• १३ पुस २०८१, शनिबार

दुई छिमेकी मुलुकसँग हाम्रो राम्रो सम्बन्ध छ : परराष्ट्र मन्त्री डा. राणा

blog

धनगढी विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्नुहुँदै परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा

कृत बहादुर विष्ट

फूलबारी(कैलाली), पुस १३ गते । नेपाल सरकारका परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चीनसंग सम्बन्ध राम्रो रहेको बताउनु भएको छ । शुक्रवार साँझ धनगढी पुग्नुभएकी परराष्ट्र मन्त्री डा. देउवाले दुई ठुला छिमेकी मुलुकसँग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको  बताउनुभयो ।

पत्रकारहरूले धनगढी विमानस्थलमा राखेको एक जिज्ञासामा परराष्ट्र मन्त्री डा. देउवाले भारतले  नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणका लागि चाँडै निमन्त्रणा दिने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो,“हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत सेप्टेम्बर नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेका छौ । उहाँ पनि नेपाल आउनुहुन्छ होला , हामीलाई  पनि अवश्य बोलाउनु हुन्छ । उहाँहरूको व्यस्तता होला उपयुक्त समयमा पक्कै बोलाउनु हुन्छ । ”

यस्तै परराष्ट्र मन्त्री डा. देउवाले विपिन जोशी चाँडै स्वदेश फर्किने विश्वास समेत व्यक्त गर्नुभएको  छ ।  लिखित रुपमा ईजराईली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई  कुनै  जानकारी नभए पनि  जोशीलाई स्वदेश ल्याउनेमा आफूले निरन्तर पहल गरिरहेको उहाँको भनाई छ ।

यस्तै पत्रकारहरूले राखेको एक फरक जिज्ञासामा  निर्मला पन्तको घटनालाई भुल्न नसकिने बताउनुहुँदै पन्तकै जिल्लाका गृहमन्त्री भएकाले समेत छिट्टै  पन्तले न्याय पाउने विश्वास समेत परराष्ट्रमन्त्रीले व्यक्त गर्नुभयो  । 

परराष्ट्र मन्त्री डा. राणा शनिवार कैलालीका विभिन्न कार्यक्रममा  सहभागी हुने कार्यक्रम रहेको छ । उहाँसँगै वन मन्त्री ऐनबहादुर शाही ठकुरी समेत धनगढी पुग्नुभएको छ ।

परराष्ट्र मन्त्री राणाको धनगढी विमान स्थलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू र नेता कार्यकर्ताहरूले भव्य स्वागत गर्नु भएको थियो ।