• १ माघ २०८१, मङ्गलबार

युद्ध र हिंसाले गाँजेको वर्ष

blog

यो वर्ष (सन् २०२४) सुखद रहेन । विश्वभर शान्ति भएन । युद्ध, जघन्य हिंसा र हत्याले जनजीवन नराम्ररी प्रभावित भयो । मानिसको बाँच्न पाउने अधिकार खोसियो । हजारौँको सङ्ख्यामा निहत्था बालबालिका, महिला, वृद्धवृद्धा मारिए । युद्ध रोक्ने अन्तर्राष्ट्रिय प्रयास सफल हुन सकेन । रुस र युक्रेन, इरारायल र हमास, इजरायल र हेजबुल्लाहबिचको युद्धले व्यापक धनजनको क्षति भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा प्यालेस्टिनी भूभागबाट इजरायली सेना फिर्ता गर्नुपर्ने प्रस्ताव पारित गरी युद्धविराम गर्न व्यापक अन्तर्राष्ट्रिय दबाब परे पनि इजरायलले अस्वीकार गरेको छ । 

गाजामा इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमास प्रमुख इस्माइल हानियाका तीन छोरा र चार नातिनातिनाको मृत्यु भयो । इजरायल र हमासबिच जारी युद्धमा ४५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । एक लाखभन्दा बढी घाइते भएका छन् । युद्धबाट गाजा क्षेत्र तहसनहस भएको छ ।

मारिए हमास र हेजबुल्लाहका नेता

इजरायली सेनाले गाजामा गरेको कारबाहीमा हमासका सैन्य प्रमुख मोहम्मद डेफ र अर्का कमान्डर राफा सलेमेह मारिए । इजरायलमा हमलाको मुख्य योजनाकार हमासका नेता याह्या सिन्वार दक्षिणी गाजामा इजरायली सेनाको कारबाहीमा मारिए । लेबनानको बेरुतमा इजरायलद्वारा गरिएको ड्रोन आक्रमणमा हमासका उपप्रमुख ५७ वर्षीय सालेह अल अरुरी मारिए ।  

त्यस्तै इजरायली सेनाको हवाई आक्रमणमा लेवनानको हेज्बुल्लाह कमान्डर सामी अब्दुल्लाह तालेबसहित चार जना मारिए । यसै गरी सो समूहका सैन्य कमान्डर पुआद सुकर पनि मारिए । आफ्ना कमान्डर मारिएको विरोधमा लेवनानको हेजबुल्लाहद्वारा उत्तर इजरायलमा १६० वटा रकेट प्रहार गर्दा कैयौँ ठाउँमा आगलागी भयो । इजरायलको ड्रोन आक्रमणमा लेवनानको हेजबुल्लाह समूहका सैन्य कमान्डर विसाम ताविलको मृत्यु भयो ।

इजरायलद्वारा आफ्ना सैन्य कमान्डर मारिएको विरोधमा इरानले प्रत्यक्ष रूपमा इजरायलमा तीन सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार ग¥यो । अमेरिका, बेलायत, फ्रान्स र जोर्डनको सहयोगमा इजरायली प्रतिरक्षा प्रणालीबाट ९९ प्रतिशत क्षेप्यास्त्र र ड्रोन निस्तेज, एक सात वर्षीया बालक घाइते हुनुका साथै इजरायलको सैनिक संरचनामा केही क्षति भयो । गाजामा नरसंहार गरेको आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पक्राउ पुर्जी जारी गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतमा निवेदन दिइएको छ । 

इजरायली सेनाको हवाई आक्रमणमा लेवनानका विद्रोही समूह हेजबुल्लाहका प्रमुख नेता हसन नस्रल्लाहको मृत्यु भयो । इजरायली सेना लेवनानी भूमिमा प्रवेश गरी हेजबुल्लाह समूहविरुद्ध स्थल कारबाही गरेको छ । लेवनानमा पेजर विस्फोटमा ११ जनाको मृत्यु २८ सय घाइते भए । त्यसै गरी त्यहाँ वाकी–टकी विस्फोटनमा २० जनाको मृत्यु हुनुका साथै ४५० जना घाइते भए ।

इरानद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार

आफ्ना सैन्य कमान्डर मारिएको विरोधमा इरानले इजरायलमा दुई सय वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार ग¥यो । अधिकांश क्षेप्यास्त्र नष्ट गरिएको इजरायलको दाबी छ । क्षेप्यास्त्र लागेर इजरायली सैन्य अखडा, विद्यालय र होटेलमा केही क्षति भएको छ । लाल सागरमा पानीजहाजमाथि आक्रमण गरेको भन्दै अमेरिका र बेलायतद्वारा यमनको हुथी विद्रोही समूहमाथि हवाई आक्रमण गरियो । 

उता अमेरिकाका राष्ट्रपति जोए बाइडेनले अमेरिकी हतियार रुसविरुद्ध प्रयोग गर्न युक्रेनलाई अनुमति दिनुभएको छ । इटालीमा सम्पन्न जी ७ को शिखर सम्मेलनमा जी ७ र युरोपेली सङ्घले रोक्का राखेको रुसको ३२५ अर्ब डलरबाट युक्रेनलाई ५० अर्ब डलर ऋण सहयोग दिनुका साथै युक्रेन र अमेरिकबिच १० वर्षे सुरक्षा सम्झौता भयो । अमेरिकामा भएको नेटो बैठकद्वारा युक्रेनलाई चार करोड डलर बराबरको सैन्य सहायता दिने घोषणा गरियो । युक्रेनी जासुसद्वारा मस्कोमा स्कुटर बम विस्फोट गराई रुसी सेनाका जर्नेल इगोर किलिरोपको हत्या गरेसँगै परिस्थिति अरू जटिल बनेको छ । नर्वे, आयरल्यान्ड र स्पेनद्वारा प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएपछि इजरायलले कडा आपत्ति जनाएको छ । प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने देशको सङ्ख्या १४६ पुगेको छ ।

अमेरिकामा ट्रम्प निर्वाचित

विभिन्न अभियोगमा दोषी ठहर भए पनि अमेरिकको राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुनुभयो । रिपब्लिकन पार्टीका टम्पसँग डेमेक्रेटिक पार्टीका उम्मेदवार कमला ह्यारिस पराजित हुनुभयो । ट्रम्प ३४ वटा फौजदारी कसुरमा दोषी ठहर हुनुभएको छ । 

त्यसै गरी रुसमा भएको राष्ट्रपति निर्वाचनमा ८७ प्रतिशत राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि निर्वाचित हुनुभयो । उहाँलाई टक्कर दिने नेता भएनन् । सन् २०२१ देखि जेलमा रहेका पुटिनका कट्टर विरोधी प्रतिपक्षी नेता एलेक्सी नाभाल्नीको ४७ वर्षको उमेरमा निधन भयो । 

पाकिस्ताका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्ष जेल सजाय गरियो । जनबरी ३१ पाकिस्तानको अर्को अदालतद्वारा पूर्वप्रम खान र उहाँकी पत्नी बुसरा बिबीलाई भ्रष्टाचारको मुद्दामा १४ वर्ष जेल सजाय गरेसँगै संसदीय चुनावमा भाग लिन दिइएन । त्यहाँ संसदीय आमनिर्वाचनमा कसैको पनि बहुमत नआएपछि पाकिस्तान मुस्लिम लिग र पाकिस्तान पिपुल्स पार्टी मिलेर मिलीजुली सरकार बनाएका छन् । पाकिस्तान पिपुल्स पार्टीका नेता असिफ अली जर्दारी राष्ट्रपति र पाकिस्तान मुस्लिम लिग एनका नेता साहबाज सरिफ प्रधानमन्त्री बन्नुभयो । 

माल्दिभ्समा भएको संसदीय आमनिर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपल्स नेसनल कङ्ग्रेसले संसद्को ९३ स्थानमध्ये ६६ स्थानमा विजय हासिल ग¥यो । बङ्गलादेशमा भएको संसदीय आमनिर्वाचनमा विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टीले चुनावमा भाग नलिएपछि सत्तारूढ अबामी लिग पुनः विजयी भयो । अबामी लिग सन् २००९ देखि सत्तामा थियो । प्रधानमन्त्री शेख हसिना वाजेद पाँचौँ पटक प्रधानमन्त्री बन्नुभयो । विद्यार्थी आन्दोलन थेग्न नसकेपछि उहाँ सत्ता छाडेर भारत निर्वासनमा जानुभएको छ, आन्दोलनमा चार सय जनाभन्दा बढीको मृत्यु भयो । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशमा अन्तरिम सरकार गठन गरिएको छ । इन्डोनेसियामा भएको राष्ट्रपति निर्वाचनमा रक्षामन्त्री प्राबोवो सुब्यान्टो राष्ट्रपति निर्वाचित हुनुभयो । उहाँ अमेरिका विरोधी मानिनुहुन्छ । 

फ्रान्सको इतिहासमा सबैभन्दा कम उमेरमा ३४ वर्षीय ग्राबिअल अटल नयाँ प्रधानमन्त्री नियुक्त हुनुभयो । डेनमार्कमा ८३ वर्षीया महारानी माग्र्रेटाले गद्दी त्यागेपछि ५५ वर्षीय युवराज फ्रेडरिक नयाँ राजा बन्नुभयो । ७२ वर्षीय प्रधानमन्त्री ली सिन लुङले पद छाडेपछि सिङ्गापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पायो । ५१ वर्षीय लरेन्स वोङ नयाँ प्रधानमन्त्री नियुक्त हुनुभयो ।

भेनेजुयलामा भएको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति निकोलस मदुरो पुनः विजयी बन्नुभयो । दक्षिण अफ्रिकामा भएको संसदीय आमनिर्वाचनमा सत्तारूढ अफ्रिकी नेसनल कङ्ग्रेस ३० वर्षमा पहिलो पटक बहुमत ल्याउन असफल भयो । राष्ट्रपति सिरिल रामाफोसा विपक्षी दलसँग गठबन्धन गरी पुनः राष्ट्रपति निर्वाचित हुनुभएको छ । दक्षिण कोरियामा भएको संसदीय आमनिर्वाचनमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक यल जङ्गी कानुन लगाएको आरोपमा संसद्ले महाअभियोग प्रस्ताव पारित गरेसँगै निलम्बित हुनुभएको छ ।

तेस्रो कार्यकालमा मोदी 

भारतमा १८ औँ लोक सभाको चुनाव सातौँ चरणमा सम्पन्न भयो । भारतमा भाजपा गठबन्धन २९३ सिटमा विजयी भयो । भाजपाले भने बहुमत गुमाई २४० सिटमा सीमित भयो यसअघि सन् २०१४ भाजपाले २८२ र २०१९ मा ३०३ सिट जितेको थियो । गठबन्धनको नेतृत्व गर्दै नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभयो । 

मेक्सिकोमा भएको राष्ट्रपति निर्वाचनमा पहिलो पटक महिला राष्ट्रपतिमा क्लोडिया सेन्बाउम निर्वाचित हुनुभयो । 

फ्रान्समा भएको संसदीय आमनिर्वाचनमा सत्तारूढ पार्टी पराजित भएपछि राष्ट्रपति एमानुअल म्याक्रोनले संसद् विघटन गरी मध्यावधि निर्वाचन गराउनुभयो । आमनिर्वाचनमा वामपन्थी गठबन्धन ठुलो दल बन्न सफल भयो । राष्ट्रपति म्याक्रोनको पार्टीसँग मिलेर गठबन्धन सरकार बनेको छ । 

बेलायतमा भएको संसदीय आमनिर्वाचनमा सत्तारूढ कन्जरभेटिभ पार्टी पराजित भयो । विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा आयो । लेबर पार्टीका नेता किअर स्टार्मर नयाँ प्रधानमन्त्री बन्नुभयो ।

इरानमा भएको राष्ट्रपति निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान निर्वाचित हुनुभयो । गत मे १९ मा भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको निधन भएपछि निर्वाचन भएको हो । श्रीलङ्कामा भएको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि दोस्रो चरणको मतगणना भयो । दोस्रो मतगणनामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभयो । 

थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाविसिन संविधान उल्लङ्घन गरेको आरोपमा त्यहाँको संवैधानिक अदालतको आदेशबमोजिम पदमुक्त हुनुभयो । त्यहाँको संसद्द्वारा फेउ थाई पार्टीका नेतृ ३६ वर्षीया पाएटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्री निर्वाचित हुनुभयो । 

चन्द्रमामा पुग्न होडबाजी

जापानको अन्तरिक्ष यान चन्द्रमामा अवतरण गराएसँगै चन्द्रमामा पुग्ने जापान पाँचौँ देश बन्यो । त्यस्तै अमेरिकी निजी कम्पनी इन्टुइटिभ मसिन्सले पठाएको अन्तरिक्ष यान चन्द्रमामा अवतरण ग¥यो । चन्द्रमामा पुग्ने मसिन्स पहिलो निजी कम्पनी बन्न पुगेको छ । भारतले सूर्यको अवलोकन गर्न चार महिनाअघि पठाएको पहिलो अन्तरिक्ष यान आदित्य–एल वान निर्धारित लक्ष्यमा पुग्यो । चन्द्रमाको सुदूर क्षेत्रमा अवतरण गरेको चिनियाँ अन्तरिक्ष यान चाङ्ग अ सिक्स चन्द्रमाबाट माटो र पत्थरको नमुना लिएर फर्कियो । 

भारतको अयोध्यामा निर्मित राममन्दिरमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्राणप्रतिष्ठा गरियो । २१ करोड ७० लाख डलर खर्चेर मन्दिर निर्माण गरियो । भारतद्वारा एमआइआरभी प्रविधियुक्त अन्तरमहादेशीय क्षेप्यास्त्र अग्नि पाँच परीक्षण गरियो, जसले पाँच हजार किमी टाढासम्म मार हान्न सक्ने छ ।यस वर्ष जापानलाई पछि पार्दै जर्मनी ४.७३० ट्रिलियन डलरसहित विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भयो । 

जापानको राजधानी टोकियोमा यात्रुवाहक जेट विमान मालवाहक विमानसँग ठोक्किँदा पाँच जनाको मृत्यु भयो । ३७९ जनाको उद्धार गरियो । रुसमा सैनिक विमान दुर्घटना हुँदा युक्रेनका ६५ जना युद्धबन्दीसहित ७४ जनाको मृत्यु भयो । 

ताइवानमा ७.४ रेक्टर स्केलको भूकम्प जाँदा १० जनाको मृत्यु, ५० जना बेपत्ता भए । रुसको राजधानी मस्कोस्थित कन्सर्ट हलमा इस्लामिक स्टेटले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु, दुई सयभन्दा बढी घाइते भए । भियतनामको एक अदालतले घरजग्गा कारोबार गर्ने ६७ वर्षीया अर्बपति महिला टुओङ माई ल्यानलाई १२ अर्ब ५० करोड डलर बैङ्क छली मुद्दामा मृत्युदण्डको फैसला ग¥यो । 

भीषण वर्षा र बाढी 

यस वर्ष सुक्खा खाडी क्षेत्रमा भीषण वर्षा र बाढी आयो । ओमानमा १८ र युएईमा एक जनाको मृत्यु भयो । पाकिस्तानमा भीषण वर्षाबाट ६४ जनाको मृत्यु भयो । संयुक्त अरब इमिरेट्सको दुबईमा भीषण आँधी र वर्षा, जनजीवन प्रभावित बन्यो । ब्राजिलमा भीषण वर्षाले पहिरो जाँदा ५७ जनाको मृत्यु, ३७३ जना बेपत्ता भए । अफगानिस्तानको बाघलान क्षेत्रमा अचानक बाढी आयो, तीन सयभन्दा बढीको मृत्यु भयो । एल साल्भाडोर र ग्वाटेमालामा भारी वर्षा र पहिरोमा १३ जनाको मृत्यु भयो । भारतको केरालामा भीषण बाढीपहिरोमा १५१ जनाको मृत्यु, २२० जना बेपत्ता भए । 

इरानका राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो । मलावीका उपराष्ट्रपति सौलोस क्लोस चिलीसहित नौ जनाको विमान दुर्घटनामा मृत्यु भयो । 

भारतको दार्जिलिङमा मालवाहक रेलसँग यात्रु रेल ठोक्किएर दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ६० जना घाइते भए । इटालीमा दुई वटा पानीजहाज डुब्दा ७१ जनाको मृत्यु भयो । भारतको उत्तर प्रदेशमा धार्मिक सत्सङ्गमा भागदौड हुँदा १२२ जनाको मृत्यु भयो । मौरिटानियाको समुद्रमा डुङ्गा दुर्घटना हुँदा २५ जनाको मृत्यु, १९० जना बेपत्ता भए । 

ब्राजिलमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भयो यस वर्ष विश्वको सबैभन्दा ठुलो खेल ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भयो । १० हजार पाँच सय खेलाडीले ३२९ खेलमा भाग लिएको पेरिस ओलम्पिकमा ४० स्वर्णसहित १२६ पदक जितेर अमेरिका प्रथम, ४० स्वर्णसहित ९१ पदक जितेर चीन दोस्रो र २० स्वर्णसहित ४५ पदक जितेर जापान तेस्रो भए । भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भयो । चीनले अन्तरमहादेशीय क्षेप्यास्त्रको सफल परीक्षण ग¥यो । जापान र अमेरिकाद्वारा चिन्ता व्यक्त गरियो । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानको संस्था निहान हिडान्क्योलाई प्रदान गरियो । 


Author

रामप्रसाद आचार्य