• २१ चैत २०८१, बिहिबार

विकासका लागि उत्तरदायी नेतृत्व

blog

नेपालमा युवापुस्ताले राजनीतिलाई राम्रो मान्दैनन् । उनीहरू पुरानै उखान दोहोर्‍याउन चाहन्छन्–‘पोलिटिक्स इज डर्टी गेम ।’ यस्ता मान्यताले राजनीति कर्ममाथि ठुलो अन्याय गरेको छ । खासमा पोलिटिक्स डर्टी हुनै सक्दैन, यसलाई त डर्टी बनाइएको हो । युवाले राजनीतिलाई फोहोरी खेल भनेर यसबाट भाग्न सक्दैनन् । उनीहरूको पुस्ताको राजनीति उनीहरूले नै गर्नु पर्छ । यही पुस्ताले राष्ट्र, सरकार, समाजको नेतृत्व गर्नु पर्छ । समयले पुस्ता, पुस्तालाई दिएको जिम्मेवारीबाट कोही पनि उदासीन रहन सक्दैन तर हाम्रा युवाले नेपालको वर्तमान राजनीति प्रवृत्ति, प्रकृति, स्वरूप र सारलाई नै निरन्तरता दिनु हुँदैन । उनीहरूले परिणाममुखी राजनीतिको थालनी गर्नु पर्छ । यसका लागि उनीहरूले जनताका आवश्यकता पूरा गर्न, समाजलाई स्थिर तथा समृद्धिको मार्गमा अघि बढाउन र दीर्घकालीन विकासका लागि ठोस परिवर्तनकारी कदम चाल्नु पर्छ । परिणाममुखी हुन नसक्नु नै अहिलेको राजनीतिको समस्या हो । 

परिणाममुखी राजनीतिलाई धेरै दर्शन, उदाहरण र नीतिबाट बुझाउनु पर्दैन । यसलाई अप्लाइड पोलिटिक्स बनाइदिउँ । नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर नीति निर्माण, कार्यान्वयन, र मूल्याङ्कन गरिने नेतृत्वको अभ्यास नै परिणाममुखी राजनीतिको प्रस्थान विन्दु हुन सक्छ । यस्तो राजनीतिले सपनाको व्यापार गर्दैन,  भाषण वा घोषणापत्रलाई सुन्दर शब्दले सजाउँदैन । देश र जनताका वास्तविक समस्या पहिचान र समाधान गर्दै समाजमा ठोस परिवर्तन ल्याउने उद्देश्य लिन्छ । यस्ता उद्देश्य साना हुन सक्छन् तर प्राप्त गर्न सहज हुन्छ र जनजीविकासँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसको परिणाम जनताले तुरुन्तै थाहा पाउँछन् । परिणाममुखी राजनीतिमा जिम्मेवार नेतृत्वले जनताका विश्वास जित्दै, दीर्घकालीन विकासका लागि योजना तयार गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु पर्छ । यो प्रकारको राजनीति केवल चुनावी चक्र वा सत्तामा टिकिरहने प्रयासमात्र नभई, सामाजिक न्याय, समृद्धि, र समावेशितामा आधारित बनाउनु पर्छ । 

परिणाममुखी राजनीतिका लागि नेतृत्व र राजनीतिक दल मात्र होइन जनता खास गरी मतदाता अति संवेदनशील र जिम्मेवार हुनु पर्छ । कतिपय सरकारी संस्थान, कलकारखाना र उद्योग कुशासन, अनियमितता र खराब व्यवस्थापनका कारण बन्द हुँदै गए र कति नाजुक अवस्थामा छन् । यसले अर्थतन्त्रमा पर्ने दीर्घकालीन नकारात्मक प्रभावको लेखाजोखा  गरेर परिणाममुखी राजनीति सुनिश्चित गर्न सर्वप्रथम मतदाता नेतृत्व चयनमा गम्भीर हुनु पर्छ । नेताहरू उत्तरदायी, सक्षम, र समाजको आवश्यकता बुझ्ने हुनु पर्छ । नीति निर्माण र बजेट विनियोजनमा पारदर्शिता र जनताको सहभागिता आवश्यक छ । जनताले प्रत्यक्ष रूपमा आफ्ना माग सम्बोधन भएका छन् कि छैनन् भनेर अनुगमन गर्न पाउनु पर्छ, सक्नु पर्छ । यसका लागि सामाजिक अडिट अत्यावश्यक छ, जहाँ सरकारका नीति, कार्यक्रम र परियोजनालाई जनताले मूल्याङ्कन गर्न सक्छन् र नेताले चुनावअघि र चुनावका दौरान गरेका प्रतिबद्धता तथा चुनावपछिको अवस्थाको चिरफार हुन सकोस् । युवा पुस्ताले परिणाममुखी राजनीतिका लागि वचन र कार्यबिचको दुरी घटाउन र राजनीतिक दलका घोषणापत्रलाई कानुनी रूपमा बाध्यकारी बनाउन सक्नु पर्छ । त्यसको प्रतिबद्धता र पालना यो पुस्ताको प्राथमिकतामा पर्नु पर्छ । सरकारी स्वामित्वका कलकारखाना र उद्योगलाई पुनर्संरचना गरी सञ्चालनमा ल्याएर असल परिणाम दिन सकिन्छ । 

डिजिटल प्रविधिको प्रयोगमार्फत प्रशासनिक कार्यलाई पारदर्शी बनाउनु पर्छ । प्रत्येक सरकारी योजना र कार्यक्रमको प्रगति अनलाइनमा सार्वजनिक हुनु पर्छ । सामाजिक अडिटको प्रक्रिया कार्यान्वयन गर्न स्वतन्त्र आयोग स्थापना गर्न सकिन्छ, जसले स्थानी तहदेखि सङ्घीय तहसम्मका परियोजनाहरूको मूल्याङ्कन गरिरहोस् । परिणाममुखी राजनीति जनतासँगको प्रत्यक्ष संवाद, उत्तरदायी नेतृत्व, दीर्घकालीन सोच, र पारदर्शी शासन प्रणालीको माध्यमबाट मात्र सम्भव छ । यसले राज्यका स्रोतसाधनको न्यायपूर्ण वितरण र समावेशी विकास सुनिश्चित गर्छ । जनताको विश्वास जित्दै, शासनमा स्थिरता र जनकल्याणमा सुधार ल्याउन परिणाममुखी राजनीतिले नयाँ युगको सुरुवात गर्न सक्छ ।

उत्तरदायी नेतृत्वले आफ्ना निर्णय र कार्यबाट हुने परिणामको जिम्मेवारी लिन्छ र कुनै गल्ती भएमा त्यसलाई स्वीकार्दै सुधारका उपाय खोज्न तत्पर हुन्छ । नेपालमा यो प्रकारको नेतृत्व स्थापित हुन नसक्नु विगतको राजनीतिक संस्कार र शासन प्रणालीको ठुलो कमजोरी हो ।

जनताको बुझाइ छ, राजनीति भनेको सीमित व्यक्तिको पहुँचमा मात्र हुन्छ र सत्तामा पुगेपछि नेतृत्वले जनताको अपेक्षा पूरा गर्ने दायित्व बिर्सन्छ । यो धारणा खास गरी युवामा निराशा र निरुत्साहको कारण बन्यो । युवाले आफ्नो देशमा भविष्य देख्न सकेनन्,  जसका कारण उनीहरू विदेश पलायन भए र यो निरन्तर जारी छ । राज्यप्रति नागरिकको विश्वास गुम्नु, नेतृत्वप्रतिको विश्वास गुम्नु र राजनीतिक प्रणालीप्रति नै अविश्वासको अवस्था सिर्जना हुनु नेतृत्वको ठुलो असफलता हो ।

अबको आवश्यकता भनेको उत्तरदायी नेतृत्वमार्फत विद्यमान अवस्था परिवर्तन गर्नु हो । नेतृत्वले विकासमुखी दृष्टिकोणलाई आत्मसात् गर्नु पर्छ, जसमा दीर्घकालीन सोच, ठोस योजना, र त्यसको प्रभावकारी कार्यान्वयनको प्रतिबद्धता होस् । राजनीतिले जब सुधार ल्याउँछ, नेतृत्व जब परिणाममुखी र उत्तरदायी बन्छ, त्यसले विकास उन्मुख समाज र राज्य निर्माणको मार्ग खुला गर्छ । नीतिगत स्पष्टता, व्यवहारमा पारदर्शिता, सेवामुखी भावना, वचन तथा व्यवहारबिचको सामाञ्जस्यता यस प्रक्रियाका निर्णायक तत्व हुने छन् । 

अबका पुस्ताले राजनीतिलाई कमाउ धन्धाको साधन बनाउनु हुँदैन । उनीहरूले राजनीतिलाई विकासमुखी दृष्टिकोण कार्यान्वयन गर्ने अवसरका रूपमा लिनु पर्छ । विकासमुखी दृष्टिकोण तत्कालका आवश्यकतालाई सम्बोधन गर्दै दीर्घकालीन लक्ष्यको सुनिश्चिततामा केन्द्रित रहन्छ । विकासमुखी दृष्टिकोणले समावेशिता, न्याय र स्थिरतालाई मूल आधार बनाउँदै समाजका सबै वर्ग, क्षेत्र र समुदायलाई समान अवसर तथा अधिकार प्रदान गर्नु पर्छ । यो दृष्टिकोण केवल भौतिक पूर्वाधारको निर्माणमा सीमित रहनु हुँदैन, यसले जनताको जीवनस्तर सुधार गर्ने आधारभूत सेवाहरू, रोजगारीका अवसर र सामाजिक न्यायलाई प्राथमिकतामा राख्नु पर्छ ।

विकासमुखी दृष्टिकोणको केन्द्र शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास हुनु पर्छ । स्वदेशी उद्योगको प्रवर्धन र स्थानीय स्रोतको अधिकतम उपयोग गर्न सके स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ । जलविद्युत्, पर्यटन, कृषि, र वन क्षेत्र जस्ता नेपालको मुख्य सम्भाव्य क्षेत्रको समुचित उपयोग गर्दै आर्थिक समृद्धिको आधार निर्माण गर्न सकिन्छ । यसै गरी पर्यटनलाई स्थानीय संस्कृति, कला, र परम्परासँग जोडेर विश्वस्तरमा प्रवर्धन गर्न सकिन्छ । जलविद्युत् र नवीकरणीय ऊर्जा क्षेत्रलाई विस्तार गर्दै दिगो र स्वच्छ ऊर्जा विकासमा विशेष जोड दिनु पर्छ ।

विकासमुखी दृष्टिकोणले केवल ठुला परियोजनामा मात्र ध्यान दिनु हुँदैन, साना र मझौला उद्यमलाई प्रोत्साहन गर्नु पर्छ । यसले समाजको हरेक तहमा रोजगारीका अवसर सिर्जना गर्छ र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँछ । साथसाथै, व्यवस्थित सहरीकरण र प्रभावकारी पूर्वाधार निर्माणले दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । सबैभन्दा महìवपूर्ण कुरा भनेको पारदर्शिता र उत्तरदायित्व हो । जनतालाई योजना र नीति निर्माणका प्रक्रियामा सहभागी गराएर विश्वासको वातावरण निर्माण गर्नु पर्छ । नेतृत्वले वचन र व्यवहारमा सामाञ्जस्यता राख्नु पर्छ, जसले नागरिकमा राज्यप्रति आस्था र विश्वास पुनस्र्थापित गरोस् । आधारभूत आवश्यकता पूरा गर्दै दीर्घकालीन समृद्धिका लागि दिगो रणनीति निर्माण गर्नु विकासमुखी दृष्टिकोणको बलियो आधार हुने छ ।  

  

Author

रवि चापागाईं