गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १४ गते । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
काठमाडौँमा शनिबार आयोजित साधारण सभामा अध्यक्ष पुष्पराज जोशीले संस्थाको वर्तमान अवस्था र भावी कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष माया आचार्यले आर्थिक प्रतिवेदन पेस गर्नुभयो । सभाले दुवै प्रतिवेदन पारित गरेको छ ।
अध्यक्ष जोशीले संस्थामा कार्यरत स्थायी कर्मचारी अवकाशमा गएपछि सेयर तथा बचत फिर्ता गर्नुपर्ने तथा नयाँ कर्मचारी भर्ना नहुँदा सेयर पुँजी वृद्धि हुन नसकेको विषयलाई सहकारीको चुनौतीका रूपमा अर्थ्याउनुभयो । उहाँले सो कारणले सहकारी ऐनले हरेक वर्ष १० प्रतिशतका दरले सेयर पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो ।
३७४ जना सदस्य रहेको गोरखापत्र सहकारीले आर्थिक वर्ष २०८०/८१ को असारसम्म एक करोड ७२ लाख तीन हजार रुपियाँ निक्षेप सङ्कलन गरेको छ । सो अवधिमा एक करोड ५७ लाख ६४ हजार ऋण लगानी गरिएको छ ।
सहकारीको कुल सेयर पुँजी ३० लाख ७२ हजार पाँच सय रुपियाँ रहेको छ । दायित्व एक लाख २१ हजार २७५ रुपियाँ र कोषमा २० लाख ४८ हजार ९६६ रुपियाँ छ ।
सो अवसरमा विद्यालय शिक्षा परीक्षामा उत्कृष्ट गरेका सहकारीमा आबद्ध सदस्यका छोराछोरीलाई सहकारी शिक्षा सम्मानबाट पुरस्कृृत गरिएको छ । संस्थामा आबद्ध सदस्य भागीरथ बस्नेतकी छोरी एन्जेल बस्नेतले २०८१ को विद्यालय शिक्षा परीक्षामा ३.९१ जिपिए ल्याएकोमा तीन हजार पाँच सय रुपियाँसहित सम्मान गरिएको छ ।
सहकारी सदस्य शिवहरि अर्यालका छोरा प्रतीक अर्यालले ३.७५ जिपिए ल्याएर तीन हजार पाँच सय रुपियाँ र खोवाप्रसाद रिमालकी छोरी प्रतीक्षा रिमालले ३.७१ जिपिए ल्याएकोमा दुई हजार पाँच सय रुपियाँसहित पुरस्कृत हुनुभयो । सदस्य खिमा भण्डारीका छोरा हिमांशु भण्डारीले ३.६५ जिपिए ल्याएर पुरस्कृत हुनुभयो । संस्थानमा कार्यरत कर्मचारीको छरिएर रहेका सानो सानो पुँजीलाई एकत्रित गरी २०६३ मङ्सिर २१ गते गोरखापत्र सहकारीको स्थापना भएको हो ।
पारदर्शी बन्न आग्रह
साधारण सभामा गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र सहकारीलाई अझ बढी पारदर्शी, जवाफदेही र विधिसम्मत रूपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । “सहकारीबारे विभिन्न काण्डले समाज र देश नै तर्सिनु परेको समयमा गोरखापत्रमा सो अवस्था नहुनु सुखद हो,” उहाँले भन्नुभयो, “कहीँकतै सुधार गर्नुपर्ने छ भन्ने सुधार गरेर अगाडि बढौँ ।” गोरखापत्र कल्याणकारी कोषलाई राम्ररी व्यवस्थापन गर्न नसकिएकोमा चिन्ता व्यक्त गर्दै उहाँले आगामी दिनमा सही बाटोमा ल्याउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा गोरखापत्र सञ्चालक समितिका सदस्य राजु महतले गोरखापत्र सहकारी समाज रहेको चर्चा गर्दै संस्थालाई सहकार्यको भावनाले अगाडि बढाउनुपर्ने बताउनुभयो ।