कर्णाली प्रदेशको राजधानी सुर्खेत हो । सुर्खेतको सदरमुकाम अर्थात् मुख्य सहर वीरेन्द्रनगर हो । वीरेन्द्रनगर पर्यटकीय स्थलका रूपमा पनि प्रख्यात छ । विद्यालयले प्रायः मङ्सिर/पुसमा विद्यार्थीलाई शैक्षिक भ्रमणमा लिएर जाने गरेका पनि छन् । सुर्खेतमा आउनुहोस्, यहाँका रमाइला पर्यटकीय स्थल घुम्न पाउनुहुने छ ।
काँक्रेविहार
काँक्रेविहारलाई नेपालको दोस्रो लुम्बिनी भनेर चिनिन्छ । हिन्दु र बौद्ध धर्मावलम्बीका लागि काँक्रेविहार महत्वपूर्ण मानिन्छ । काँक्राको चिरा जस्तो जङ्गलको बिचमा विहार भएकाले यसको नाम काँक्रेविहार भएको जनश्रुति छ । काँक्रेविहार जान वीरेन्द्रनगरदेखि तीन किलोमिटर दक्षिणतर्फ यात्रा गर्नु पर्छ । काँक्रेविहारमा २१ मिटर अग्लो शिखर शैलीको मन्दिर छ । यस विहारलाई जुम्लाका राजा अशोक चल्लले ७५६ वर्षअघि निर्माण गर्न लगाएको अभिलेख पाइन्छ । १८९० सालमा ठुलो भुइँचालोका कारण विहार भत्किएको थियो । निकै लामो समयसम्म भत्किएकै अवस्थामा रह्यो । अहिले यसको पुनर्निर्माण भइसकेको छ । काँक्रेविहारको वन नेपालको एक मात्र संरक्षित वन पनि हो ।
बुलबुले ताल
वीरेन्द्रनगरमा रहेको बुलबुले ताल नेपालकै प्रख्यात ताल हो । ३२ बिघा क्षेत्रफलमा फैलिएको यो ताललाई अहिले अझै ठुलो बनाइँदै छ । जमिनमुनिबाट पानी बुलबुल गर्दै बाहिर निस्कने भएकाले यसको नाम बुलबुले रहन गएको भनाइ छ । तालसँगै शान्त, रमणीय उद्यान पनि रहेको हुँदा यहाँको वातावरण निकै मनमोहक छ । तालको दक्षिणतर्फ ठुलो ताल बनाएर मोटरबोट पनि सञ्चालन गरिएको छ ।
प्रादेशिक सहिद पार्क
वीरेन्द्रनगरको खोर्केमा भैरव सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र प्रादेशिक सहिद पार्क निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकारले २०७२ सालमा कर्णाली प्रदेश बनाउने क्रममा ज्यान गुमाएकाको सम्झनामा पार्क निर्माण गरेको हो । यहाँ सहिद स्तम्भ, बालबगैँचा, पानीको रङ्गीबिरङ्गी फोहोरा तथा विभिन्न फूलले पार्कको सौन्दर्य बढाएको छ ।
गढी
बयलकाँडा गढी नेपाल एकीकरणसँग जोडिएको छ । इसं १७९० नेपाल एकीकरणका क्रममा गोर्खाली फौजले संसार बर्माको फौजलाई पराजित गरी दैलेख र सुर्खेतलाई बृहत् नेपालमा गाभेको समयमा यो गढीको स्थापना भएको बताइन्छ । गढीबाट सुर्खेत उपत्यका अवलोकन गर्न पनि सकिन्छ । २०२४ सालअघि सुर्खेतको सदरमुकाम गढी थियो । २०२४ सालमा औलो उन्मूलन भएपछि सदरमुकामलाई वीरेन्दनगरमा सारिएको हो । गढीलाई सुर्खेतको नगरकोटसमेत भनिन्छ । वीरेन्द्रनगर बजारदेखि नौ किमी उत्तर डाँडा पर्छ । यहाँको मौसम चिसो हुन्छ ।
वराहताल
वीरेन्द्रनगरदेखि करिब १५ किलोमिटर पश्चिमको वराहताल गाउँपालिका–४ मा वराहताल छ । यो सुर्खेतकै सबैभन्दा ठुलो ताल हो । यसलाई वराह देउताको ताल भन्ने पनि गरिन्छ । तालमा खसेका पातहरू चराले टिपेर सधैँ सफा राख्ने गरेको पाइन्छ । यो निकै अचम्म लाग्दो कुरा हो । यहाँसम्म पुग्न केही कच्ची बाटो पनि पार गर्नु पर्छ ।
देउतीबज्यै मन्दिर
देउतीबज्यै मन्दिर प्रख्यात मन्दिर हो । यो मन्दिरको पूरा नाम गङ्गामाला देउतीबज्यै हो । यस मन्दिरमा आफूले सोचेको कुरा पूरा हुन्छ भन्ने मान्यता छ । यस मन्दिरमा राजी समुदाय पुजारी हुने प्रचलन छ । उहिले गङ्गा (नदी) मा सानो बालिका बग्दै आएको बेला राजीले माछा मार्ने क्रममा जालमा बालिका परेकोले नाम गङ्गामाला र पुजारी राजी भएको भनाइ छ । यस मन्दिरमा दसैँको १० दिन, नयाँ वर्ष तथा शनिबार निकै ठुलो भिड लाग्ने गर्दछ ।