पुस माघ हरेक वर्ष आउँछ । पात्रो पल्टिँदै गर्दा कात्तिकदेखि नै बिस्तारै तापमान न्यून हुँदै गई चिसो बढ्न थाल्छ । कात्तिकलाई उछिन्दै मङ्सिरमा थप चिसो हुन्छ । पुस तथा माघका दिन त अझ चिसो हुने नै भयो । पृथ्वीको उत्तरी गोलार्धमा कात्तिकदेखि माघसम्मका दिनमा तापक्रम तल आउनु भूगोलीय बाध्यता हो । हिउँदका बेला उत्तरी गोलार्धका कतिपय भूभागमा तापमान माइनसमै जान्छ । अरू बेला गर्मीले खपिनसक्नु हुने स्थानमा समेत हिउँदका दिनमा तापमान तल झर्छ । दिनमा भन्दा रातमा अझ तापमान तल झर्ने गर्छ । तराईमा समेत शीतलहर पर्न गयो भने दिनमै पनि बसिनसक्नु चिसो बढ्छ । दिनमै चिसो हुने तराई रातमा झनै चिसो हुन्छ । हिमाल, पहाड र तराई जतासुकै भए पनि चिसोले थप कष्ट लिएर आउँछ । अझ विपन्न वर्गका निम्ति त चिसोको मौसम कहर बनेरै आउँछ । बालबालिका, वृद्धवृद्धा, रोगले सताएका मानिसका निम्ति हिउँदका दिन सहज हुँदैनन् ।
नेपाल पृथ्वीको उत्तरी गोलार्धमै पर्ने हिमाल, पहाड र तराईको मिश्रित भूभाग हो । चिसो मौसम सुरु भएदेखि नै बिस्तारै जनजीवन प्रभावित हुँदै जान्छ । अझ हिमाली भेगमा बसोबास गर्ने मानिसका निम्ति त हिउँद छिप्पिँदै जाँदा कष्टका दिन आरम्भ हुन्छन् । उच्च हिमाली भेगमा हिमपात सुरु हुन्छ । तापमान तल झर्दै जाँदा रात अझ चिसो हुँदै जान्छ भने बिहान शीत र तुसारोले जनजीवन थप कष्टकर बनाउँछ । बगिरहेको पानी जमेर बरफ बन्छ र त्यसैलाई तताएर पिउने पानीको आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । कतिपय उच्च हिमाली भेगका मानिस चिसो बढ्दै गएपछि आफू र पालेका पशुधनसहित ओरालो लाग्छन् । पहाडी खोँचतिर जाडोभर बसेर माघ मध्य तथा फागुन लागेपछि बिस्तारै उकालो लाग्ने गर्छन् । नेपालको पहाडी तथा तराई भूभागमा समेत हिउँदका दिन सहज हुँदैनन् । जाडो बढेसँगै चिसोजन्य रोगव्याधीले समाउने गर्छ । सोमबारदेखि नै पश्चिमी वायुको प्रभावले पानी तथा हिउँ पर्न थालेपछि थप कष्ट बढेको छ ।
हरित ऊर्जाका अपार सम्भावना भए पनि नेपालमा अझै परम्परागत इन्धनको प्रयोग व्यापक छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइँठा बाल्छन् । दाउरा र गुइँठा कार्बनका मूल स्रोत हुन् । घरभित्रको प्रदूषणबाट महिला तथा बालबालिका बढी स्वास्थ्य समस्याबाट प्रभावित हुन्छन् । हिउँदका दिनमा वायु प्रदूषणको मात्रा उच्च हुन्छ । नेपालमा वार्षिक ४८ हजार पाँच सयको मृत्यु वायु प्रदूषणबाट हुने गरेको अध्ययन प्रतिवेदनसमेत देखिएको छ । गामीण जीवन मात्र होइन, हिउँदका दिन सहरी जीवनसमेत उस्तै कष्टकर हुन्छ । सवारीसाधनको इन्धन दहनको क्षमता जाडोयाममा घट्ने हुँदा इन्धन खपत बढ्छ । कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जित हुने क्रम जाडोमा बढी हुने हुँदा वायु प्रदूषण बढ्ने विज्ञहरूको भनाइ गम्भीर छ । जाडोको समयमा ग्रामीण क्षेत्रमा पराल र अन्य जैविक फोहोर जलाइन्छ । आगो ताप्नका लागि पनि प्लास्टिक तथा अन्य वस्तु बालिन्छ । यसले थप जटिलता ल्याउँछ ।
भारतको हरियाणा तथा उत्तर प्रदेशमा बालेको परालको धुवाँको असरसमेत पश्चिमी वायुका कारण बेलाबखत नेपाल आइपुग्छ । वायुमण्डल थप प्रदूषित हुन्छ । यसले हावामा सूक्ष्म कण तथा अन्य हानिकारक ग्यास बढाउने हुँदा श्वासप्रश्वासका निम्ति स्वच्छ हावाको अभाव हुन्छ । अझ इँटाभट्टा, ऊर्जा उत्पादन गर्ने कोइलाजन्य उद्योग र सिमेन्ट उद्योगले जाडोयाममा बढी कार्बन छोड्छन् । धुवाँ तथा प्रदूषक उत्सर्जनले जाडोयाममा प्रदूषण तीव्र हुन्छ । चिसोसँगै बढ्ने वायु प्रदूषणले स्वच्छ वायुको न्यूनता चुनौती बन्छ ।
जनस्वास्थ्यविद्का अनुसार जाडोयाममा बढ्दो वायु प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउँछ । यस्तो बेला रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षाघात, हृदयाघात जस्ता समस्याले स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा विशेष सजग हुनु पर्छ । जाडोयाममा घाम लाग्नुअघि बिहान बढी प्रदूषण हुने भएकाले मुटुरोगीलाई बढी असर गर्न सक्छ । यो समस्या सहरी क्षेत्रमा अझ बढी हुन्छ । मुटु, रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, दीर्घरोगी, दमबाट पीडित बढी जोगिनु पर्छ । न्यानो नाना र तातो खाना जाडोयामका असल साथी हुन् । चिसोमा सबै जोगिनु पर्छ, अझ बालवृद्धा तथा रोगीलाई जोगाउनु जरुरी छ ।