• १३ पुस २०८१, शनिबार

ज्येष्ठ नागरिकका अपेक्षा

blog

सङ्घीय गणतान्त्रिक नेपालको संविधान कार्यान्वयनपश्चात् ज्येष्ठ नागरिक ऐन, २०६३ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयभित्र सक्रिय रहन थाल्यो । संविधानको धारा–४१ ले मौलिक हकको रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था सार्थक उपलब्धि हो । ज्येष्ठ नागरिक ऐन, २०६३ (प्रथम संशोधन २०७९) जनसमक्ष कार्यान्वयनमा आएको छ । यो संशोधन अत्यन्त प्रभावकारी र व्यावहारिक छ । यसै प्रसङ्गमा स्थानीय तहको एकल अधिकार क्षेत्र भित्र संविधानको अनुसूची– ८ क्रसं १६ मा व्यवस्था छ । संशोधन ऐनले ज्येष्ठ नागरिकका अधिकारहरू के–के हुने छन् र उनीहरूको पालन पोषण तथा हेरचाह गर्ने कर्तव्य कसको, कसरी हुने र नभए (दुरुपयोग) मा को–को जिम्मेवार हुने र कसरी व्यवस्थापन गर्ने आदि व्यवस्था गरिएको छ । यसका साथै आमजनचेतनामूलक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अक्टोबर–१, अल्जामायर्स डे, ज्येष्ठ नागरिक दुरुपयोग/हिंसाविरुद्वको अभियान, सन्धि सम्झौता, महासन्धिमार्फत नेपाल सरकार निराकरण एवं व्यवस्थापनका क्षेत्रमा विविध कार्यक्रमसहित सक्रिय रहँदै आइरहेको छ । त्यसैमध्ये नेपाल सरकार मन्त्रीपरिषद्को विसं २०७८ जेठ १० को निर्णय अनुसार हरेक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस एउटा सार्थक नारासहित मनाउँदै आइरहेको छ । यस वर्षको नारा ‘सभ्य समाजको आधार : ज्येष्ठ नागरिकमैत्री घर परिवार’ रहेको छ । 

परिवार, समाज र राज्यको उत्पत्तिपूर्व मानिस असभ्य अवस्थाबाट सभ्य, नैतिक, चरित्रवान् र दया, धर्म, कर्ममा मानवका मूल्य र मान्यतालाई बढी महत्व राख्दथ्यो  तर आज २१ औँ शताब्दीमा मानिसका महत्वकाङ्क्षा बढ्दै गए । प्रविधि र आमसञ्चार माध्यम सामाजिक सञ्जालमार्फत जनचेतना अकल्पनीय तरिकाले परिवर्तन एवं रूपान्तरण गर्दै आइरहेको छ । अर्थात् मानिसलाई विज्ञान र प्रविधि फलिफाप त भयो तर बुढ्यौली समयलाई अभिशाप तुल्य छ । किनभने आज ती अमूल्य निधि (ज्येष्ठ नागरिक) भोलि हामी सबै आफ्नो ऊर्जाशील समय, आफ्नो परिवार, समाज र राज्यलाई योगदान गरेका व्यक्ति उत्तराद्र्धमा निसहाय हुन बाध्य छौँ । विज्ञान र प्रविधिको छालमा, असल शासनको अभाव र बसाइसराइँको चपेटामा नयाँ पुस्तासँग छुट्टिन बाध्य छौँ । यो समस्यालाई पश्चिमा मुलुक र विकसित देश÷सरकारले वृद्धवृद्धाको राम्रो व्यवस्थापन पनि गर्न सफल छन् तर गरिब, विपन्न र पिछडिएको समाज क्षेत्र, सरकार र व्यवस्थापनलाई ठुलो चुनौतीको रूपमा देखा परिरहेको छ । यसैले यो समस्याको निराकरण/व्यवस्थापन जराधारबाट पहिल्याउने प्रयास गरौँ । यसको प्रथम सुरुवात आमजनचेतना नै हो । यो पूर्वीय सभ्यता, संस्कार, रितिथिति– मातृ देवो भवः, पित्रृ देवो भवः, गुरु देवो भवः आदि भन्ने मूल मन्त्रबाट मात्र सम्भव छ । त्यो शिक्षा– औपचारिक वा अनौपचारिक, भौतिक वा अध्यात्मिक, नैतिक र निर्देशित जेसुकै माध्यमद्वारा दिआैँ तर सारतत्व परिवारका सदस्यमा न्यूनतम मानव चेतना वा जनचेतना÷दीक्षा त्यहाँबाट सुरुवात गरौँ । आजका बाबुआमा भोलिका वृद्धवृद्धा, आजका युवकयुवती भोलिका आमाबाबु र आजका बालबालिका भोलिका आमाबाबुको पालो र गन्तव्य सबैको एउटै हो । यसमा कोही भ्रम पर्नु छैन, आँखा चिम्लनुपर्ने छैन । 

हिजोको वस्तु विनिमय (बाटर प्रणाली), त्यसपछि धातुजन्य सिक्काको प्रचलन आज कारोबार असहज हुँदा कागजी नोटमा ठिक थियो ।  त्यत्तिले पुगेन, आज पैसाको रूपान्तरण डिजिटल करेन्सी (स्क्यान एन्ड पे) ठ्यास–ठ्यास मोबाइल टु मोबाइल व्यापार व्यवसाय नोट देख्नै नपर्ने ! मानिस यान्त्रीकीकरण भइसक्यो कसलाई दोष ? यो हाम्रो आवश्यकताको आविष्कार होइन र ? छोराछोरी नपढाएर भएन, राम्रो पढायो घरबास (गाउँ ठाउँ देश) छाडेर बिदेसिनुपर्ने बाध्यता हामी आफैँले सिर्जना गरेका होइनौँ र ! यस्तो अवस्थामा अब हामी मानवमैत्री समाजको वातावरण निर्माण गरौँ, जहाँ बाजेबजैदेखि नातिनातिना पुस्ताबिच सम्पर्क निरन्तरता कायम हुने/रहने समाज र परिवारको निर्माण गरौँ अर्थात् ‘जहाँ सभ्य समाजको आधार : ज्येष्ठ नागरिकमैत्री परिवार’ को परिकल्पनासहित अगाडि बढ्न सफल होऔँ ।

ज्येष्ठ नागरिकको अवस्था

ज्येष्ठ नागरिकको समस्याले ठुलो चुनौती दिइरहेको छ । नेपालमा जनसङ्ख्याको १०.२ प्रतिशत (झन्डै ३० लाख) ज्येष्ठ नागरिकको अंश रहेको छ । रोजगारी, अध्ययन र अन्य कारणले युवा शक्ति तिब्र गतिमा बिदेसिने गरेका छन् । अर्कोतर्फ गाउँबाट छिमेकी मुलुक भारत र चीन अस्थायी बसाइँसराइ र गाउँबाट सहरतिर आन्तरिक बसाइँसराइको क्रम पनि बढदो छ । जनचेतनाको अभावमा ज्येष्ठ नागरिकहरू पनि आफ्नो अधिकार र कर्तव्यबारे बेखबर छन् । विसं २०५१ पछि मात्र सामाजिक सुरक्षाका लागि वितरण भएको सानो सहायता रकम एक सय रुपियाँ हाल चार हजार रुपियाँ पुग्दा ज्येष्ठ नागरिक निकै नै जागरुक भएका छन् । हाम्रो सामाजिक–सांस्कृतिक संरचना र परम्पराले यो भत्ताको सदुपयोग धेरै भएको तर परिवारभित्र ज्येष्ठ नागरिकको रेखदेख गर्ने जिम्मेवार व्यक्तिबाट पनि दुरुपयोग गर्ने गरेको गुनासा सुनिन्छ । यो तथ्य कुनै एक अध्ययन प्रतिवेदनले ज्येष्ठ नागरिक अधिकांश आफ्नै छोराछोरी, बुहारी (परिवरजन)बाट दुरुपयोग हुने गरेको भेटिएको छ । यसमा नेपाल पनि अलग छैन । यसविरुद्व उनीहरू सरोकार निकाय पालिकाको वडा र न्यायिक समितिमा गुनासो राख्न चाहँदैनन् । न्यायिक उपचारको खोजी गर्नुभन्दा पीडा लुकाएर/सहेर बस्ने चलन पनि छ । त्यसै गरी जनप्रतिनिधि पनि आफ्नो मत सङ्ख्या घट्ला, अलोकप्रिय भइन्छ भनेर यस्ता घरायसी झै झगडामा फस्न/संलग्न हुन खासै रुचि राख्दैनन् । त्यसैले नेपाल सरकारले यी समस्यालाई समाधान र सम्बोधन गर्न विविध राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अभ्यास र कार्यक्रम राख्दै आएको छ । 

भावी नीति तथा कार्यक्रम

संशोधनले व्यवस्था गरे अनुसारको प्रावधानलाई अक्षरशः प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र समस्या उठ्नै नपाउने गरी परिवारभित्रै, समुदाय र समाजमा जनचेतना फैलाउने, हाम्रो अमूल्य सामाजिक मूल्य र मान्यताहरूलाई घनीभूत व्याख्या गरी सामाजिक सद्भाव, अन्तरपुस्ता सिप, अनुभव र नैतिक शिक्षाको बोध गराउने ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ जस्ता कार्यक्रमको लक्ष्य, उद्देश्य र कार्यव्रmमलाई सफल पार्नेतर्फ सम्पूर्ण राज्य संयन्त्र क्रियाशील हुनु आवश्यक छ । यस कार्यमा स्थानीय सरकारको भूमिका र त्यसभित्र न्यायिक समिति र वडा समिति सक्रिय रहनु अति आवश्यक छ । ज्येष्ठ नागरिकका समस्या र सवाललाई वडा तहमै समाधान गर्ने, बढीमा न्यायिक समिति वा पालिकाभन्दा न्यायपालिकातर्फ धकेल्न हुँदैन । असल शासनमा विधिको शासन हुन्छ विधिको शासनभित्र दण्डहीनता हुँदैन, संस्कार र पद्धतिले काम गर्छ ।

भूमण्डलीय अतिक्रमण, विज्ञान र सूचना प्रविधिको दु्रततर विकासको गतिले मानिसको मौलिक मूल्य र मान्यता माथिको ठुलो चुनौतीलाई आजको युवाशक्तिले भोलिको सुनिश्चित सुखी र सुरक्षित भविष्यका लागि परिवारभित्र र बाहिर (समुदाय) मा ज्येष्ठ नागरिकमैत्री वातावरण सिर्जना गर्न कानुनी पूर्वाधार मात्रै होइन, सामाजिक नैतिक एवं मनोवैज्ञानिक पूर्वाधार तयार गर्न आफैँबाट सुरुवात गरौँ । नेपालमा बहुलवाद र बहुदलीय शासन पद्धति स्थापनापछि धैरै सङ्घ संस्था खोलिएका छन् । त्यसमा ज्येष्ठ नागरिकको क्षेत्रमा पनि राष्ट्रव्यापी धेरै सङ्घ संस्था, आश्रम, सेवा केन्द्र र परोपकारी संस्थाको उत्पत्ति भएका छन् तर त्यसभित्र पवित्र सेवा भावले काम गर्ने प्रचलन र अभ्यासमा धेरै कमीकमजोरी छन् । त्यहाँ सरोकार निकाय घरदैलोमा भेटिने स्थानीय तहको क्षेत्र अधिकार सर्वोपरि हुन्छ । त्यसैले स्थानीय सरकार र ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत गैससबिच गहन अन्तर्क्रिया, संवाद, नियमन, समन्वय रेखदेख हुनु अति आवश्यक छ । सरोकार निकाय सङ्घीय, प्रदेश र पालिकाले नीतिगत तहमा धेरै पूर्वाधार (नीति, योजना, कार्यक्रम) तयार गर्नुपर्ने र कार्यान्वयनको क्षेत्रमा प्रभावकारी अनुगमन, नियमन र नियन्त्रणको पनि प्रभावकारिता कमजोर महसुस भएको छ । ज्येष्ठ नागरिकको गुनासा, राज्यबाट प्रदान गरिएका सेवा र सुविधा जस्तै यातायत, स्वास्थ्य, सामाजिक सुरक्षाका सवालमा धेरै काम गर्नुपर्ने छ । अन्त्यमा ज्येष्ठ नागरिकका सवालमा समय र परिस्थिति, भूमण्डलीय तापक्रम परिवर्तन र विज्ञान र प्रविधिसँग ज्येष्ठ नागरिकहरू समयानुकूलित हुन नसक्नु पनि अर्को समस्या हो । त्यसैले समयमै युवाशक्तिले भाबी ज्येष्ठ नागरिकमैत्री समाज निर्माण गरी सुरक्षित हुन राज्यद्वारा प्रतिपादित ऐन कानुन र पुर्खाद्वारा स्थापित असल अभ्यासबाट सचेत भई अन्तरपुस्ताको रूपान्तरणलाई सार्थक बनाउन ज्येष्ठ नागरिकमैत्री शासन पद्धति र ज्येष्ठ नागरिकमैत्री परिवार निर्माण गरौँ । 

Author

प्राडा प्रेम शर्मा