काठमाडौं, पुस १२ गते। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा उच्च पहाडी भू-भागमा हिउँ र पानी पर्ने पूर्वानुमान गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसम बुलेटिनका अनुसार शुक्रबार राति उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसैगरी, बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना छ।
महाशाखाका अनुसार शनिबार देशैभरका हिमाली तथा उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिउँ पर्ने सम्भावना छ।
यसैगरी, सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ।