केही दशकयता सोसल मिडियाको बढ्दो प्रभावकारितासँगै यो मिडियाले ‘जनताको वैकल्पिक मिडिया’ को रूपमा स्थान लिँदै गएको छ र सोही अनुरूप परिभाषितसमेत गर्न थालिएको छ । यस्तो परिभाषामा सन्देह गर्ने आधार भेट्टाउन मुस्किल छ । सामाजिक जीवनमा उच्च हैसियत राख्ने व्यक्तिदेखि सामान्य तहका नागरिकको पहुँचको सीमाभित्र आबद्ध सोसल मिडियाका प्रयोगकर्ताका कुनै वर्ग पङ्क्ति छैन । जसले पनि आफू अनुकूल प्रयोग गर्न पाइने भएको हुँदा र तत्क्षण नै अधिकांश व्यक्तिसामु आफ्ना विचार एवं भावना सम्प्रेषण गर्न सकिने भएको हुँदा यो सबै तह एवं तप्काका निम्ति प्रियकर, रुचिपूर्ण र प्रयोजनकारी लाग्नु स्वाभाविक देखिँदै आएको छ ।
२०४६ सालको आखिरी समयमा राजनीतिक परिवर्तन भएपश्चात् २०४७ सालमा जारी नेपाल अधिराज्यको संविधानमा मिडियालाई चौथो स्तम्भको रूपमा मान्यता दिइयो । त्यसयता २०६४ सालमा जारी अन्तरिम संविधान र २०७२ सालमा नयाँ संविधान जारी हुँदा पनि चौथो स्तम्भकै रूपमा रह्यो, मिडिया जगत् । अब कुनै सन्देह देखिँदैन, पछिल्लो समय उदाएको सोसल मिडियाले भने आफूलाई एक प्रभावशाली स्तम्भका रूपमा उभ्याउन कसरत गरिरहेको छ । सोसल मिडियाको प्रभावशाली एवं व्यापक क्षितिज चुम्दै गइरहेको स्थितिलाई दृष्टिगत गर्दा यस्तो महसुस हुन्छ, कतै यो मिडियाले आफूलाई ‘पाँचौँ स्तम्भ’ को रूपमा उभ्याउने प्रयत्न त गरिरहेको छैन ? यो प्रश्नसँगै अर्को प्रश्न पनि जोडिएर आउँछ, ‘के यो सम्भव विषय हो ?’
सम्भव वा असम्भव आफ्नो ठाउँमा रहे पनि यो नितान्त सोचनीय विषयका रूपमा उदाएको छ । सोसल मिडियाको दिनानुदिन बढ्दो प्रभाव एवं गतिशील चरित्रप्रति उपेक्षित दृष्टि लगाउने वा यसलाई न्यूनीकरण गरेर अघि बढ्ने हरेक प्रयत्न भने आगामी दिनमा सायदै उत्पादक होला ! पछिल्लो समय सोसल मिडियाले हरेक क्षेत्र, तह, तप्काबिच जसरी आफ्नो प्रभुत्व कायम गर्दै गइरहेको छ, यो पक्षलाई उपेक्षा गरेर अघि बढ्न सक्ने स्थितिप्रति कुनै पनि कोणबाट बेवास्ता गर्न सकिँदैन । कसैले सोसल मिडियालाई उपेक्षा गरेर अघि बढ्ने चाहना राख्छन् भने यस्तो कार्य सुतुरमुर्ग पन्छीको कथाको पुनरावृत्ति मात्र हुने निश्चितप्रायः देखिन्छ, जुन पन्छीले सङ्कटको बेला बालुवामुनि टाउको घुसारेर आफू सुरक्षित रहेको गर्वबोध गर्छ ।
सोसल मिडियाले आफ्नो प्रभावकारी कदमलाई गतिशील तुल्याउने प्रयत्न दशकअघिदेखि नै हुँदै आए पनि कोभिड–१९ को महामारीले भने यो मिडियालाई उच्च विन्दुतिर उन्मुख तुल्याउने दरिलो आधार दिलाइदियो । कोभिड–१९ को महामारीले उच्च विन्दु छुने प्रक्षेपण भएसँगै लकडाउन प्रारम्भ भयो । सहरी इलाकामा रहेर जीवनयापनका डगर नापिरहेका सामान्य मजदुरदेखि शिक्षित युवा पङ्क्तिले बेरोजगारीको डरलाग्दो अवस्था झेल्नु प¥यो । कतिपयले आफ्नो ‘भविष्य’ देखेनन् । सहरी क्षेत्रमा निर्माण कार्य, सामान्य व्यापारलगायत अन्य क्षेत्रमा कार्यरत सामान्य मजदुर कोभिड–१९ को कहरबाट बच्न र गुमेको रोजगारीबाट राहत पाउने अभिलाषा सँगाल्दै आफ्नै थातथलोतिर फर्किए । शिक्षित युवाले पनि आफ्नै पुख्र्यौली थलोतिर पाइला तन्काए । कोभिड–१९ को कहर कति लामो समयसम्म तन्किएला र सहरी इलाकामा फर्किएर पूर्ववत् अवस्थामै आफ्ना पेसा व्यवसायमा फर्किन सकिएला वा नसकिएला भन्ने निश्चयमा प्रश्नचिह्न लागिरहेको थियो । यिनै अनिश्चयबोधबिच सोसल मिडियालाई पछ्याउँदै आइरहेका युवा पङ्क्तिले भने सोसल मिडियाको सही सदुपयोग गरी आर्थिक आम्दानीको मुहान खोज्न थाले । उनीहरूले विविध सोसल मिडिया (युट्युब, फेसबुक, ह्वाट्सएप, ट्युटर) मा आफूलाई सङ्केन्द्रित तुल्याउन थाले र यिनै माध्यम समातेर नयाँ पेसा र व्यवसायरूपी दिशाको पहिचान गरे ।
यो पाटो आफ्नै ठाउँमा छ । पछिल्लो समय भने सोसल मिडियाको दुरुपयोगमा तीव्रता छाउँदै गइरहेको स्पष्टै देखिन्छ । सोसल मिडियामार्फत सामाजिक–सांस्कृतिकलगायत क्षेत्रमा विद्वेष, असहिष्णुता र अनेक खालका अफवाह फैलाउँदै आफ्ना मनोवृत्ति पूर्ति गर्नेहरूका पङ्क्ति बढ्दो छ । कतिपय अराजक भिड, समूह वा व्यक्तिले आफ्ना कुण्ठित मनोभाव र स्वार्थजन्य पक्षलाई प्रभावकारी प्रदर्शन गर्ने ‘भद्दा मञ्च’ को रूपमा समेत सोसल मिडियालाई प्रयोग गर्ने क्रम दिनानुदिन बढिरहेको हुँदा यो माध्यम हरेक किसिमका प्रदूषण प्रवाह गर्ने माध्यमका रूपमा अङ्कित हुँदै गइरहेको त छैन ? यो प्रश्न नेपाली समाज, सांस्कृतिक क्षेत्रलगायत अरू सन्दर्भका निम्तिसमेत अति नै चिन्ताजनक विषय बन्न पुगेको छ ।
हरेक व्यक्ति वा समुदायले आफ्ना विचार एवं दृष्टिकोणका साथै सामाजिक एजेन्डा वा व्यक्तिगत समस्यालाई सतहमा ल्याउन पाउँछन् । संविधानप्रदत्त यस्तो हक एवं अधिकारलाई प्रयोग गर्ने सहुलियत सबैका निम्ति प्राप्य विषय हो । व्यक्तिगत वा सामाजिक विषय र मुद्दालाई अभिव्यक्त गर्ने सही र उपयुक्त माध्यम कुन हो त ? यो विषयमा स्पष्ट हुन जरुरी छ । सोसल मिडियामार्फत आफ्ना उच्छवास पोख्दा समस्याको निराकरण हुन्छ वा अरू बाटा पहिल्याउन अनिवार्य छ ? कुनै व्यक्ति वा समुदाय राज्यगत तह एवं सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिलगायत हिसाबले पीडित भएका हुन सक्छन् । यस्ता सन्दर्भमा कानुनी उपचारका विधि अवलम्बन गर्न सकिन्छन् । भलै, कानुनी उपचारको बाटो रोज्दा त्यसले तत्काल न्याय दिन नसक्ला, यस्तो प्रक्रियाले बर्सौं अल्झाइरहन सक्ला । यस्तो स्थितिमा सोसल मिडियामार्फत न्याय खोज्न चाहनु यो मिडियाको सदुपयोग हो कि दुरुपयोग ? अर्कोतिर कुनै पनि माध्यमले यथार्थको परिधिभन्दा बाहिर निस्किएर अफवाहको धरातल टेक्न थाल्छ भने त्यसको विश्वसनीयतामा पूर्णविराम लाग्ने स्थिति उत्पन्न हुन सक्छ । कतै सोसल मिडियालाई पनि त्यस दिशातिर अग्रसर तुल्याउन त्यसका प्रयोगकर्ताले भूमिका त खेलिरहेका छैनन् ?
त्यसो त अपेक्षाकृत रूपमा सोसल मिडिया ज्ञानको परिधिभन्दा बाहिर हुँदैसमेत गइरहेको छ । पूर्ववर्ती समयमा मिडियाले सूचना प्रवाह गर्ने दायित्व मात्र निर्वाह गरेको थिएन, त्यसले ज्ञानको प्रसारणमा समेत समृद्ध र सार्थक भूमिकासमेत निभाउने गरेको थियो । आज सोसल मिडियाको बढोत्तरीसँगै ज्ञान विलुप्त हुँदै गएको मात्र छैन, क्रमशः शून्य डिग्रीमा झर्दै गइरहेको स्थिति छ । यस्ता परिदृश्य उद्घाटित हुँदा त्यसले सामाजिक जीवनमा निकै डरलाग्दो परिस्थितिलाई निम्त्याउने अधिक सम्भावनाको जन्म दिन्छ ।
केही वर्षपूर्व गीतकार कृष्णहरि बरालले लेख्नुभएको एउटा गीतको शब्द थियो, ‘भागेर जाऊँ कुनै ठाउँ जाऊँ, मान्छे नमर्ने सहर हुँदैन...।’ वर्तमान युगमा सूचना प्रविधिसँग निकटता गाँस्नेहरूले यही गीतको शब्द भाव जस्तै नियति झेल्नु अनिवार्य बनिसकेको छ । किनभने दैनन्दिन रूपमा सोसल मिडियाले हरेक क्षेत्रमा पारिरहेको बढ्दो प्रभावलाई उपेक्षा गरेर कोही पनि भाग्न सक्ने स्थितिमा छैनन् अब । तसर्थ जो सोसल मिडियासँग भाग्न खोज्छन्, उनीहरूका पदचाप समयभन्दा पछि पर्नु स्वाभाविकै देखिन्छ । बरु सोसल मिडियालाई कुन रूपमा आत्मसात् गर्ने र यसले प्रवाह गर्ने गरेका कुँडा–कर्कटप्रति कति हदसम्म सचेत रहने भन्ने विषयमा केन्द्रित हुनु नै बुद्धिमत्ता ठहरिने छ ।