी यसलाई नेपाल राष्ट्र बैङ्क मौद्रिक नीति अन्तर्गत सामूहिक रूपमा साना साना रकमको परिचालनबाट उत्पादनमा जोड्ने नीति निर्माण गर्ने सहकारी अनुगमन, व्यवस्थापन सञ्चालन र सहयोग गर्न आवश्यक छ ।
सहकारीलाई प्रभावकारी संस्थाको रूपमा विकास गर्नको स्थानीय, प्रदेश र सङ्घीय सरकारले कृषि र सहकारी नीतिमा पुनरावलोकन गर्न आवश्यक देखिन्छ । सहकारी सामाजिक एकीकरण गर्ने व्यवसायसित जोड्ने माध्यम हो । आर्थिक क्रियाकलापमा गरिने यस्तो सहकार्यको संस्कृतिले समाजमा रहेको सामाजिक, आर्थिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै लैजाने सामथ्र्य राख्छ । दोस्रो विश्वयुद्ध पछि युरोपको समाजमा रहेको द्वन्द्व न्यूनीकरण गर्दै समाजलाई जोड्ने काम सहकारीले पुर्याएको योगदान सबैले अनुभूति र अध्ययनबाट सामाजिक एकीकरणमा योगदान पुगेको प्रशस्त उदाहरण भेटिन्छन् । लैङ्गिक, जातीय, वर्गीय, धार्मिक तथा अन्य कुनै पनि आधारमा हुने विभेदलाई सामाजिक सद्भावसहित अन्त्य गर्ने क्षमता सहकारीको विकास र विस्तारले सम्भव छ ।