• १३ पुस २०८१, शनिबार

आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु आवश्यक छः मुख्यमन्त्री लामा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ । तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, पुस १२ गते। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

मकवानपुरको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पस परिसरमा स्थापना गरेको विजिनेस इन्क्युबेसन सेन्टरको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री लामाले विदेशमा गएर जे पनि काम गर्न हुने र देशभित्र अध्ययन अनुसारको काम गर्नु हुँदैन भन्ने मानसिकताको अन्त्य गर्नुपर्ने बताउनुभयो।

उहाँले अब सिपमूलक र व्यावसायिक शिक्षाका लागि अहिलेको पाठ्यक्रममा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिँदै व्यावसायिक शिक्षा र स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने शिक्षाको पक्षमा प्रदेश सरकार रहेको बताउनुभयो।

मुख्यमन्त्री लामाले मकवानपुर बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस भएर पनि यस क्षेत्रकै उत्कृष्ट क्याम्पसमा स्थापित हुनु गौरवको विषय भएको भन्दै प्रदेश सरकारले व्यावसायिक र सिपमूलक शिक्षाका लागि क्याम्पससँग सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रदेशका पूर्व मूख्यमन्त्री डोरमणि पौडेलले विद्यार्थी विदेश पलायन रोक्न सिपमूलक र व्यावसायिक शिक्षा आवश्यक भएको भन्दै विद्यार्थीलाई देशभित्र केही हुँदैन र गर्न सकिँदैन भन्ने निराशा त्याग्न आग्रह गर्नुभयो।

मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यम सिलवालले विद्यार्थीको अभिरुचि अनुसारको शिक्षा दिन र उनीहरूलाई पढ्दै रोजगार बन्न सहयोग पुर्याउन विजिनेस इन्क्युबेसन सेन्टर स्थापना गरेको बताउँदै बिजिनेस इन्क्युबेसन सेन्टरले विद्यार्थीको क्षमता अभिवृद्धि र उद्यमशीलता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अशोक शाक्य, क्याम्पसका प्राध्यापक सङ्घका अध्यक्ष घनश्याम घिमिरे, स्वतन्त्र विद्यार्थी युनियनका सभापति छोइसाङ तामाङलगायतले पढ्ने, पढाउने, सिक्ने, कमाउँदै जान र विदेश जाने क्रम रोक्न विजिनेस इन्क्युबेसन सेन्टर स्थापना गरिएको बताउनुभयो।