गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १० गते । मलेसियामा आठ महिनापछि नेपाली श्रमिक पठाउन सुुरु गरिएको छ । आप्रवासी श्रमिक लिन छोडेको मलेसियाले मङ्सिरदेखि आंशिक रूपमा खुलाउन थालेसँगै नेपालका वैदेशिक रोजगार व्यवसायीले माग प्रमाणीकरण गरेर ल्याई विज्ञापन गरेर पठाउन सुरु गरेका हुन् ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले प्लान्टेसनसहितका केही क्षेत्रमा कोटा तोकेर श्रमिक लिने नीति बनाएपछि नेपाली श्रमिकको पनि माग आउन थालेको छ । दूतावासले करिब दुई हजार माग प्रमाणीकरण गरिसकेको जनाएको छ । मलेसियाले आफ्नो वृक्षरोपण तथा कमोडिटी मन्त्रालय अन्तर्गतको ‘प्लान्टेसन’ क्षेत्रमा श्रमिक लिन लागेको जनाइएको छ । मलेसियामा यो क्षेत्रमा करिब ४० हजार श्रमिकको माग रहेको अनुमान छ । वैदेशिक रोजगार व्यवसायीले करिब एक महिनाअघि नै मलेसियाले तोकेको प्लान्टेसन क्षेत्रमा श्रमिक लैजाने गरी क्वालालम्पुरस्थित नेपाली दूतावासमा मागपत्र पेस गरेका थिए । दूतावासले विभिन्न कारण देखाउँदै मागपत्र प्रमाणीकरण नगरेको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका थिए । हाल भने दूतावासले रोकिएको मागपत्र धमाधम प्रमाणीकरण थालेको छ । योसँगै मलेसियामा सीमित सङ्ख्यामा श्रमिक जान पाउने भएका छन् ।
मलेसियाले फागुन २०७९ मा देशभित्र १५ प्रतिशत मात्रै विदेशी श्रमिक रहने गरी १ जुन २०२४ (१८ जेठ २०८१) देखि श्रमिक लिन बन्द गर्ने निर्णय गरेको थियो । तोकिएको विदेशी श्रमिकको कोटालाई मलेसियाले गत १५ सेप्टेम्बरमा समीक्षा गर्दै पुनः निरन्तरता दिने अर्को निर्णय गरेको छ । प्लान्टेसनलगायतका केही क्षेत्रमा सीमित सङ्ख्यामा श्रमिक लिने निर्णय अनुसार श्रमिक लिइरहेको छ ।
मलेसिया सरकारले लिएको कडा नीतिका कारण अहिले मलेसियामा कम्पनी छाडेर हिँड्ने र करार अवधि सकिएपछि पनि नफर्किने नेपालीको सङ्ख्या बढ्न थालेको छ । कतिपयले राम्रो जागिर भएकाले करार अवधि थपेर तत्काल नफर्किने गरी काम गरिरहेका छन् ।
मलेसियामा कुल एक करोड ७० लाख श्रमशक्तिमध्ये विदेशी श्रमिकलाई १५ प्रतिशतमा सीमित गर्ने नीति छ । मलेसियामा अहिले २० लाखभन्दा बढी आप्रवासी श्रमिक रहेको अनुमान छ । त्यसमध्ये हाल साढे तीन लाखभन्दा बढी नेपाली श्रमिक रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपालको जस्तै मौसम भएका कारणले धेरै अदक्ष श्रमिकले मलेसियालाई रोज्ने गरेका थिए । रोक नलाग्दासम्म औसत मासिक आठ हजार नेपाली मलेसिया पुगिरहेका थिए ।
मलेसियाले सन् २०२५ फेब्रुअरी १ तारिकदेखि श्रमिकको न्यूनतम तलब प्रतिमहिना एक हजार पाँच सयबाट बढाएर एक हजार सात सय मलेसियन रिङ्गेट पु¥याउने निर्णय गरिसकेको छ । उद्योग र उत्पादन प्राविधिकको सुरुको तलब यसअघि नै करिब दुई हजार तीन सय रिङ्गेट छ ।