• २१ चैत २०८१, बिहिबार

साहित्यमा प्रतिष्ठाको प्रभाव

blog

साहित्य मानव चेतना, भावना र समाजको यथार्थ उजागर गर्ने साधन हो । यसले जीवनका जटिल र सूक्ष्म पक्षलाई उदघाटन गर्ने मात्र होइन, समाजमा वैचारिक परिवर्तन ल्याउने सामथ्र्य पनि राख्छ । साहित्य मानव सभ्यताको दर्पण हो, जसले समय, परिस्थिति र परिवेशका प्रतिविम्बलाई उजागर गर्छ । के साहित्यको मूल्याङ्कन सधैँ न्यायपूर्ण हुन्छ ? के हामीले कुनै कृतिको महत्व त्यसका विषयवस्तु र प्रभावका आधारमा निर्धारण गर्र्छौं कि लेखकको प्रतिष्ठाले हाम्रो धारणा निर्माण 

गर्छ ? जब एउटा उत्कृष्ट कथा केवल लेखकको नामका कारण चर्चामा आउँछ, र गुमनाम लेखकका अमूल्य कृति उपेक्षित रहन्छन् के हामीले साहित्यलाई न्याय गरिरहेका हुन्छौँ ?

साहित्यिक इतिहासले यस विषयमा थुप्रै ज्वलन्त उदाहरण प्रदान गरेको छ । कति कृति केवल प्रतिष्ठित नामको कारणले अमर बनेका छन् र कति गुमनाम सर्जकका उत्कृष्ट रचना समयको गर्भमा बिलाएका छन् । जब प्रतिष्ठाले गुणस्तरलाई ओझेलमा पार्छ, त्यसले साहित्यिक मूल्याङ्कनको न्यायप्रणालीलाई प्रश्नको घेरामा राख्छ । यो परिघटनाले साहित्यमा प्रतिष्ठाको प्रभावलाई प्रस्ट पार्छ ।

विश्वव्यापी दृष्टान्त

साहित्यमा प्रतिष्ठाको प्रभावलाई बुझ्न हेमिङ्वेको ‘छ पङ्क्तिको कथा’ सम्भवतः सबैभन्दा उपयुक्त उदाहरण हो । जस्तो, ‘फर सेल, बेबी सुज, नेभर वर्न’ यो प्रसिद्ध कथाको केवल छ शब्दले गहिरो भावनात्मक संसारको ढोका खोल्छ । सोचौँ, यही कथा कुनै सामान्य व्यक्तिले लेखेको हुन्थ्यो भने के यसले समान महìव पाउँथ्यो ? के यो कथा हेमिङ्वेको नामबिना पनि त्यत्तिकै प्रभावकारी र प्रशंसनीय ठहरिन सक्थ्यो ?

हेमिङ्वेको नाम, उनको जीवन कथाको मिथक र प्रतिष्ठाले यो कथालाई अमर बनाएको तथ्यलाई नकार्न सकिन्न । यसले पाठकलाई सोच्न बाध्य बनाउँछ कि, साहित्यिक मूल्याङ्कन के सिर्जनाको गुणस्तरका आधारमा मात्र गरिन्छ कि लेखकको पहिचान र प्रतिष्ठाले त्यसमा ठुलो भूमिका खेल्छ ? यस्तो दृष्टान्तले साहित्यमा प्रतिष्ठाको जटिल प्रभावलाई उजागर गर्छ ।

यस्तै फ्रान्ज काफ्का र एमिली डिकिन्सन जस्ता लेखकको जीवनले देखाउँछ कि प्रतिष्ठा सधैँ लेखकको जीवनकालमा निर्माण हुँदैन । काफ्काको ‘द मेटामर्फोसिस’ र डिकिन्सनका कविता तिनका मृत्युपछि मात्र मान्यता पाउन सफल भए । यसले समय र सन्दर्भले प्रतिष्ठालाई कसरी आकार दिन्छ भन्ने गहिरो यथार्थ उजागर गर्छ ।

यसको विपरीत केही लेखकले आफ्नो प्रसिद्धि र प्रतिष्ठाको बलमा औसत कृतिलाई पनि अत्यधिक प्रशंसा दिलाएका छन् । आधुनिक समयमा सामाजिक सञ्जालले यो प्रवृत्तिलाई अझ तीव्र बनाएको छ । साधारण रचना सेलिब्रिटी वा प्रतिष्ठित लेखकको नामकै कारण भाइरल हुन सक्छन् । यसले साहित्यिक मूल्याङ्कनलाई सतही र पूर्वाग्रही बनाउँदै आएको छ ।

साहित्यिक प्रतिष्ठा केवल लेखकको प्रतिभाबाट निर्माण हुँदैन । पाठकको समालोचकीय दृष्टिकोण, समयको प्रभाव र सामाजिक संरचनाले यसको निर्माणमा ठुलो भूमिका खेल्छ । यसले धेरै गुमनाम लेखकहरूको उत्कृष्ट सिर्जनालाई छायामा पार्न सक्छ भने औसत कृतिहरूलाई अकारण प्रशंसा दिलाउन सक्छ । यो पाठक र समीक्षक दुवैका लागि गम्भीर चिन्तनको विषय हो कि के हामी साहित्यलाई यसको विषयवस्तु र गुणका आधारमा न्यायपूर्ण मूल्याङ्कन गरिरहेका छौँ वा केवल प्रतिष्ठाको छायामा आधारित धारणा बनाइरहेका छौँ ?

नेपाल सन्दर्भ

नेपालजस्तो बहुभाषिक र बहुसांस्कृतिक देशमा साहित्यिक सिर्जनाले अनगिन्ती रूप लिएका छन् । यहाँका मौखिक परम्परा, लोककथा, लोकगीत र दोहोरी जस्ता विधाले समाजको भावना, सङ्घर्ष र सौन्दर्यलाई अद्भूत रूपले प्रतिविम्बित गरेका छन् । यी विधाले औपचारिक मान्यता र प्रतिष्ठा पाउन प्रायः असफल हुँदै आएका छन् । नेपाली साहित्यिक मूल्याङ्कनमा राजधानी–केन्द्रित प्रणालीको प्रभुत्वले गुमनाम हस्तीहरूलाई ओझेलमा पारेको छ ।

थुप्रै लोकगीतहरूले प्रेम, विछोड र जीवनका यथार्थलाई गहिरो रूपमा अभिव्यक्त गरेका छन् । जस्तै अस्मिता डल्लाकोटी र चीज गुरुङ जस्ता क्षेत्रीय कलाकारले गाएका लोकगीतमा पाइने गहनता कुनै औपचारिक कविताभन्दा कम छैन । यस्तै, टीका सानु, राजु परियार आदिद्वारा गाइएका गीतमा विछोड आदिको भावलाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । यस्ता सिर्जनालाई प्रायः ‘लोकसाहित्य’ को संज्ञा दिइन्छ, जसले तिनको साहित्यिक महत्वलाई सीमित पार्छ । यसले देखाउँछ कि नेपाली मौखिक साहित्यलाई औपचारिक साहित्यको भन्दा कम स्तरमा राख्ने प्रवृत्ति जिउँदो छ ।

नेपाली साहित्यको एउटा कालजयी उदाहरण हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन । यद्यपि यो रचना नेपाली साहित्यमा एक अभूतपूर्व उपलब्धि हो, यसको जरा मौखिक कथाको परम्परासँग प्रत्यक्ष रूपले जोडिएको छ । यसले प्रमाणित गर्छ कि लोककथाले औपचारिक साहित्यलाई समेत आधार प्रदान गरेको छ । मौखिक परम्पराका यी सिर्जनालाई प्रायः उचित प्रतिष्ठा दिइएन । दिइने गरिएको छैन ।

समसामयिक समयमा क्षेत्रीय भाषामा लेखिएका कृति मुख्यधाराको साहित्यमा स्थान पाउन अझै सङ्घर्षरत छन् । मैथिली, नेवारी, तामाङ, थारू र अन्य भाषामा लेखिएका कृतिले समाजका गहिरा सत्यलाई उजागर गरे पनि तिनलाई प्रायः उपेक्षा गरिन्छ । साहित्यिक पुरस्कार र मान्यता राजधानी केन्द्रित र मुख्य धाराका भाषामा मात्र सीमित छन् । यो असमानताले नेपाली साहित्यिक मूल्याङ्कन प्रणालीमा रहेको पूर्वाग्रहलाई उजागर गर्छ । लेखकको सामाजिक र भौगोलिक पहिचानले रचनाको मूल्याङ्कनलाई निर्देशित गर्दा धेरै प्रतिभाशाली सर्जक छायामा पर्छन् । यसले हाम्रो साहित्यिक परम्परालाई समृद्ध बनाउनुको सट्टा विभाजन गर्छ र असमानतालाई फराकिलो बनाउँछ ।

नेपाली साहित्यमा यो असमानता र गुमनाम रचनाको उपेक्षा केवल एउटा सन्दर्भ मात्र होइन, बरु यो त साहित्यिक न्यायको क्षेत्रमा एक गम्भीर प्रश्न हो । के प्रतिष्ठा वास्तवमै साहित्यिक गुणको मापनको आधार हुन सक्छ ? कि यो केवल एक सामाजिक संरचना हो, जसले केहीलाई अनुचित रूपमा अगाडि ल्याउँछ र केहीलाई अन्यायपूर्ण रूपमा ओझेलमा पार्छ ? यो प्रश्नले नेपाली मौखिक परम्परा र क्षेत्रीय साहित्यको महत्वलाई पुनः मूल्याङ्कन गर्न हामीलाई बाध्य पार्छ ।

पाठकको भूमिका

साहित्यको वास्तविक मूल्याङ्कनमा पाठकको भूमिका महत्वपूर्ण छ । कुनै पनि कृतिको प्रभाव र सफलताको मापन पाठकको धारणा र स्वीकारोक्तिमा निर्भर हुन्छ । पाठकको धारणा सधैँ स्वतन्त्र र निष्पक्ष रहन्छ भन्ने निश्चित छैन । के लेखकको प्रतिष्ठाले पाठकको मूल्याङ्कनलाई प्रभावित गर्छ ? यो प्रश्नले साहित्यिक मूल्याङ्कनको गहिरो पक्षलाई उजागर गर्छ ।

हेमिङ्वेको ‘छ पङ्क्तिको कथा’ (फर सेल, बेबी सुज, नेभर वर्न ) यसको एउटा उत्कृष्ट उदाहरण हो । कथा अत्यन्तै सरल भए पनि गहिरो छ । यसलाई अमर बनाउन हेमिङ्वेको प्रतिष्ठा र प्रख्यात व्यक्तित्वको ठुलो भूमिका छ । यही कथा कुनै गुमनाम लेखकले लेखेको भए, के पाठकले यसलाई समान गहनता र प्रशंसाका साथ हेर्थे ? यो प्रश्नले पाठकको सोच र प्रतिष्ठाबिचको गहिरो सम्बन्धलाई प्रस्ट पारेको छ ।

नेपाली सन्दर्भमा पाठक र प्रतिष्ठाबिचको यो प्रभाव अझ तीव्र देखिन्छ । राजधानी केन्द्रित साहित्यिक प्रणालीले पाठकलाई क्षेत्रीय भाषामा लेखिएका कृतिहरूलाई उपेक्षा गर्न बाध्य बनाएको छ । मैथिली, थारू, नेवारी, तामाङ जस्ता भाषामा लेखिएका कृतिमा समाजका गहिरा सत्य प्रतिविम्बित भए पनि ती कृति पाठकको नजरमा कम महत्वपूर्ण ठहरिन्छन् । यसको मुख्य कारण ती कृतिहरूले औपचारिक प्रतिष्ठा र पहिचान प्राप्त गर्न नसक्नु हो ।

पाठकले यो प्रणालीलाई चुनौती दिन सक्छन् । पाठकले लेखकको नाम र प्रतिष्ठालाई गौण ठानेर कृतिको गुण, विषयवस्तु र प्रभावलाई प्राथमिकता दिन थाले भने साहित्यिक अन्यायको दीर्घ परम्परालाई तोड्न सकिन्छ । यसका लागि पाठकले आफ्ना पूर्वाग्रह त्यागेर साहित्यलाई तटस्थ दृष्टिकोणले हेर्न सिक्नु पर्छ ।

पाठकको दृष्टिकोण परिवर्तनले साहित्यलाई न्यायपूर्ण, समावेशी र समान बनाउन ठुलो योगदान दिने छ । हरेक कृतिले लेखकको नामभन्दा माथि उठेर मात्र आफ्नो वास्तविक मूल्य पाउन सक्छ । यसर्थ पाठकले साहित्यिक मूल्याङ्कनलाई गहनता र निष्पक्षताका साथ हेर्न थाले भने मात्र साहित्यको समग्र परिदृश्य परिवर्तन हुन सम्भव हुन्छ ।

निष्कर्ष

साहित्य केवल शब्दको संयोजन नभई समाजको भावना, सङ्घर्ष, र चेतनाको जीवन्त प्रतिबिम्ब हो । यसको वास्तविक मूल्याङ्कन साहित्यको गुणस्तर, विषयवस्तुको गाम्भीर्य र समाजमा यसको प्रभावको आधारमा हुनु अपरिहार्य छ । वास्तविकता भने यस आदर्शबाट धेरै टाढा छ ।

नेपाल जस्तो बहुभाषिक र बहुसांस्कृतिक देशमा साहित्यिक मूल्याङ्कनमा देखिने पूर्वाग्रह, राजधानी केन्द्रित दृष्टिकोण र प्रतिष्ठाको प्रभावले थुप्रै उत्कृष्ट सिर्जनालाई छायामा पार्दै आएको छ । मौखिक परम्परा, क्षेत्रीय भाषाका कृतिहरू र गुमनाम सर्जकको सिर्जनालाई उचित मान्यता दिन असफल प्रणालीले हाम्रो साहित्यिक परिदृश्यलाई खण्डित र अन्यायपूर्ण बनाएको छ ।

पाठक, समीक्षक र साहित्यिक संस्थाहरूले लेखकको नाम र प्रतिष्ठाभन्दा साहित्यिक गुण, सन्देश, र सामाजिक महत्वलाई प्राथमिकता दिनु पर्छ । पाठकको निष्पक्ष दृष्टिकोण र समीक्षकको न्यायपूर्ण मूल्याङ्कनले मात्र साहित्यिक न्याय सम्भव छ । 

यस परिवर्तनले मात्र साहित्यलाई समावेशी, न्यायपूर्ण र वास्तविक रूपमा सशक्त बनाउन सक्छ । त्यसैले हामी सबैले यो प्रश्न गम्भीरतापूर्वक उठाउनु पर्छ । के साहित्यलाई हामी त्यसकै गुणका आधारमा सम्मान गरिरहेका छौँ, कि केवल प्रतिष्ठाको छायामा बाँधिएका छौँ ? जबसम्म यो प्रश्नको जवाफ निष्पक्ष र सकारात्मक हुँदैन, तबसम्म हाम्रो साहित्यिक मूल्याङ्कन अधुरो नै रहन्छ । 

Author

डा. चूडाप्रसाद ढकाल