नेवार जातिले बजाउँदै आएका सयौँ सङ्ख्याका लोकबाजामध्ये प्रसिद्ध सुषिरवाद्य हो, मुहाली । धेरै बाजाटोली र नृत्यटोलीलाई अपरिहार्य भएको छ, मुहाली बाजा । दाफाखीं, पछिमा, धा., दोलक, नगरा, तमोचा, दमोखिं, करखिं, र कतै कतै धिमेमा समेत तालतालमा मुहाली बाजाको सुर सुनिन्छ । यसको सङ्गीतमय झङ्कारमा हरेक जात्रापर्व, ऋतु ऋतुमा बज्ने रागहरूको स्वरले सबैलाई आनन्दित बनाउँछ । भैरव नृत्य, महाकाली नृत्य, देवी नृत्य, लाखय् नृत्य, गण नृत्य जस्ता परम्परागत नृत्यदेखि गाउँठाउँमा नचाइने स्थानीय लोक नृत्य, शास्त्रीय नृत्यसम्ममा मुहालीको सुमधुर स्वरले सङ्गीतमय र आनन्दित बनाउँछ ।
शुभकार्य, जात्रापर्व, नाचगानदेखि मठमन्दिरमा सेवा गर्ने भनेर प्रत्येक बिहान उज्यालो नहुँदै मुहालीको सुमधुर स्वर गुन्जिन्छ । दसैँमा जमरा राखेको दिनदेखि आठ नौ दिनसम्म सेवा गर्ने भनेर घर घरमा गई मुहाली बजाउने चलन छ । नेवार जातिको व्रतबन्ध (कयतापूजा), बुध्धा पास्नी (जङ्कु), भीमरथारोहण र अन्य शुभकार्यमा सगुन दिइरहेका बेला ‘मङ्गल धुन’ भनेर पनि मुहालीको धुन बजिरहेको हुन्छ । ठुलठुला पूजा, पञ्चबलि पूजा र कुनै पनि गुथि, खलः दाफा खलः सरस्वती पूजामा पनि मन्दिरमा पूजा गर्न जाँदा सबैभन्दा अगाडि त्यही मुहाली बाजा बजाइन्छ । देवाली पूजा (कुलदेवताको पूजा) मा जाँदा त यसले झनै महत्व राख्छ । देवाली पूजामा जाँदा लस्करै पङ्क्तिबद्ध भई पूजा सामग्री बोक्नेका अगाडि सबैभन्दा शोभा त त्यही मुहाली बाजाकै हुन्छ । जाँदा पनि, फर्किंदा पनि मुहाली बाजा सबैभन्दा अघि अघि ऋतु अनुसारको धुन बजाएर आइरहेको हुन्छ । नेवार समुदायमा विवाहमा पन्चैबाजा भनेर यही मुहाली बाजा बजाई दुलही लिन जाने चलन छ । मुहाली दुई, ढोलक एक, तमोचा एक, बबुचा, मुजुरा एक गरी पाँच जनाले बजाउने भएकैले यसलाई पन्चैबाजा भनिन्छ । अचेल मुहाली बाजा बजाएर दुलही भित्र्याउने चलन हराइसकेको छ ।
गुँला पर्वमा एक महिना गुँला बाजामा सुर बाजाका रूपमा सिलु गीत जयनमो र अन्य मौसम अनुसारका धुनमा गुँला बाजा बिहान बिहान मठमन्दिर, बिहार बिहारमा घन्किरहन्छ । गुँला पर्वको मनोरम दृश्यमा पनि मुहाली बाजाकै महत्व बढी हुन्छ । त्यही बेला नचाइने भैरव नाच, महाकाली नाच, नागचा, दिगम्बर, देवी नाच, नीलवाराही नाच र अन्य नाच प्रदर्शन गर्न मुहाली बाजा अनिवार्य हुन्छ ।
मुहाली धेरै प्रकारका हुन्छन् । साधारण मुहाली, पूजा मुहाली, कुकी मुहाली, भमरा मुहाली, रसन मुहाली, नमोथ मुहाली, गुजराती मुहाली, सहनाई मुहाली, दमाई मुहाली, चाःतु मुहाली (घुमाउरो) देशी मुहाली आदि ।
नेवारले बजाउँदै आएका छालाले मोडेका धेरै बाजा भए जस्तै फुकेर बजाउने सुषिरबाजामा विशेषतः मुहाली, बाँसुरी र वय नै मुख्य हुन् । यी बाजामा बिचमा प्वालहरू हुन्छन् । त्यसबाट विभिन्न स्वरमा धुन निकालिन्छ । अन्य सुषिरवाद्यहरू प्वङ्गा, काहाँ, नेकु, हों, ध्वाती आदि हुन् । यिनमा भने बिचमा प्वाल हुँदैन । त्यसैले मुहाली, बय, बाँसुरीमा झैँ विभिन्न सुर रागमा बजाइँदैन । आफ्नै स्वरमा मात्र बजाइन्छ । यी मुहाली बाजा मल्लकालदेखि नेपाली वाद्यवादनको प्रमुख स्वर बाजाका रूपमा बज्दै आएका छन् ।
मुहाली बाजा शुभकार्यमा मात्र बजाइने भएकाले उत्सव, पूजा, सगुनहरूका साथै ठुलठुला मठमन्दिरमा, नित्य पूजा, दैनिकी पूजाहरूमा, हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको मन्दिरदेखि लिएर काठमाडौँ, भक्तपुर, पाटन, मध्यपुर, कीर्तिपुर र उपत्यकाबाहिर पनि बजाइन्छ । यसका लागि गुठी बन्दोबस्त गरी जग्गा, अक्षयकोष स्थापना गरेर आयस्था राखी मुहाली बाजालाई निरन्तरता दिइएको छ । अक्षयकोषका रूपमा सेवा बिर्ता भनी प्रत्येक ठाउँमा मुहाली बाजा बजाएबापत खान्की दिइएको छ । मुहालीवादकलाई खान्की भनी एक ठाउँमा बजाएबापत एक खान्की गरी एक व्यक्तिले पाँच/छ खान्कीसम्म पाइआएका छन् । एक खान्की बराबर पाँच/दस रोपनी जग्गा हुन्छ । हुन त लिच्छवि राजाहरूको पालादेखि नै मुहाली र अन्य सङ्गीत संरक्षण हेतुले गुठी बन्दोबस्त गरी यस्ता बाजाको संरक्षणार्थ गुठी सञ्चालनको व्यवस्था भएको छ । शिवदेव अंशुवर्माको शक संवत् ५२६ पाटनको लेलेमा भएको शिलालेख नै यसको प्रमाण हो । मल्लकालमा यसले व्यापकता पायो । मल्लकालमा बाजा र सङ्गीत, जात्रापर्व र अन्य संस्कृतिको समेत विकास हुँदै गएको हाम्रो इतिहास साक्षी छ । त्यस्तै बाजा बजाउने जातजातिलाई रोजगारीका रूपमा यो यो जातले यो यो बाजा बजाउने भनी बाजाको वर्गीकरण अनुसार जात नै तोकिदिएको पाइन्छ । मुहाली बाजा, काहाँ बाजा, प्वङ्गा बाजा र अन्य सुषिर बाजासमेत बजाइरहेका शिलामूर्ति मल्लकालमै स्थापना भएको जताततै भेटिन्छ । पशुपति, गोकर्ण, चाँगु र पाटनका ठाउँ ठाउँमा साथै मध्यपुरको सुङ्गा टोल विष्णुवीर मन्दिरअगाडिको पाटी र सिभाः टोलको बाकाछेँ महादेवको मन्दिरको टुँडालमा समेत यस्ता मूर्ति अहिले पनि देख्न पाइन्छ ।
नेपालभित्र बजाइने लोकबाजामध्ये सबैभन्दा महत्वपूर्ण बाजामा पर्छ मुहाली । यसले सबै बाजा र परम्परागत नृत्यमा पनि मुख्य स्थान ओगटिरहेको छ । जहाँ पनि मिल्ने लोक धुन, शास्त्रीय धुन, आधुनिक धुन र कुनै पनि सङ्गीतमा बजाउने बाजा हो, मुहाली ।
प्रत्येक जात्रापर्व, चाडबाड आउने सङ्केत र ऋतु परिवर्तनको सङ्केत पनि दिन्छ, मुहालीले । यसको सुमधुर धुनले वर्ष दिनमा हुने ऋतु परिवर्ततको सङ्केत प्राप्त हुन्छ । ऋतु ऋतुमा बजाइने लोक धुनको स्वरले हप्ता, पाक्षिक, महिना र ऋतुहरूमा आइरहने चाडपर्वमा बजाइने नेवार समाजको फरक फरक लोक धुन र समय समयमा बजाइने धुनले जात्रापर्वको सम्झना दिन्छ । एक दिनमा पनि चार पहरको चारै भिन्दाभिन्दै धुनले दिनको पहर छुट्याइदिन्छ । जस्तै बिहान बिहाचुली, दिउँसो भैरवी, बेलुका बिभास र राति व्याग, रागको धुन बजाइन्छ । अनि जब मालश्रीको धुन बजाइन्छ, त्यो दसैँको सङ्केत हो । दसैँपछि कोजाग्रत पूर्णिमादेखि घनाश्री सुरु हुन्छ । कार्तिक पूर्णिमादेखिको हिउँदे राग निर्णगुनलाई नेवारहरू ‘निउरालय’ भन्छन् । श्रीपञ्चमीदेखि हर्ष उमङ्गको ध्वनि वसन्त रागको धुन गुन्जिन्छ । त्यो बेला होली गीतको धुनले मदमस्त बनाइदिन्छ । त्यसपछि बजाइने घातु धुनले पाहाँचह्रे र बिस्का जात्राको सम्झना दिलाइदिन्छ । वैशाखदेखि धानको ब्याड तयार गर्ने समय भएकाले प्वाडम्मे, शितलामाईको कर्णप्रिय धुन बजाइन्छ । त्यसै याममा लोकेश्वर मछिन्द्रनाथको लामो जात्रा सुरु हुन्छ । मछिन्द्रनाथको रथारोहणदेखि भोटोजात्रासम्म सोरथ रागको धुन बजाइन्छ । सिठ्ठीको दिनदेखि रोपाइँ सुरु गर्ने तरखर हुन्छ । त्यस दिनदेखि सिन्हाज्या रागको धुन गुन्जिन्छ । गठामुगःसम्म, गठामुगःदेखि वर्षामास अथवा सिलुतीर्थको मेला लाग्ने भएकाले सिलुको सम्झना दिलाउने सिलुम्येको धुन सुरु गरिन्छ । गाईजात्राको बेलासम्म, गाईजात्रालगत्तै वर्षायाममा गाइने तुकाज्या रागमा अथवा धान बालीमा गोडमेल गर्ने बेला गाइने गीतको धुन सुरु हुन्छ । कागेअष्टमीदेखि प्रत्येक गाउँठाउँमा दसैँको तयारी हुन्छ । त्यस दिनदेखि मालश्रीको धुन सुरु हुन्छ ।
नेपालभित्र बजाइने लोकबाजामध्ये सबैभन्दा महत्वपूर्ण बाजामा पर्छ मुहाली । लोक धुन, शास्त्रीय धुन, आधुनिक धुन र कुनै पनि सङ्गीतमा बजाइने बाजा हो, मुहाली ।
सुषिरवाद्यमा प्रसिद्धि पाएको मुहाली बाजा अहिले सबै क्षेत्रबाट उपेक्षित हुँदै गएको छ । यो अवसानै भइसक्ने अवस्थामा पुगिसकेको छ । यसको संरक्षण र संवर्धनका लागि पाइला चाल्न हतार भइसकेको छ ।