• १३ पुस २०८१, शनिबार

पाँच हजार विद्यार्थीलाई ट्राफिक प्रशिक्षण

blog

जिल्ला ट्राफिक बर्दीबासले विद्यालय तहमा सुरु गरेको ट्राफिक सचेतना अभियानको उद्घाटन सत्रका सहभागी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, पुस १२ गते । चुनौतीपूर्ण बन्दै गएको सडक असुरक्षा न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय बर्दीबासले प्रशिक्षण अभियान सुरु गरेको छ । यस अभियानमा नगर क्षेत्रका २३ वटा माध्यमिक विद्यालयका पाँच हजार ७० जनालाई समेटिएको छ । बर्दीबास ट्राफिकको यो महत्वाकांक्षी अभियानमा विद्यार्थी साथ उनका अभिभावक, स्थानीय जनप्रतिनिधि, शिक्षक र कर्मचारीलाई समेत सहभागी गराइने तालिका छ । 

विद्यालयका बालबालिका सूचनाका संवाहकसमेत भएकाले विद्यालय तहबाट सडक सचेतना कार्यक्रमको थालनी गरेको बर्दीबास ट्राफिक प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो । उहाँले यो कार्यक्रम पुसदेखि माघसम्म प्रत्येक विद्यालयमा क्रमिकरुपमा गर्दै जाने जानकारी दिनुभयो ।

अभियानको थालनी बर्दीबास १ स्थित देउराली माध्यमिक विद्यालयबाट गरिएको छ । यसको उद्घाटन बर्दीबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्री र प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले आज संयुक्त रुपमा गरेपछि अभियानको औपचारिक सुरुवात भएको जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले यसै महिनादेखि पूर्वपश्चिम राजमार्ग एशियाली मापदण्डमा स्तरोन्नति हुने भएकोले ट्राफिक ज्ञान तथा सडक अनुशासनको औचित्य र महत्व थप आवश्यक भएको बताउनुभयो । सडक अनुशासनको पालना दण्ड र जरिवानाले भन्दा पनि शिक्षा, सचेतना र सहमतिले हुने भएकोले ट्राफिकको विद्यालय अभियानलाई बर्दीबास नगरपालिकाले सहयोग र सहकार्य गरेको उहाँको भनाइ थियो ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले ट्राफिक नियम र सडक अनुशासनलाई संस्कारको रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सवारी लाइसेन्सलाई सहज बनाउन आफनो तहबाट पनि सहजीकरण गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो । 

प्रजिअ कवाडीले भन्नुभयो, "अव्यवस्थित पार्किङ, अतिक्रमित सडक, सडकमै हाटबजार जस्ता समस्या समाधानका लागि तपाईंहरु कदम बढाउनुस् प्रशासनले आवश्यक सहयोग गर्छ ।"

महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले उद्घाटन सत्रमा सहभागी स्कुले विद्यार्थीलाई प्रश्नोत्तर शैलीमा ट्राफिक ज्ञान र सडक अनुशासनसम्बन्धी गराएको जानकारीले कार्यक्रमलाई रोचक मोड दिएको थियो । पोखरेलले भन्नुभयो, "सडक सुविधा मात्र हैन । नजान्दा यो दुर्घटनास्थल पनि हो । ट्राफिक नियम र सडक अनुशासनको पालनाले दुर्घटनाबाट बच्न सकिने हुँदा यो अभियान सञ्चालन गरिएको हो ।" 

पथलैयास्थित मधेश प्रदेश ट्राफिक प्रमुख भीमकिरण बोगटीले नियम लाद्ने र राजस्व असुलने मात्र ट्राफिक प्रहरीको लक्ष्य नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य हो दुर्घटनालाई शून्यमा झार्ने । ८० प्रतिशत दुर्घटना मोटरसाइकलको कारण भएको छ । ट्राफिको एक्लो प्रयासले मात्र सडक सुरक्षा हुन सक्दैन । सबैको सहयोग, सहाकार्य, दायित्वबोध र ट्राफिक नियमको पालनाले मात्र यसलाई न्यून गर्न सकिन्छ ।’

जिल्ला ट्राफिक कार्यालय बर्दीबासका प्रमुख लक्ष्मीराज जोशीले चालु आवको ६ महिनामा महोत्तरीमा सवारी दुर्घटना र मृतक एवं घाइतेको सङ्ख्यामा उल्लेख्य कमी आएको विवरण पेश गर्नुभएको थियो । 

जोशीले भन्नुभयो, "सडक अनुशासन र ट्राफिक नियम जीवनोपयोगी ज्ञान पनि भएकोले विद्यालय तहमा सुरु गरिएको ट्राफिक सचेतना कार्यक्रमले सकारात्मक, नतिजामूलक र दीर्घकालीन प्रभाव राख्ने विश्वास लिएका छौं ।"

यसअघि बर्दीबास उधोग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम र लागुऔषध नियन्त्रण पाठ्यक्रममै समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।