• १० पुस २०८१, बुधबार

ज्येष्ठ नागरिकको उपचार निःशुल्क

blog

अमरगढी समाचारदाता

डडेलधुरा, पुस १० गते । परशुराम नगरपालिकाले ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने योजना ल्याएको छ । विगतमा स्वास्थ्य बिमामार्फत हुने उपचारले आर्थिक रूपमा केही सहज बनाए पनि उक्त प्रक्रियामा जाँदा ज्येष्ठ नागरिकलाई झन्झटिलो हुने गरेको थियो ।

परशुराम नगरपालिकाको मुकाम वडा नम्बर १२ को लालढुङ्गा बजारमा रहेको जोगबुडा अस्पतालबाट अब ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिनुभयो । परशुराम नगरपालिका–३, शीर्षकमा नगरपालिकाले आयोजना गरेको मेयर केयर स्वास्थ्य विशेषज्ञ शिविर कार्यक्रममा नगरप्रमुख जोशीले ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने गरेर योजना अघि बढाएको बताउनुभयो । 

मेयर केयर योजना अनुसार परशुराम नगरपालिकाले प्रत्येक वडा कार्यालयमा एमबिबिएस चिकित्सकको उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मेवारी नगर सरकारको हो । नगरप्रमुख जोशीले भन्नुभयो, “सोही अनुरूप हरेक महिनाको पहिलो सोमबार जोगबुढा अस्पतालबाट विशेषज्ञ डाक्टरसहितको टोली आउने र नागरिकको स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।” 

यससँगै परशुराम नगरपालिकाले प्रत्येक विद्यालयमा विद्यार्थीको स्वास्थ्य परीक्षणसमेत गर्दै आइरहेको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा विद्यार्थी स्वास्थ्य प्रोफाइल राखिएको छ । सोही कार्यक्रम अनुरूप यहाँका सबै विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गरेर अद्यावधिक गर्न लागिपरेको परशुराम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हिक्मत धामीले बताउनुभयो । 

सोमबार नै वडा नम्बर ३ का योजना वडामै सम्झौता गरिएका छन् । परशुराम नगरपालिकाले वडा कार्यालयमा एकीकृत शिविरको आयोजना गर्दै वडा कार्यालयमै योजनाको सम्झौता र बैङ्क खाता खोल्दै आइरहेको छ । चालु आवमा उपभोक्ता समितिमार्फत सम्पन्न गरिने योजनाको वडामै सम्झौता र भुक्तानी गर्ने नीति अनुरूप कार्यक्रमको सुरुवात गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले बताउनुभयो । 

उहाँका अनुसार यसअघि वडा नम्बर १०, ११, ८, ९, १, २, ६ मा एकीकृत शिविरको आयोजना गरेर योजनाका सम्झौता र बैङ्क खाता खोलिएका थिए । यस वर्षदेखि भुक्तानीसमेत वडाबाटै गरिने छ भने सामाजिक सुरक्षा भत्तासमेत वडा कार्यालयबाटै वितरणका लागि तयारी गरिएको छ । 

विकट भुगोल, दुर्गम बस्ती र ग्रामीण कच्ची सडकको असुरक्षालाई महसुस गरेर वडा कार्यालयमै शिविरको आयोजना गरेर योजनाको सम्झौता, भुक्तानी, स्वास्थ्य चेकजाँच, उपचार गर्ने कामको सुरुवात गरिएको र अब भुक्तानी तथा सामाजिक सुरक्षा भत्तासमेत वडामै गर्ने तयारी गरेको उहाले बताउनुभयो ।