• १० पुस २०८१, बुधबार

जीवन उपयोगी सीपले युवामा सकारात्मक परिवर्तन

blog

धनुषा र महोतरीमा संचालित जीवनोपयोगी सिप र वित्तीय शिक्षा कार्यक्रमको समापन्न समारोहमा सहभागी। तस्बिर: धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, पुस ९ गते। मधेश प्रदेशको धनुषा र महोत्तरी जिल्लामा सञ्चालित युवाका लागि लैङ्गिकता, जीवन उपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रमले युवामा सकारात्मक परिवर्तन ल्याएको सरोकारवालाले बताएका छन्।

 अफलातुन इन्टरनेशनल तथा समुन्नत नेपाल र लाइफ नेपालको साझेदारीमा सञ्चालित उक्त कार्यक्रमको समापन समारोहमा सहभागी  समाजका विभिन्न पक्षका व्यक्ति र युवाहरुले आफनो धारणा राख्ने क्रममा सो कुरा बताउनुभएको हो।

खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका सचिव चूडामणि फुयालले कार्यक्रमले महिला र पुरुषबिच भेदभाव हुनु हुँदैन भन्ने कुराको सन्देश दिएको बताउनुभयो।

उहाँले नेपालमा युवाहरु कुलततर्फ तथा विभिन्न प्रकारका गलत क्रियाकलापमा लागि रहेको समयमा यस प्रकारको कार्यक्रमले युवाहरुमा असल नागरिक हुनका लागि के के गर्नुपर्छ भन्ने कुराको बोध गराउन मद्दत पुगेको भनाइ राख्नुभयो।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले मोबाइल र टेलिभिजन हेरेर दिन बिताउने गरेको युवाहरु समक्ष यस कार्यक्रमले समयलाई बचत गरी आर्थिक उपार्जनका काममा लाग्न सहयोग गरेको बताउनुभयो। 

कार्यक्रममा जनकपुरधामको संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत प्रिया कुमारी कर्णले कार्यक्रममार्फत जिवन उपयोगी सीप प्राप्त भए पश्चात् आफूमा निकै परिवर्तन आएको र आफूले पढाइका साथै टिउसन पढाएर मासिक सात हजार रुपियाँ आम्दानी गरिरहेको बताउनुभयो।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको १८ र महोत्तरीको जलेश्वर र बर्दिबास नगरपालिकाको १७ वटा विद्यालयमा युवाका लागि लैंङ्गिकता, जीवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रम लागु भएको छ। 

यस कार्यक्रममार्फत गरिब एवम् विपन्न विद्यार्थीलाई आय आर्जनका लागि गरिने उधमशीलतामा सहयोग गर्नका लागि ३५ वटा विद्यालयलाई १५/१५ हजारको दरले रकम समेत उपलब्ध गराएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनुभयो।

कार्यक्रममा समुन्नत नेपालका गोपालप्रसाद भट्टराईले कार्यक्रमको उपलब्धीका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो।