धर्बेन्द्र झा
जनकपुरधाम, पुस १२ गते । बालविवाहमुक्त पालिका घोषणा गराउने उद्देश्यका साथ धनुषाको लक्ष्मिनियाँ गाउँपालिकाको सपहीस्थित बिपी माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार बालिका सम्मेलन सम्पन्न भएको छ ।
गर्ल्स फस्ट फण्डको सहयोगमा लाइफ नेपाल र लक्ष्मिनियाँ गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेको बालिका सम्मेलनमा किशोरीहरुले बालविवाह अन्त्यका लागि के के गर्नुपर्छ भन्ने विषयमा आफ्ना धारणाहरु राखेका थिए । उनीहरुले मूलतः आर्थिक विपन्नता र चेतनाको अभावमा बालविवाह जस्ता कुरीति बढ्दै गएको भन्दै यसका अन्त्यका लागि किशोरीहरुले एक अर्कालाई सचेत गराएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले बालविवाह अन्त्यका लागि निर्माण भएका ऐन कानुनको समेत प्रभावकारी कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गर्दै बालविवाह रोक्नका लागि सरोकारवाला सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सम्मेलनमा किशोरीहरुलाई कुनै बेला सङ्कट आइपर्दा आफूलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा आत्मरक्षाका लागि तालिम दिइएको छ ।
बालिका सम्मेलनमा बालविवाह रोक्ने सम्बन्धमा तयार पारिएको जनचेतनामूलक गीतहरु प्रस्तुत गर्नुको साथसाथै मिथिला क्षेत्रका लोक नृत्य मिझिया र समाचकेवाको प्रस्तुति गरिएको थियो । बिपी माध्यमिक विद्यालय किशोरी क्लबका अध्यक्ष प्रतिमा यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा लक्ष्मिनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बालविवाह समाजका लागि अभिशाप रहेको भन्दै यसका अन्तयका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले केही महिनाभित्रमै लक्ष्मिनियाँ गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने लक्ष्यका साथ पालिकाले लाइफ नेपालसँगको सहकार्यमा कामकाजलाई अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले सन २०१९ देखि नै लक्ष्मिनियाँ गाउँपालिकामा बालविवाह मुक्तका लागि आफनो संस्थाले काम गर्दै आएको र सो समयमा ४९ प्रतिशत रहेको बालविवाहका घटना हाल २२ प्रतिशतमा झरेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा गर्ल्स फस्ट फण्डका कार्यक्रम सल्लाहकार निर्मला गुरुङ्, उक्त पालिकाका छ वटै वडाका वडा अध्यक्ष र पालिकाभरिका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो । सम्मेलनबाट बालविवाहमुक्त पालिका घोषणा गर्न आठबुँदे घोषणापत्र जारी गरिएको छ ।