• १३ पुस २०८१, शनिबार

कलामा सौन्दर्य कुरूपताको पुनर्संरचना

blog

कुनै एउटा कुरूप, बिरूप, नराम्रो वा भत्केबिग्रेको स्वरूपलाई पनि कलाले सुन्दर रूपमा कलात्मक किसिमले आकृतिबद्ध गर्छ । अनि त्यहाँ सौन्दर्यको उपस्थिति हुन्छ । नयाँ जीवनको प्रारम्भ हुन्छ । यसरी नै कुरूपताको पुनर्संरचना हुन्छ । कलामा सौन्दर्यको शुभारम्भ हुन्छ । कुनै कलाले सधैँ सौन्दर्य पक्षलाई प्राथमिकतामा राखेर सिर्जनात्मक कला प्रस्तुत गर्नु उसको धर्म हो । कलामा  सौन्दर्य पक्ष कमजोर छ भने त्यसले कलाकारी आकर्षण दिन सक्दैन । कलाले जहिले पनि सुन्दर भाव, संरचनाको वकालत गरिरहनु पर्छ । नराम्रा पक्षलाई पनि राम्रो रूपमा व्यक्त गर्न सक्नु पर्छ ।

वास्तवमा कलाको मुख्य विशेषता नै यही हो । यही कारण कलामा सौन्दर्य पक्ष प्रबल हुन्छ । मानिस कला हेर्न लालायित हुन्छन् र कला ग्यालरीमा कलाकृति हेरेर आनन्दित हुन जान्छन् । त्यसैले कलाकृति निकै महँगो मूल्यमा बिक्री हुन्छन् ।

मानव सभ्यतामा कलाको उपस्थिति सौन्दर्यको मात्र होइन, आत्माको अन्वेषण पनि हो । कला त्यो मधुर माधुर्य हो, जसले कुरूपतालाई पनि सौन्दर्यको रूप दिन्छ । संसारका कुनै पनि कुरा कुरूप रहिरहँदैनन्, यदि त्यसलाई कलात्मक दृष्टिले हेर्ने प्रयत्न गरिन्छ भने । अझ त्यसलाई क्यानभासमा उतारिन्छ भने त्यो झन् सुन्दर स्वरूपमा देखिन्छ ।

चट्टानको अव्यवस्थित थुप्रो वा फालिएका काठका मुढा मूर्तिकारका हातमा परेपछि कालजयी कलाकृतिमा परिणत हुन्छन् । क्यानभासमा चुहिएका रङ कलाकारका दृष्टिले एक अनौठो कलाकृतिमा बदलिन्छन् । यही कला हो, कुरूपतालाई सुन्दर बनाउने अलौकिक शक्ति । सामान्य आँखाले देख्न नसक्ने कुरा कलाकारले मात्र देख्छ र त्यसमा उसले जीवनको रङ भर्छ । रङ्गीन जीवनबाहेक रङ्गहीन जीवन कसैलाई मन पर्दैन । 

कुनै पनि कलाकृतिले रूपलाई मात्र सुन्दर बनाउँदैन । त्यसले भावना र अस्तित्वलाई पनि सार्थक गति दिन्छ । भत्केको भग्न घरलाई हेर्दा हामीमा अफसोस, दुःख र निराशा लाग्न सक्छ तर चित्रकारले भत्किएको स्वरूपलाई कहिल्यै भुल्न नसकिने स्मृतिमा बदलिदिन सक्छ । 

यस किसिमका ध्वस्त संरचनाका साथै फाटेका, च्यातिएका वा फोहोरमैला भएका कपडा, बाङ्गिएका, बटारिएका बोटबिरुवामा पनि कलाकारले सुन्दर जीवन दृष्टिको जन्म दिन सक्छ । ढुसी परेका, लेउझ्याउ परेका, धमिराले खाएका, मक्किएका, बर्सौंदेखि माकुराको जालोले बेरिएका, ऐँजेरु पलाएका वनस्पति आदि हाम्रा लागि मन पर्ने स्वरूप होइनन् । 

त्यस्तै बुढ्यौली जीवनका चाउरी चेहरा, जिङ्रिङ्ग कपाल, मैलोधैलो रूप, बाढीले बगाएको खण्डहर बस्ती, सिक्रीटाट रुख, बसाइँ सरेर गएको घर र बाँझो खेतबारी, फुङ्ग उडेको परिवेश कसैलाई पनि रमाइलो लाग्दैन, मन पर्दैन । यस्ता दृश्यले निराशाबाहेक खासै सकारात्मक अनुभव दिन सक्दैनन् तर यस्तै दृश्य कलाकर्ममा उतारिएपछि त्यसको स्वरूप सुन्दर देखिन्छ । 

मुजा मुजा परेर घुङ्ग्रिएका, बटारिएका कैयौँ रेखामा मानिसको बुढोपनको चित्रण आफैँमा निकै अर्थपूर्ण लाग्छ । त्यसले जीवनयात्राका थुप्रै कठोर दिन सङ्घर्षपूर्वक रूपमा व्यतीत गरेको झल्को पनि दिन्छ । 

तिनलाई देख्नासाथ नाक खुम्च्याउँदै हाम्रो मुखबाट ‘छि, कत्ति नराम्रो !’ भन्ने वाक्य निस्किहाल्छ । परन्तु ती चित्रकलामा तिनै नराम्रा पक्षलाई चित्राङ्कन गरिएपछि त्यसमा पुनर्संरचना भई स्वतः सौन्दर्य स्थापितपश्चात् हामी ‘आहा ! कति राम्रो, मनै छुने’ भनिहाल्छौँ ।

अन्ततः यौटा कुशल कलाकारको नजरमा परेपछि मन नपर्ने स्वरूप क्यानभासमा मनमोहक छविले सुन्दर बन्छ । कलाले कुनै पनि नराम्रो वस्तुलाई रङका माध्यमबाट भिन्न संरचनामा पुनर्जीवित गर्छ । यसरी ती वस्तुले दर्शकका आँखालाई मोहनी लगाउन सक्ने क्षमता राख्छ । कलाको रहस्यमय शक्ति पनि यही हो । जहाँ कलात्मक जीवनको उदयसँगै वस्तुको अवस्था नै अर्कै रूपमा स्थापित हुन्छ । त्यसको मूल्य र महìव नै भिन्न हुन्छ । मान्छेले हेर्ने दृष्टिकोण, बुझ्ने शैली र महसुस गर्ने मनमा समेत नयाँ भावको सञ्चार गरिदिन्छ । 

अतः कलाको मूल विशेषता भनेको यसको पुनर्निर्माण गर्ने क्षमता हो । कलामा कुरूपताको पुनर्संरचनाको उदयको सौन्दर्यमय सम्प्रेषणको सन्देश यही हो । यही कारणले मानिस कला ग्यालरीमा जान्छन् । कलाकृतिको सान्निध्यमा रमाउँदै समय बिताउँछन् । त्यसबाट अभूतपूर्व आनन्द प्राप्त गर्छन् । 

वस्तुतः नराम्रोलाई राम्रो देखाउनु चित्रकलाको विशेषता हो भन्ने निश्चित छैन । यो चित्रकलाको एक पक्ष हो । चित्रकलाले वास्तविकतालाई सुन्दर बनाउन, परिष्कृत रूपमा प्रस्तुत गर्न वा भावनात्मक प्रभाव पार्न सक्छ । कलाकारले आफ्नो दृष्टिकोण अनुसार वास्तविकतालाई रूपान्तरण गर्न सक्छ । 

यसले कल्पनाशीलता, सौन्दर्य र सन्देश सम्प्रेषण गर्छ । साथै सकारात्मक ऊर्जाको भावना जगाउन मद्दत गर्छ । नयाँ सम्भावना र नवीन दृष्टिकोण निर्माणमा पनि यसले टेवा पु¥याउँछ । एउटा विषयमा आधारित भई कलात्मक चेतनाको विस्तार गर्नु र त्यसमा दर्शकलाई तन्मयपूर्वक डुबाउने खुबी कलाकृतिको हुन्छ ।

तथापि केही चित्रकला यथार्थलाई जस्ताको तस्तै देखाउने उद्देश्यले पनि बनाइन्छ । त्यसैले चित्रकलाको विशेषता कलाकारको उद्देश्य र शैलीमा निर्भर हुन्छ ।

कलाले कुरूपतालाई सुन्दर बनाउने क्रममा मात्र होइन, मूल्यवान् पनि बनाउँछ । कुनै कलाकृति लाखौँको मूल्यमा बिक्री हुनु यसको उदाहरण हो । साधारण चिजलाई असाधारण बनाउन सक्ने शक्ति नै कलाको सौन्दर्य हो । 

कला हेर्ने वस्तु मात्र होइन । कला भनेको अनुभव गर्ने तत्व पनि हो । यही अनुभवले हाम्रो मस्तिष्कमा गहिरो प्रभाव पार्छ र जीवनलाई विशेष अर्थ दिन्छ । कलाबाट केही सन्देश लिन सक्नु र नयाँपनको महसुस गर्नु ठुलो कुरा हो । यसैले कलालाई कुरूपताको सजग पुनर्संरचना भन्दा अत्युक्ति हुँदैन । यसलाई बुझाउन कुनै भाषाको आवश्यकता पर्दैन । कुनै व्याख्याको खाँचो रहँदैन । हेरेपछि त्यसबाट प्रत्येक व्यक्तिले पृथक् अनुभूतिको आभास गर्न सक्छन् । कला त्यस्तो अमूर्त शक्ति हो, जसले संसारलाई अर्को दृष्टिले देख्न सिकाउँछ, बुझ्न लगाउँछ । 

वास्तवमा कुरूपतालाई सौन्दर्यमा बदल्न सक्ने कला नै सच्चा कला हो । यही कलात्मक परिवर्तनले हामीलाई पनि रूप/सौन्दर्यप्रति आकर्षित गराउँछ । त्यसमै प्रेरित गर्छ र जीवनलाई सुन्दर बनाउन मद्दत गर्छ ।

सौन्दर्यको दर्शन संसारका सुन्दर पक्षको खोज, अनुभव र तिनको अर्थको व्याख्यामा आधारित हुन्छ । यो दर्शनले सुन्दरता केवल बाहिरी स्वरूपमा नभई भावनात्मक, बौद्धिक र आध्यात्मिक तहमा पनि हुने मान्यता राख्छ । 

प्रकारान्तरले यस किसिमको सौन्दर्यात्मक क्यानभासले मानव मनलाई धेरै किसिमका सन्देश सम्प्रेषित गर्छ । जुनसुकै माध्यम, शैली, विषय र विम्बमा कला रचना गरिए तापनि त्यसमा प्रवाहित सुललित रङ र रेखाको सन्तुलित आयामले अधिकांश दर्शकलाई प्रभावित पार्छ, पार्नु पर्छ ।

नराम्रो संरचनालाई सन्तुलन र समन्वयको खाँचो पर्छ । सुन्दरता सन्तुलन र समरूपतामा निर्भर रहन्छ । यो सन्देशले जीवनमा सन्तुलित र सकारात्मक दृष्टिकोण अपनाउन प्रेरित गर्छ । यही मान्यतालाई आत्मसात् गरी कलाले सौन्दर्यमय भावना र सन्देश प्रवाह गर्छ ।

त्यसै गरी नयाँ रूप/सौन्दर्यमा रूपान्तरण गर्नका लागि कलाकारको अनुभूतिमय गहिराइले पनि ठुलो भूमिका खेल्छ । विशेषतः सौन्दर्यले मानवलाई क्षणिक सुखद अनुभवभन्दा पर अस्तित्वको गहिरो अर्थ बुझ्नसमेत प्रेरित गर्छ ।

यसका साथै सिर्जनशीलता र प्रेरणाका कुरा पनि यिनमा सन्निहित हुन्छ । खासमा सुन्दरता कलाको, साहित्यको र जीवनको नवीनतम सिर्जनामा प्रेरणास्रोत बन्न सक्छ ।

प्राकृतिक सौन्दर्यले मनलाई शान्त बनाउने र सन्तोषको अनुभूति गराउने सन्देश दिन्छ । यसका साथै यसले जीवनको मूल्याङ्कनको दर्शनमा पनि समाहित गराउँछ । यसले हरेक क्षणको सुन्दरताको मूल्याङ्कन गर्न र जीवनलाई पूर्ण रूपमा बाँच्न प्रोत्साहित गर्छ ।

यसैले सौन्दर्यको दर्शनले मानवलाई भौतिक र आत्मिक जीवनको उच्चतम स्वरूपलाई आत्मसात् गर्न सिकाउँछ । त्यसैले कुरूप मानिएको कुनै वस्तु पनि कलाकारको कुचीले सुन्दर बन्छ । अनि कलामा कुरूपताको पुनर्संरचना भई त्यहाँ सौन्दर्य प्रस्फुटित हुन्छ ।   

Author

ज्ञानेन्द्र विवश